गृहपृष्ठ विपद् व्यवस्थापन कार्ययोजना तयार
विपद् व्यवस्थापन कार्ययोजना तयार
पहिरोको उच्च जोखिममा रहेको ताप्लेजुङमा मनसुनबाट हुनसक्ने विपद्लाई मध्यनजर गर्दै यसको प्रतिकार्यका लागि पूर्व तयारीस्वरुप २२ बुँदे आपतकालीन मनसुन कार्ययोजना तयार गरिएको छ । मनसुनको समयमा हुनसक्ने क्षतिको सम्भाव्यता अध्ययन गर्दै यसको रोकथाम र भइहाले तत्काल उद्धार र व्यवस्थापन गर्न जिल्ला विपद् व्यवस्थापन समितिले उक्त कार्ययोजना तयार गरेको हो ।
विभिन्न संघसंस्था सम्मिलित–९ समूहले उक्त कार्ययोजना अनुसारका कार्य गर्ने गरी व्यवस्थापन मिलाइएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । यसका लागि खाद्य तथा पोषण समूह, खानेपानी तथा सरसफाइ, स्वास्थ्य तथा पोषण, संरक्षण, शिक्षा, खोज तथा उद्धार, आवास, गैर खाद्य र सञ्चार समूह नै बनाइएको छ ।
बाढी पहिरोको जोखिममा परेका क्षेत्रको तथ्यांक संकलन र अध्ययन, उद्धार व्यवस्थापनका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्थासँग समन्वय गर्ने, प्रत्येक स्थानीय तहले आ–आफ्नो मनसुन प्रतिकार्य योजना बनाउने लगायतका बुँदा कार्ययोजनामा समेटिएका छन् ।
यस्तै सय जनालाई कम्तीमा तीन दिनसम्म पुग्ने खाद्यान्न मौज्दात गर्ने, सम्भावित सहयोगी संस्थाको सूची तयार गर्ने, प्राथमिक उपचारका लागि व्यवस्थापन गर्ने आदी विषयसमेत कार्ययोजनामा समेटिएका छन् । यो वर्षको मनसुन अवधिभर नै यो कार्ययोजना लागू हुने जनाइएको छ ।
यस्तै जिल्लाभित्र मनसुनबाट हुने विपद्को जोखिममा रहेका क्षेत्रको समेत पहिचान गरिएको छ । एक नगरपालिका र आठ गाउँपालिका रहेको ताप्लेजुङका साविकका २७ वटा गाविसलाई उच्च जोखिमको क्षेत्रको रुपमा पहिचान गरिएको छ भने १३ वटालाई मध्यम र ९ वटालाई न्यून जोखिमको क्षेत्रमा समेटिएको छ ।
यता केही वर्षअघि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट० ले गरेको अध्ययनले पनि ताप्लेजुङ पहिरोको उच्च जोखिममा रहेको देखाएको थियो । उक्त अध्ययनका अनुसार यस क्षेत्रका ८० प्रतिशत नागरिकले सुरक्षित ठाउँ नभएकाले जोखिम हुँदाहुँदै पनि त्यही क्षेत्रमा बस्न बाध्य भएको बताएका थिए, भने ९० प्रतिशतले खानेपानी र सिँचाइका लागि पानीको अभाव भएको बताएका थिए ।
(रासस)
प्रकाशित समय १४:०९ बजे
















