गृहपृष्ठ माधव नेपाल भन्छन्, ‘उत्तर र दक्षिण कोरियाले मलाई धन्यवाद दिए’
माधव नेपाल भन्छन्, ‘उत्तर र दक्षिण कोरियाले मलाई धन्यवाद दिए’
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले उत्तर र दक्षिण कोरियाले आफूलाई धन्यवाद दिएको बताएका छन् । कोरियाली प्रायद्विपमा तनाव चुलिएका बेला उत्तर कोरियाको भ्रमण गरेका नेपालले उक्त क्षेत्रमा शान्ति स्थापनाका लागि विश्वका धेरै नेताले पहल गरेको बताए । न्युज कारोबारसँगको संक्षिप्त कुराकानीमा उनले भने, ‘विश्वका धेरै नेता चाहान्थे कि कोरियाली प्रायद्विपमा शान्ति छाओस्, धेरैले त्यसका लागि पहल गरे, मैले पनि गरेँ ।’
दक्षिण कोरिया र अमेरिकासँगको वार्ता उपलब्धिमूलक भएपछि उत्तर कोरियाली नेतृत्वले आफूलाई पनि धन्यवाद दिएकाे नेता नेपालको भनाइ छ । ‘शान्तिका लागि तपाईंहरुबाट भएको पहलको सराहना गर्छौँ भन्दै उत्तर र दक्षिण कोरियाको नेतृत्वबाट मलाई पनि धन्यवाद प्राप्त भएको छ ।’ नेपालले भने ।
नेता नेपालले पछिल्लो पटक सन् २०१७ मा उत्तर कोरियाको भ्रमण गरेका थिए । उनले सन् १९९३, १९९६ र १९९८ मा पनि उत्तर कोरियाको भ्रमण गरेका थिए । तर, विश्व समुदायमा उत्तर कोरिया ‘अलोकप्रिय’ बनेका बेला गरेको पछिल्लो भ्रमणलाई लिएर भने नेता नेपालको आलोचना भएको थियो ।
उनले उत्तर कोरिया शान्ति प्रक्रियामा आओस् भनेर नेपालको अनुभव प्योङयाङका नेताहरूलाई सुनाएको पनि बताए । ’इन्टरनेसनल एसोसियसन अफ पार्लियामेन्टरियन्स फर पिस’ को निमन्त्रणमा पछिल्लो पटक प्योङयाङ गएका थिए । उत्तर कोरियासँग पुरानो सम्बन्ध रहेको बताउँदै उनले अन्तर्राष्ट्रिय समुदायबाट पनि उत्तर कोरिया जान आफूलाई आग्रह भएको दाबी गरे ।
आफू उत्तर कोरिया गएपछि द्वन्द्व समाधानका लागि नयाँ प्रयासहरू सुरू भएको उनले दाबी गरे ।
कोरियाली प्रायद्विपको बर्षाैदेखिको तनाव अन्त्य गर्न दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले उत्तर कोरियासँगा वार्ता गरिसकेका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम–जङ उनबीच सिंगापुरमा भएको वार्तालाई दुबै देशका नेतृत्वले ऐतिहासिक र उपलब्धिमूलक पनि भनेका छन् ।
प्रकाशित समय ०८:५० बजे
















