गृहपृष्ठ उपकुलपति कोइरालामाथि अपहरणको शैलीमा दुर्व्यवहार : कांग्रेस

उपकुलपति कोइरालामाथि अपहरणको शैलीमा दुर्व्यवहार : कांग्रेस

bishwa-prakas-newskarobar

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालामाथि अपहरणको शैलीमा दुर्व्यवहार भएको कांग्रेसले बताएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी क्यानडामा हुन लागेको १७औं विश्व संस्कृत सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने तथा आगामी दिनमा नेपालमै विश्व सम्मेलन गर्ने तयारीका लागि आवश्यक भूमिका निभाउने कार्यक्रम देशकै लागि महत्वपूर्ण भए पनि सरकारबाट दुर्व्यवहार भएको भन्दै निन्दा गरेका हुन् ।

‘सरकारले कार्यक्रमको महत्वलाई बुझ्न सकेन, यो घटनाले एकातर्फ सरकारको अनुदार चरित्रलाई थप प्रष्ट्याएको छ भने अर्कोतर्फ अन्तर्राष्ट्रिय मञ्चमा देशको छविलाई समेत असर पुर्याएको छ,’ विज्ञप्तिमा भनिएको छ । प्राज्ञिक क्षेत्रसँगै आम नागरिकसँगको व्यवहार र शैलीलाई सच्याउन नसके आगामी दिनमा सरकारले चुनौती सामना गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्राध्यापक संघको निन्दा

यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘बोर्डिङ पास’ लिइसकेका उपकुलपति प्रा. डा. कोइरालामाथि दुर्व्यवहार भएको भन्दै संस्कृत विश्वविद्यालय प्राध्यापक संघले पनि निन्दा गरेको छ । संघले आइतबार विज्ञप्ति जारी गरी सरकारले प्राज्ञिक संस्थाका उपकुलपति जस्तो गरिमामय पदमा रहेका व्यक्तिमाथि गरेको कृत्य लोकतन्त्र र मानवअधिकारविरोधी भएको उल्लेख छ । सादा पोसाक र बर्दीधारी प्रहरीले क्यानाडा जाँदै गरेको प्रतिनिधिमण्डलकै अघिबाट उपकुलपति कोइरालालाई घेरा हाली पक्रेर लगेको सभापति डा. नवराज कट्टेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उपकुलपति कोइरालाको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल क्यानडा जाँदै थियो । कोइरालालाई दुर्व्यवहार गरी जान नदिए पनि अरु सदस्य भने क्यानडा पुगिसकेका छन् ।

प्रकाशित समय २०:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु