गृहपृष्ठ काठमाडौंमा मेडिकल कजेल खोल्न दिइन्छ : प्रधानमन्त्री

काठमाडौंमा मेडिकल कजेल खोल्न दिइन्छ : प्रधानमन्त्री

सडकमा केही मान्छे उफ्रिँदैमा सरकार पछि हट्दैन

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी कांग्रेस कमजोर त्यान्द्रा समाएर आन्दोलन गर्न खोजेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले कुनै विजनेस नपाएपछि कांग्रेसले जनताले बहुमत दिएर पाठाएको सरकारलाई तमासा देखाएको बताए । ‘निर्वाचनमा वाम गठबन्धनलाई जनताले बुहमत दिएर पठाए । यो गठबन्धन एउटा पार्टी भइसक्यो,’ ओलीले भने, ‘पार्टीले निर्वाचनमा उठाएका कुरा सरकारका नीति तथा कार्यक्रम मार्फत लागू गर्छ । यसमा आत्तिनु पर्दैन ।’

डा. गोविन्द केसीको अनसनलार्ई लक्षित गर्दै प्रधानमन्त्री ओलीले कसैलाई उक्साएर जुम्लामा भोकै सुत्न लगाएर काठमाडौंका सडकमा केही मान्छे कराइरहेको बताए । ‘बेमौसममा कराउनेहरु केही दिनमा आफैँ चुप लाग्छन्’ उनले प्रश्न गर्दै भने ‘विधि, विधान, कानुन संसदले बनाउने हो की बाहिर बनाएर ल्याएर संसदमा थपडी ठोक्ने हो ?’

प्रधानमन्त्रीले काठमाडौंमा १० बर्ष मेडिकल कलेज खोल्न नपाउने, एउटा विश्व विद्यालयले पाँचवटा भन्दा बढी कलेजलाई सम्बन्धन नदिने जस्ता कुरा व्यबहारिक नभएको बताए । उनले भने ‘सरकारले आफ्ना नीति अनुसारका ऐन ल्याउछ यसमा के अनौठो भयो ?’ नेपाली विद्यार्थीलाई स्वदेशमा पढ्न नदिने, विदेश पठाउनु पर्ने, हजारौं बिगाहा जमिन खरिद गरेर, भवन बनाएर चलाएका अस्पतालहरुलाई कलेज बनाउन रोक्न नमिल्ने ओलीको भनाइ छ ।

उनले चिकित्सा शिक्षा विधेयक, गोविन्द केसी, उपकुलपति जस्ता विषयमा सांसदहरुलाई अडानका साथ कुरा राख्न आग्रह गरे । सरकारले नराम्रो केही काम नगरेकोले संसदमा दृढताका साथ कुरा राख्न उनको आग्रह थियो । प्रधानमन्त्री ओलीले भने, ‘अरु चाँही साउनको सिस्नु जस्तो फस्टाउने अनि हामीचाँही ओइलाउने हुन्छ ?’ प्रधानमन्त्रीले भने ।

उपकुलपतिबारे छानविन हुन्छ
प्रधानमन्त्री ओलीले संस्कृत विश्वविद्यालयका उपकुलपति स्वीकृत नलिइ विदेश जान लागेकोले उनलाई रोकिएको स्पष्ट पारे । संस्कृत विश्व विद्यालयका उपकुलपतिको बारेमा थुप्रै उजुरी परेको र तिनको निष्पक्ष छानविन हुने प्रधानमन्त्री ओलीले बताए । ‘अहिलेका हल्लाले यो छानविन रोकिँदैन,’ प्रधानमन्त्रीले भने ।

निर्वाचन आचारसंहिता लागू भएपछिका राजनीतिक नियुक्तिहरु खारेज गरिएको उनले स्पष्ट पारे । ‘संस्थाहरुलाई राजनीतिक प्रदुषणबाट मुक्त गर्नका लागि यसो गरिएको हो,’ ओलीले भने ।

प्रकाशित समय २१:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु