गृहपृष्ठ अदालतको निर्णयलाई सम्मान गर्नुपर्छ : प्रचण्ड
अदालतको निर्णयलाई सम्मान गर्नुपर्छ : प्रचण्ड
केसीको माग हुबहु सम्बोधन हुन नसक्ने
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको फुजेल घटनामा अदालतले गर्ने निर्णयको सम्मान गर्ने बताएका छन् । बिहिबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले समाजमा सकारात्मक वातावरण बनाउन समझदारी र जिम्मेवारीका साथ छविलाल पौडेल कारागारमा रहेको बताए ।
मुद्दाको अर्काे पक्षले के गर्छ भन्ने उनीहरुकै कुरा भएको बताउँदै उनले यस सम्बन्धमा यो भन्दा बढी टिप्पणी गर्न नचाहेको बताए । ‘योभन्दा बढी टिप्पणी गर्नु अहिले उचित ठान्दिन,’ प्रचण्डले भने ।
फरक प्रसंगमा उनले प्रदेशका राजधानी तोकि सकिएका ठाउँ नबदल्ने हो कि भन्ने तर्क आएको बताए । ‘एक ठाउँमा प्रदेश राजधानी बदल्दा चारैतिर हावा चल्ने हो कि भन्ने चिन्ता राजनीतिक नेतृत्वमा देखापरेको छ ।’ प्रदेशको राजधानी तोक्ने जिम्मेवारी प्रदेशलाई नै भएको बताउँदै उनले प्रदेश नं ३ को राजधानीका विषयमा पार्टीले कुनै धारणा नबनाएको प्रष्ट पारे ।
अर्काे एक प्रसंगमा प्रचण्डले डा. गोविन्द केसीको सम्बन्धमा चिकित्सक संघसँग छलफल भएको भन्दै डा. केसीलाई काठमाडौंमा ल्याएर उपचार गर्ने र वार्ता गर्ने विषयमा अविलम्ब पहल गर्न आफूले सुझाव दिएर आएको जानकारी दिए । केसीका माग हुबहुसम्बोधन हुन नसक्ने भन्दै उनले अन्तिम फैसला गर्ने अधिकार संसद्लाई भएको उल्लेख गरे ।
(रासस)
प्रकाशित समय २०:३० बजे
















