गृहपृष्ठ डा. केसीका मागमा सरकार उदासीन बनेको गच्छदारको आरोप
डा. केसीका मागमा सरकार उदासीन बनेको गच्छदारको आरोप
‘कांग्रेसबाट अलग हुन्न’
नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले डा. गोविन्द केसीले उठाएका माग सम्बोधन गर्न सरकारले उदासीनता देखाएको आरोप लगाएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गच्छदारले व्यक्तिको जीवन रक्षा गर्नु सरकारको दायित्व भएकाले डा. केसीले उठाएका माग अविलम्ब सम्बोधन गरेर उनको अनसन तोडाउनुपर्ने बताए । ‘पूर्ववर्ती सरकारले गरेको सहमति पछिल्लो सरकारले तोड्दै जाने हो भने राज्य सञ्चालनमा अफ्ठयारो अवस्था सिर्जना हुन्छ,’ उनले भने, ‘डा. केसीसँग गरिएको सहमतिअनुसारको अध्यादेश वा कानुन ल्याएर तत्काल समस्या समाधान गर्नुपर्छ ।’
सबैतिरबाट दबाब आइरहँदासमेत सरकारले चासो नलिएको बताउँदै उनले दबाबको स्वरुप परिवर्तन हुनसक्ने चेतावनीसमेत दिए । सरकारले कुन किसिमको व्यवहारबाट समस्याको समाधान गर्छ, विरोधको स्वरुप त्यसमा निर्भर रहने उनको भनाइ छ ।
नेता गच्छदारले आफूले कांग्रेससँग अलग हुने कुरा कहिल्यै पनि नगरेको दाबी गरे । ‘एकता भएको नौ महिना बितिसक्दा पनि सहमति कार्यान्वयन नभएको विषयमा पार्टीभित्र आफ्ना कुरामात्र राखेको हुँ,’ उनले भने, ‘पार्टी एकताको समयमा भएको सहमति कार्यान्वयन नभए त्यो भने सबैका लागि हानिकारक हुनसक्छ ।’
प्रकाशित समय १६:४६ बजे
















