गृहपृष्ठ राजनीतिक पदमा आकांक्षीको तीव्र ‘लबिङ’, प्रधानमन्त्री भन्छन्- योग्य छान्छु
राजनीतिक पदमा आकांक्षीको तीव्र ‘लबिङ’, प्रधानमन्त्री भन्छन्- योग्य छान्छु
देउवा सरकारले निर्वाचन आचारसंहिता लागू भएपछि गरेका राजनीतिक नियुक्ति खारेज भएसँगै नयाँ नियुक्तिका लागि दौडधुप तीव्र देखिएको छ । नियुक्तिको लागि सत्तारुढ दल निकटका आकांक्षीको दौडधुप बढेको हो ।
शेरबहादुर देउवा सरकारको पालामा नियुक्ति लिएकालाई वर्तमान सरकारले हटाएपछि तत्काल ५० भन्दा बढी पदमा राजनीतिक नियुक्ति गर्नुपर्ने छ । पुर्नवहालीको प्रयासमा जागिर खोसिएका केही अदालत धाईरहेपनि महत्वपूर्ण र आकर्षक सुविधासहितको नियुक्ति लिन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा निकटस्थहरू शक्ति केन्द्र धाउन सक्रिय भएका छन् । नियुक्तिका लागि लबिङ गर्नेहरु दक्ष र योग्य व्यक्ति कमै छन् ।
मन्त्रिपरिषद् बैठकले असार अन्तिम साता २० वटा मन्त्रालय र मातहत निकायलाई पत्राचार गरी राजनीतिक नियुक्ति बदर गर्न निर्देशन दिएको थियो । निर्देशनसँगै सबै मन्त्रालय खारेजीको निर्णय कार्यान्वयन गर्ने क्रममा छन् । खारेजीमा परेका पदाधिकारीलाई धमाधम अवकाश पत्र थमाईरहँदा नयाँ नियुक्ति लिन प्रधानमन्त्री, मन्त्री तथा नेताका निवास तथा कार्यालयमा भिँड देखिन्छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयदेखि बालुवाटारको निजी आवाससम्म नियुक्ति खोज्नेहरूको आउजाउ बढेको हो । मन्त्रीका घरदेखि पुल्चोकस्थित मन्त्री निवासमा पनि नियुक्ति माग्न जानेको घुइँचो छ । ‘विषेशगरी बजेट धेरै भएको र कैयौंलाई जागिर लगाउन सकिने पदमा नियुक्तिको लागि धेरैको आकर्षण छ, प्रधानमन्त्री, मन्त्री, नेता सांसद सबैको भिँड छ,’ प्रधानमन्त्री सचिवालयका एक सदस्यले न्युज कारोबारसँग भने, ‘पछिल्लो समय राजनीतिक नियुक्तिकै लागि आकांक्षीहरु प्रधानमन्त्रीलाई भेट्न आउने गरेका छन् ।’ तर, कतिपयलाई प्रधानमन्त्रीले योग्यता नपुगेको भनेर फर्काइदिएका पनि उनले बताए । ‘अधिकांश चाहिँ नियुक्त हुन चाहेको पदका लागि नै योग्न नभएको भन्दै प्रधानमन्त्री ज्यूले फर्काइदिनुभएको छ ।’ उनले भने ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, दूरसञ्चार प्राधिकरण, गुठी तथा विभिन्न संस्थान, विभिन्न प्रतिष्ठान, विभिन्न क्षेत्र विकास समितिहरु, विभिन्न विकास विकास बोर्डमा धेरैको आँखा छ । यी सबैजसो नियुक्तिमा सचिवालय तथा गाडीसहितको सुविधा छ ।
चलचित्र विकास बोर्ड, राष्ट्रिय सहकारी बोर्ड, राष्ट्रिय परीक्षा बोर्ड, नेपाल स्टक एक्सचेञ्जमा, बौद्ध क्षेत्र विकास समितिका पदमा धेरैको नजर छ । कर्जा सुरक्षा निगम, घरेलु साना उद्योग विकास समिति, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, खानेपानी संस्थान, राष्ट्रिय युवा परिषद्, नगर विकास समितिअन्तर्गतका पदहरूमा नियुक्तिको लागि धाउनेको संख्या पनि कम छैन ।
योग्य व्यक्तिलाई पाखा लगाउने र निकटस्थलाई नै शासन सञ्चालनमा लगेमा सरकारको कामको प्रभावकारिता नुहने भन्दै विज्ञहरुले सरकारलाई सुझाएका छन् । तर, भनसुनकै आधारमा सम्बन्धित क्षेत्रमा ज्ञान नभएका तथा अर्धदक्ष व्यक्तिहरुले नै महत्वपूर्ण पदमा स्थान पाउने सम्भावना छ ।
नियुक्ति कसरी गरिँदै छ ?
नियुक्तिका लागि आकांक्षी धेरै देखिए पनि सम्बन्धित क्षेत्रमा दक्ष व्यक्ति मात्र नियुक्त हुने प्रधानमन्त्रीसँग निकै निकट मानिएका मन्त्री बताउँछन् । रिक्त पदमा भनसुनका आधारमा आफूनिकटलाई नियुक्ति नदिने कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले बताए । ‘आसेपासे र भरौटे होइन, दक्ष र योग्य व्यक्तिलाई मात्रै समेट्ने प्रधानमन्त्रीज्यूको तयारी छ ।’ मन्त्री तामाङले भने । उनका अनुसार प्रधानमन्त्री ओलीले योग्यलाई मात्रै पद दिने बताएका छन् ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले योग्य व्यक्ति खोजीखोजी ल्याउन सक्ने गरी निश्चित मापदण्ड बनाउने तयारीमा रहेको बताए । ‘योग्य व्यक्तिलाई पाखा लगाएर अर्धदक्ष, जान्दै नजानेको तथा आसेपासे व्यक्तिलाई पदमा लैजाने मनसाय छैन,’ उनले भने, ‘मुलुकका निम्ति महत्वपूर्ण योगदान दिन सक्ने खुबी भएका व्यक्तिलाई मात्र नियुक्त गरिनेछ ।’
प्रकाशित समय १५:४६ बजे
















