गृहपृष्ठ नेपाल र भारतका अधिकारीबाट परियोजना कार्यान्वयनको प्रतिबद्धता

नेपाल र भारतका अधिकारीबाट परियोजना कार्यान्वयनको प्रतिबद्धता

india-nepal

 

नेपालको सामाजिक-आर्थिक विकासमा प्रत्यक्ष सरोकार राख्ने भारत सरकारको सहयोगमा सञ्चालित आयोजना निर्धारित समयमा पूरा गर्ने प्रतिबद्धता नेपाल र भारतका उच्च अधिकारीले गरेका छन् । बुधबार राजधानीमा सम्पन्न नेपाल-भारत अनुगमन संयन्त्रको छैटौं बैठकमा उनीहरुले विकासका परियोजना कार्यान्वयनमा आइपर्ने सबै समस्या यथाशीघ्र समाधान गरी निर्धारित समयमै तिनलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

परराष्ट्र सचिव शंकरदास बैरागी र नेपालका लागि भारतका राजदूत मञ्जिवसिंह पुरीले सह-अध्यक्षता गरेको उक्त बैठकमा द्विपक्षीय आर्थिक तथा विकास परियोजना कार्यान्वयन प्रगतिको समीक्षा भएको थियो । बैठकमा नेपालमा जारी नेपाल–भारत द्विपक्षीय परियोजनाको वर्तमान अवस्थाबारे छलफल हुनाका साथै सबै परियोजनालाई निर्धारित समयमै पूरा गर्न दुवै देशका सम्बन्धित निकायले आवश्यक सहयोग गर्दै सहजकर्ताको भूमिका निर्वाह गर्ने दृढता व्यक्त गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार परियोजना कार्यान्वयन गर्ने निकायले झेल्नुपरेका समस्या तत्काल सम्बन्धित निकायबाट सम्बोधन गर्न दुवै देश सहमत भएका छन् । नेपाल–भारत सहयोगका परियोजनामा अन्तरदेशीय रेल, एकीकृत जाँच चौकी, तराई सडक, अन्तरदेशीय प्रशारण लाइन, अरुण तेस्रोलगायत छन् ।

नेपाल र भारतबीच पारस्परिक सहयोगका सयौँ परियोजनामा हस्ताक्षर हुने तर कार्यान्वयनमा भने सधैं सुस्तता आएपछि त्यसो हुन नदिन तथा जारी परियोजना निर्धारित समयमा पूरा गर्नेगरी सहजकर्ताको भूमिका निर्वाह गर्न दुई वर्षअघि नेपालका प्रधानमन्त्रीबाट भएको राजकीय भ्रमणका बेला अनुमगन संयन्त्र गठन भएको थियो । संयन्त्रको सातौं बैठक दुवै मुलुकका अधिकारीहरुको अनुकूलतामा हुनेछ ।

प्रकाशित समय २०:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु