गृहपृष्ठ तोकिएको समयमा पोखरा विमानस्थल निर्माण सकिनुपर्छ : प्रधानमन्त्री

तोकिएको समयमा पोखरा विमानस्थल निर्माण सकिनुपर्छ : प्रधानमन्त्री

kp-oli-newskarobar फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षभित्र राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा विमानस्थल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । उनले भने, ‘पोखरा विमानस्थलको आफ्नै महत्व छ । जसरी भए पनि तोकिएको समयमा पूरा हुनुपर्छ । कुनै पनि बहानामा ढिलाइ गर्न पाइँदैन र मिल्दैन ।’

प्रधानमन्त्री ओलीले विमानस्थलका लागि थप जग्गा आवश्यक पर्ने भए अधिग्रहण गर्नसमेत सम्बद्ध निकायलाई निर्देशन दिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा बिहिबार जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रधानमन्त्रीले भने, ‘थप जग्गा आवश्यक भए अधिग्रहण गर्नुस्, गुणस्तरीय काम गर्नुस् । तोकिएको समयमा विमानस्थल निर्माण सम्पन्न गर्नुस् ।’ प्रधानमन्त्री ओलीले विकास निर्माणका आयोजनाको अनुगमन गर्ने निकायको समेत अनुगमन गर्ने घोषणा यसअघि नै गरिसकेका छन् । काममा ढिलासुस्ती गर्ने, बहाना निकालेर बस्ने तथा कमजोरी गरेर दोष दिने प्रवृत्तिको समेत अन्त्य गर्न प्रधानमन्त्रीले आग्रह गरे ।

हालसम्मको कार्यसम्पादनमा सन्तोष व्यक्त गर्दै उनले विमानस्थलको निर्माणमा प्रदेश सरकार, स्थानीय जनता, पोखरा महानगरपालिका, कार्यरत कर्मचारीसमेतको भूमिकाको प्रशंसा गरे । पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय वायु यान कम्पनीले महत्व दिई सेवा सञ्चालनमा चासो राखेको भन्दै उनले सोहीअनुसारको सेवा तथा सुविधाको प्रबन्ध गर्नसमेत निर्देशन दिए ।

प्रधानमन्त्रीले ‘ह्याङ्गर’, व्यवस्थित कार्यालय उपकरणका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया तत्काल अघि बढाउनसमेत सम्बद्ध अधिकारीलाई निर्देशन दिए । पोखरा पर्यटकीय दृष्टिकोणले नेपालको महत्वपूर्ण स्थान भएकोले विमानस्थलको निर्माणसँगै पर्यटकीय गतिविधि विस्तार हुने उल्लेख गरे ।

‘समृद्ध नेपाल सुखी नेपाली’ संकल्पको सफलताका लागि योगदान पु¥याउन पनि ठूला भौतिक पूर्वाधारको विकास महत्वपूर्ण एवं जरुरी रहेको प्रधानमन्त्री ओलीको भनाई थियो ।

(रासस)

प्रकाशित समय २१:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु