गृहपृष्ठ गाईलाई सुत्केरी भत्ता !

गाईलाई सुत्केरी भत्ता !

cowpalan-newskarobar फाइल तस्बिर

 

रत्ननगर नगरपालिकाले चालू आर्थिक वर्षबाट गाईलाई सुत्केरी भत्ता कार्यक्रम सुरु गरेको छ । नगरपालिकाको पशुपन्छी शाखाका प्रमुख शालिग्राम पौडेलका अनुसार साउन १ गतेदेखि लागू हुनेगरी गाईलाई सुत्केरी भत्ता दिन थालिएको हो । ‘अब ब्याएका गाईले भत्ता पाउनेछन्, नगरपालिकाबाट पारित भइसक्यो, कार्यविधि बनेपछि वितरण सुरु हुन्छ तर त्यसका लागि प्रमाण भने पुर्याउनुपर्छ, उनले भने ।

भत्तास्वरुप गाईले ५ सय रूपैयाँ पाउनेछन् । किसानलाई गाईपालनमा प्रोत्साहन गर्नका लागि यस्तो कार्यक्रम ल्याइएको हो । गाई ब्याउनेबित्तिकै किसानले खबर गरेमा पशु प्राविधिक किसानकै घरमा पुगेर अभिलेख राख्ने र उपयुक्त समय मिलाएर भत्ता वितरण गर्ने नगरपालिकाको पशुपन्छी शाखाले जनाएको  छ ।

प्रतिगाई एक हजारका दरले भत्ता दिने तयारी गरिए पनि बजेट कटौती गरेकाले ५ सयमात्रै दिन लागेको नगरपालिकाले जनाएको छ । रत्ननगर नगरपालिका क्षेत्रमा करिब ३५ हजार गाई छन् भने व्यावसायिक रुपमा १ सय गाई फार्म छन् । स्थानीय जातका गाईले समेत भत्ता पाउने पशु स्वास्थ्य प्राविधिक ईश्वर मिश्रले बताए ।

रत्ननगरमा कृत्रिम गर्भाधान गर्ने गाईको संख्या ६ हजार २०० छ । त्यसमा ७० प्रतिशत गाई ब्याउँछन् भन्ने अनुमानका आधारमा नगरपालिकाले करिब चार हजार गाईलाई भत्ता दिने योजना बनाएको छ । यसका लागि ४० लाख बजेट माग गरिए पनि नगरपालिकाले २० लाख छुट्याएको प्राविधिक मिश्रले जानकारी दिए ।

थोरै गाईपालन गर्ने किसानले समेत भत्ता स्वरुपको रकम पाउनु खुसीको कुरा भएको रत्ननगरका किसान काशिराम भुषालले बताए । ‘यो रकमले केही हुने त होइन तर पनि सम्बोधन गर्यो, सम्झ्यो भन्ने हुन्छ नि,’ उनले भने । सरकारले पशुपालन व्यवसायप्रति राम्रो ध्यान दिन नसक्दा धेरै व्यवसायी पलायन भइरहेको समेत किसान भुसालले बताए ।

रत्ननगर जिरौनामा चारवटा गाईपालन गर्दै आएका डोलबहादुर बस्नेतका दुईवटा गाई ब्याउनेछन् । ‘अब गाई ब्याउनेबित्तिकै खबर गर्छु,’ खुशी हुँदै उनले भने । रत्ननगरको पिठ्वास्थित हिमचुली दुग्ध उत्पादक सहकारीमा आवद्ध किसानका अहिले २५० गाई छन् । त्यसमध्ये आधा गाई ब्याउनेछन् ।

सहकारीका अध्यक्ष विष्णुप्रसाद लामिछानेले सुत्केरी भत्ता दिने कार्यक्रम सकारात्मक भए पनि रोग नियन्त्रणका विषयमा भने सरकारबाट सहयोग नपाएको प्रतिक्रिया दिए । रत्ननगमा प्रतिलिटर दूधमा एक रुपैयाँ अनुदान कार्यक्रमसमेत चलिरहेको छ । हिमचुली दुग्ध उत्पादक सहकारीले यसपटक दूधमा प्रतिलिटर एक रुपैयाँ अनुदानले चार लाख पाँच हजारको अनुदान वितरण गरेको छ । यस्तै पाञ्चायन दुग्ध उत्पादक सहकारीले आठ लाख रूपैयाँ अनुदान वितरण गरेको जनाएको छ ।

(रासस)

प्रकाशित समय १३:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु