गृहपृष्ठ पुष्पलाल स्मृति दिवशमा प्रचण्डको प्रश्न : कांग्रेस सिद्धिन लागेकै हो ?

पुष्पलाल स्मृति दिवशमा प्रचण्डको प्रश्न : कांग्रेस सिद्धिन लागेकै हो ?

Prachand-newskarobar फाइल तस्बिर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंमा आयोजित एक कार्यक्रममा कांग्रेस एजेण्डाविहीन बनेको आरोप लगाएका छन् । पुष्पलाल स्मृति दिवशको अबसरमा आयोजित कार्यक्रममा प्रचण्डले कांग्रेस एजेण्डाविहीन भएपछि डा. केसीको माग उठउन थालेको आरोप लगाए ।

कांग्रेस सभापति शेरबहादुर देउवा संगको भेटको स्मरण गर्दै प्रचण्डले कांग्रेस समस्या समाधानका लागि जिम्मेवार नभएको आरोप लगाए । ‘प्रधानमन्त्री जी, देउवा जी र म बीचमा छलफल भएको थियो,’ प्रचण्डले भने, ‘समस्याको समाधान गरौं भनेर भन्दा उहाँ (देउवा)ले डा. केसीले मानेमा आन्दोलन रोकिन्छ नभए चलिरहन्छ भन्नुभयो ।’

कुनै पनि समस्याको समाधान विधिसम्मत हुनुपर्ने भन्दै प्रचण्डले त्यसबाट बाहिर गएर समाधान खोज्न नहुने टिप्पणी गरे । संसदमा विधेयक दर्ता भएकाले अब संसदबाटै समाधान खोज्नुपर्ने उनको भनाई थियो । ‘समस्याको समाधान विधिसम्मत रुपमा खोजौं, कुनै एक व्यक्तिले भनेको सबै ठीक अरु सबै गलत भन्ने हुँदैन,’ प्रचण्डले भने, ‘त्यसै हुने हो भने किन चाहियो संसद ? किन चाहियो प्रदेश ? एउटा व्यक्तिलाई अनसन बस्न लगाऔं, उसले जे जे भन्छ त्यही त्यही गर्दै जाऔं ।’

कांग्रेसप्रति आक्रामक रुपमा प्रस्तुत भएका प्रचण्डले निर्वाचनपछि सरकार परिवर्तनमा कांग्रेसले व्यवधान खडा गरेको भन्दै त्यसको आलोचना गरे । ‘निर्वाचनमा गयौं, झण्डै दुई तिहाई बहुमत ल्यायौं । तर, सरकार गठन हुने वातावरण बनेन,’ प्रचण्डले भने, ‘तर झण्डै दुई तिहाई बहुमत पाएको पार्टीले सरकार गठन गर्नुनै ठूलो युद्ध जितेजस्तो भयो ।’

डा. गोविन्द केसीको जीवनरक्षा गरेर नेपालका कम्युनिस्टहरु कसैको जीवनप्रति कति संवेदनशील छन् भनेर प्रमाणित गरेको दावी गरे । ‘तर, लोकतन्त्रवादी भनिएकाहरुले पो उपचार गर्न दिन्न भन्छन्, यो के गर्न खोजेको हो ?

सुँगुर नाचिरहेको र स्वर्ग जाने प्रस्ताव आउँदा फोहोर छ कि छैन भनेर सोधेको कथाको स्मरण गर्दै प्रचण्डले कांग्रेसप्रति लक्षित गर्दै भने, ‘तर केही पक्षले उक्त कथामा जस्तै जहिले पनि अस्थिरता खोज्ने प्रवृत्ति देखियो ।’

प्रचण्डले डा. केसीलाई सरकारसँग वार्तामा बस्नसमेत आग्रह गरे । उनले जननिर्वाचित सरकारले गठन गरेको वार्ता टोलीसँग वार्तमा बस्न आग्रह गर्दै आफूहरु खुला दिलले वार्ताका लागि तयार भएको उल्लेख गरे ।

नेपालको कम्युनिस्ट आन्दोलनमा पुष्पलाल श्रेष्ठको अतुलनीय योगदान रहेको भन्दै प्रचण्डले उनको इतिहास कसैले मेट्न नसक्ने बताए । नेकपा एकीकरणको प्रसँग उल्लेख गर्दै पुष्पलालको पनि कम्युनिस्टहरु एकताबद्ध भएर अघि बढेको हेर्ने चाहना रहेको बताए । ‘अहिले त उहाँ (पुष्पलाल) हुनुहुन्न,’ पार्टी एकता भएको प्रसँग कोट्याउँदै प्रचण्डले भने, ‘सायद उहाँ भएको भए उहाँ जति खुसी कोही पनि हुने थिएन ।’

प्रचण्डले अनसनरत डा. गोविन्द केसीको उपचारसमेत गर्न नदिएर कांग्रेसले ‘लासको राजनीति’ गरेको आरोपसमेत लगाए ।

प्रकाशित समय १४:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु