गृहपृष्ठ को हुन् निवर्तमान मन्त्री तामाङ ?
को हुन् निवर्तमान मन्त्री तामाङ ?
बंगलबादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने छात्राका बारेमा विवादास्पद अभिव्यक्ति दिएका कानुनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन् । गलत नियतले त्यस्तो अभिव्यक्ति नदिएको भए पनि विरोधीले ‘प्रोपोगान्डा’ गरेपछि ‘उच्च नैतिकता प्रदर्शन गर्दै’ पदबाट राजीनामा दिएको बताउने तामाङ आखिर कस्ता व्यक्ति हुन् त ?
सिन्धुपाल्चोकमा पशुपतिशमशेर राणालाई लगातार दुईपटक पराजित गरेर ‘राणा शासन’ ढालेको बताउने तामाङ नेकपाभित्रका सादगी नेतामा पर्छन् । कसैले नसोचेको कानुन मन्त्रालयको जिम्मेवारी पाएका उनी यो समेत गरी दुईपटक सांसद भएका छन् । स्वच्छ छवी भएका मिलनसार तामाङ मन्त्री पदमा भने पहिलोपटक आसिन भएका थिए । तामाङको नाम कानुनमन्त्रीमा आउनासाथ न्यायिक क्षेत्रका व्यक्तिले निकै आलोचना गरेका थिए ।
कतिपयले उनलाई बुझ्दै नबुझी कानुनी क्षेत्रभन्दा बाहिरका व्यक्ति कानुनमन्त्री बनेको टिप्पणी पनि गरे । तर, मानवशास्त्रमा पीएचडी गरिरहेका तामाङ बार काउन्सिलबाट लाइसेन्स लिएका अधिवक्ता पनि हुन् भन्ने धेरैलाई थाहा थिएन । त्यसैले उनको प्रोफाइल बुझ्दै नबुझी आलोचना गर्नेहरु लज्जित बनेका थिए ।
नेपाल ल क्याम्पसबाट एलएलबी गरेका नेकपाका सांसद तामाङले इतिहास र मानवशास्त्रमा स्नातकोत्तर गरेका छन् । अहिले उनी परम्परागत कृषि प्रणालीको विकल्प के हुनसक्छ भनेर मानवशास्त्रीय दृष्टिबाट पीएचडीको अन्तिम तयारीमा छन् । मन्त्री पदमा रहेकै बेला तामाङको नामका अगाडि डा. थपिने सम्भावना थियो । तर, विवादास्पद अभिव्यक्तिका कारण उनले डा. थप्नुअघि नै पदबाट हात धुनुपर्याे ।
तामाङ तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्यसमेत हुन् । नवौं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य निर्वाचित भएका थिए । उनी ०७० सालमा सिन्धुपाल्चोक ३ र ०७४ मा क्षेत्र घटेपछि क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । तामाङले दुबै चुनावमा पशुपति शमशेरलाई पराजित गरेका हुन् ।
यसअघि, ०६४ को पहिलो संविधानसभा निर्वाचनमा उनी ९८ मतले पराजित भएका थिए । तत्कालीन नेकपा एमालेको भ्रातृ संगठन युवासंघको केन्द्रीय उपाध्यक्षसम्म भएका तामाङ एमालेको बागमती अञ्चल सचिव थिए ।
पहिलोपटक महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका उनले नयाँ संरचनाका कानुन बनाउनुपर्ने जिम्मेवारी कुशलतापूर्वक सम्हाल्दै आएका थिए । न्यायालयमा देखिएको विवाद र न्यायपरिषदको स्वच्छतामा पनि उनले सहजीकरणको भूमिका खेलेका थिए ।
अभिव्यक्तिबाट आलोचित भए पनि तामाङले नेपालको इतिहासमै कहिल्यै नदेखिएको न्यायालय क्षेत्रको विकृतिबाट देशलाई मुक्त गराउने प्रयास गरेको भन्दै प्रशंसा गर्नैहरु धेरै छन् । शेरबहादुर तामाङ र उषाकला राई दम्पती नै पूर्णकालीन राजनीतिमा छन् । उषाकला प्रदेश १ को प्रदेशसभा सदस्य छिन् ।
प्रकाशित समय १६:२५ बजे
















