गृहपृष्ठ विपक्षीप्रति कठोर बन्दै ओली सरकार

विपक्षीप्रति कठोर बन्दै ओली सरकार

कांग्रेसको निशानामा भने प्रचण्ड

oli-prachanda फाइल तस्बिर

 

सोमबार ४०औं पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने, ‘कांग्रेसले लासको राजनीति गर्याे ।’ सोही कार्यक्रममा नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पनि कांग्रेसविरुद्ध उस्तै स्वरमा खनिए ।

केही सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गरेका नेकपाका अध्यक्षद्वयको अभिव्यक्तिप्रति कांग्रेसले केही घण्टा नबित्दै विज्ञप्तिमार्फत प्रतिक्रिया जनायो । वार्ता सफल हुन पनि नदिने र अनसनरत डा. गोविन्द केसीको उपचार पनि गर्न नदिएको भन्दै नेकपाका अध्यक्षद्वयले कांग्रेसप्रति त्यसरी आक्रोश पोखेका थिए ।

मुख्य विपक्षी कांग्रेसले आफ्नो सरकार कमजोर बनाउन अनावश्यक अड्को थापेर सरकारविरुद्ध घेराबन्दी गरेको नेकपाको निष्कर्ष छ । त्यसको सशक्त प्रतिरोध गर्न भन्दै पार्टी पंक्तिलाई निर्देशन दिइसकेका ओली–दाहालले हरेक दिनजसो विपक्षीविरुद्धका कडा अभिव्यक्ति दिँदै आएका छन् ।

मंगलबार पनि ओली र दाहालले कांग्रेसले नियोजित रुपमा सरकार, कम्युनिस्ट पार्टी, मूल नेतृत्वविरुद्ध वितण्ड मच्चाउँदै मिडियाबाट लडाइँ सुरु गरेको’ अभिव्यक्ति दिए । धुम्बाराहीस्थित पार्टी कार्यालयमा संयुक्त रुपमा पत्रकारसँग कुरा गर्दै ‘पार्टी र सरकारविरुद्ध भयानक षड्यन्त्र सुरु गर्न खोजिए पनि सफल हुन नदिने’मा उनीहरु दृढ देखिन्थे ।

यी केही उदाहरण हुन् । केही दिनयता नेकपाका दुवै अध्यक्ष मुख्य विपक्षी कांग्रेसविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएका छन् । यसबाट आफू नेतृत्वको सरकार आउनेबित्तिकै ‘नन इस्यु’लाई पनि ‘इस्यु’ बनाएर काम गर्न नदिएको भन्दै नेकपाले विपक्षी कांग्रेसप्रति कठोर रणनीति लिएको देखिन्छ ।

‘सरकारलाई काम गर्न नदिने प्रयास सफल हुन दिइने छैन’ भन्दै पटक–पटक भाषण गर्दै आएका नेकपाको शीर्ष नेतृत्वले आउँदा दिनमा थप आक्रामक बन्ने संकेतसमेत दिएको छ । प्रतिनिधिसभाका सभामुख–उपसभामुख फरक दलबाट हुनुपर्ने, डा. गोविन्द केसीको अनसनको समर्थनमा सडक आन्दोलन तथा सडक अवरुद्ध गर्ने, अभिव्यक्ति दिएकै भरमा मन्त्रीकै बदनाम गर्दै राजीनामा दिन बाध्य पार्ने जस्ता कांग्रेसका काम अराजकताको पराकाष्टा भएको भन्दै नेकपाले पेलेरै जाने रणनीति लिएको बुझिएको छ ।

कांग्रेसले नेकपाको सरकार गठन भएकै दिनदेखि सरकारविरुद्ध षड्यन्त्रको तानावाना बुनेका भन्दै ओली र दाहालले एकढिक्का भएर कांग्रेसप्रति अझै कठोर बन्ने नीति लिएको बालुवाटार स्रोतले जनायो । ‘एजेन्डै बन्न नसक्ने विषयलाई पनि उचालेर सरकारको काममा व्यवधान खडा गर्न खोजेको भन्दै त्यसको भण्डाफोरका लागि पनि बाध्यात्मक रुपमा कठोर बन्दै जाने उहाँहरुको रणनीति छ,’ प्रधानमन्त्री सचिवालयका एक सदस्यले न्युज कारोबारसँग भने ।

प्रधानमन्त्री ओलीले पनि कांग्रेसले जस्तो राजनीति गर्न खोजे पनि सफल नहुने र र कांग्रेसका त्यस्ता कुनै पनि योजना सफल हुन नदिने गरी सरकार अघि बढ्ने बताउँदै आएका छन् । अहिले डा. केसीको अनसनलाई लिएर कांग्रेसले सरकारविरुद्ध गर्नेसम्मका गतिविधि तीव्र पारेपछि कांग्रेसलाई बाहिरै राखेर गोप्य रुपमा डा. केसीका माग सम्बोधन गर्ने तयारीमा प्रधानमन्त्री रहेको बुझिएको छ । ‘यसअघि गंगामाया अधिकारीको विषयलाई लिएर कांग्रेसले सडक र सदन तताएको थियो, अहिले गोविन्द केसीको मुद्दा सम्बोधन गर्दै कांग्रेसलाई एजेन्डाविहीन बनाउँछौं,’ प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले न्युज कारोबारसँग भने ।

 

कांग्रेसको निशानामा भने प्रचण्ड
सरकारले कांग्रेसप्रति कठोर बन्ने नीति लिएपछि कांग्रेसले भने अबको निशाना परिवर्तन गरेको छ । यसअघि, प्रधानमन्त्री र ओलीप्रति खनिँदै आएको कांग्रेस यतिबेला प्रचण्डलाई निशाना बनाएको हो ।

केही दिनअघि ओलीले दुई तिहाइ बहुमत पाएको पार्टीमा सरकारको बचाउमा बोल्ने मान्छे नभएको भन्दै असन्तुष्टि जनाएका थिए । त्यसपछि नेकपाका अध्यक्ष प्रचण्डले विपक्षी कांग्रेसविरुद्ध आक्रामक अभिव्यक्ति दिन थालेपछि प्रतिरक्षास्वरुप कांग्रेसले उनलाई निशाना बनाएको हो ।

केही दिनदेखिको मौनता तोड्दै अध्यक्ष प्रचण्ड आफूविरुद्ध खनिन थालेपछि कांग्रेस आक्रोशित भएको हो । पार्टीले निकाल्ने विज्ञप्ति, नेताहरुका अभिव्यक्ति र अन्तर्वार्तादेखि कार्यकर्तासम्मले सामाजिक सञ्जालमा दाहालविरुद्ध प्रहार गर्न थालेका छन् ।

लामो समयदेखिको संवादहीनता तोड्दै सरकारले डा. केसीसँग वार्ता सघन बनाएपछि कांग्रेसले पनि आफ्नो निशाना परिवर्तन गर्नुलाई कतिपयले अर्थपूर्ण रुपमा लिएका छन् । डा. केसीसँगको वार्तामा सहमति जुटे कांग्रे्रेसले सरकारविरुद्धको आन्दोलनको स्वरूप बदल्ने रणनीति बनाइसकेको छ । सरकारले डा. केसीका माग पूरा गरे फेरि सभामुख र उपसभामुखको विषयमा सकडमा जानुको विकल्प नरहेको कांग्रेसका नेताहरु बताउँछन् ।

प्रकाशित समय १८:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु