गृहपृष्ठ प्रदेश ५ र ७ का ६ जिल्लामा २ अर्बको जडिबुटी उत्पादन
प्रदेश ५ र ७ का ६ जिल्लामा २ अर्बको जडिबुटी उत्पादन
जडिबुटी उत्पादनको केन्द्र प्रदेश ५ र ७ का ६ वटा जिल्लाबाट वार्षिक अर्बौं रुपैयाँको जडिबुटी किनबेच हुने गरेको पाइएको छ । नेपाल जडिबुटी व्यवसाय संघ (जवान)को तथ्यांकअनुसार यी जिल्लाबाट मात्रै वार्षिक दुई अर्बभन्दा बढीको जडिबुटीको कारोबार हुने गरेको हो ।
नेपाल जडिबुटी व्यवसाय संघका महासचिव टंकप्रसाद शर्माका अनुसार गत आर्थिक वर्ष ०७३/७४ मा कुुल ४५ प्रजातिका जडिबुटीको २ अर्ब २ करोड ५३ लाख ३७ हजार रुपैयाँबराबरबो कारोबार भएको छ । परिमाणका हिसाबले पनि ०७३/७४ मा ३९ लाख ३० हजार ६ किलो जडिबुटी उत्पादन भएको जवानले जनाएको छ । आव ०७२/७३ मा ४४ प्रजातिका ४५ लाख १४ हजार ५ सय ४ किलो जडिबुटी उत्पादन तथा बिक्री भएको थियो ।
प्रदेश ५ का बाँके, दाङ र प्युठान तथा प्रदेश ७ का कैलाली, कञ्चनपुर र सुर्खेतमा नेपाल जडिबुटी उत्पादक व्यवसाय संघले औषधी तथा सुगन्धित बिरुवाको क्षेत्रमा नेपाल व्यापार एकीकृत रणनीति कार्यान्वयन परियोजना लागू गरेको छ । सोही अनुसार उक्त परिमाणमा जडिबुटी उत्पादन भएको हो । यी जिल्लामा रिठ्ठा, तेजपात, टिमुर, काउलो बोक्रा, पाखनवेद, जटामसी मार्क, पदमचाल, चुत्रो बोक्रा, कुटकी, विषलगायत जडिबुटी उत्पादन हुन्छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारिक सन्धि, सम्झौता तथा जडिबुटीमैत्री कानुनको अभावमा जडिबुटी उत्पादन तथा बिक्री–वितरण चुनौतीपूर्ण रहेको संघका केन्द्रीय अध्यक्ष नाबुव अन्सारी बताउँछन् । ‘जडिबुटीखेतीबाट रोजगारीका अवसर सिर्जना हुने तथा उत्पादन वृद्धि गरी जडिबुटीको देश भनेर पहिचान गराउन सकिने सम्भावना छ,’ उनले भने ।
जडिबुटीको विकासका लगि प्रदेश सरकार वा केन्द्रले जडिबुटी क्षेत्रका प्राविधिक जनशक्ति उत्पादन गर्न नसक्नु अर्को चुनौती भएको अन्सारीले बताए । जडिबुटी उद्योग स्थापनाका लागि सहुलियत, साइटिसबाहेकका सुगन्धित तेलको निर्वाध कारोबार तथा किसान, व्यापारी, उत्पादक, संकलक र उद्योगीका लागि सहुलियत ऋणसँगै बिमाको व्यवस्था गर्ने हो भने नेपालले जडिबुटीबाट ठूलो लाभ लिनसक्ने उनको भनाइ छ ।
बजारको मागमा आधारित तथा उच्च मूल्य जाने जडिबुटीजन्य वस्तुहरुको उत्पादनमा विविधीकरणका साथै गुणात्मक वस्तु उत्पादन र दिगो बजार व्यवस्थापनका लागि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरसम्म बजार सम्बन्ध निर्माण पनि अपरिहार्य रहेको अन्सारीले बताए । ‘त्यसका लागि प्रदेश सरकारले पनि विशेष भूमिका खेल्न जरुरी छ,’ उनले भने ।
प्रकाशित समय २०:४७ बजे

















