गृहपृष्ठ सरकारलाई पत्याएनन् यातायात समितिले, सम्पत्ति विवरण बुझाउन अटेरी
सरकारलाई पत्याएनन् यातायात समितिले, सम्पत्ति विवरण बुझाउन अटेरी
कैलालीका यातायात समितिले जिल्ला प्रशासन कार्यालयलाई चल/अचल सम्पत्तिको विवरण बुझाउन अटेर गरेका छन् । चल/अचल सम्पत्ति तथा दायित्व यकिन विवरण बुझाउन सूचना प्रकाशित भएको १७ दिनसम्म पनि समितिहरुले विवरण नबुझाएका हुन् ।
जिल्ला प्रशासन कार्र्यालयका अनुसार यातायात समितिहरुले सम्पत्ति तथा दायित्वको यकिन विवरण बुझाउने सन्दर्भमा जानकारीसमेत गराएका छैनन् । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत यादवबहादुर भण्डारीले सूचना प्रकाशन भएको लामो समय भए पनि यातायात समितिले सम्पत्ति विवरण नबुझाएको बताए ।
सरकारले यातायात समितिलाई खारेज गरेर कम्पनीमा लैजाने निर्णय गरेको छ । ऐन अनुसार सार्वजनिक संघसंस्था खारेज भएपछि ती संस्थाको चल/अचल सम्पत्ति स्वतः नेपाल सरकारको हुन्छ । यसरी यातायात समितिहरुले आफूसँग रहेको सम्पत्ति सरकारलाई बुझाउनु पर्ने हुन्छ ।
तत्कालीन सुदुपश्चिम यातायात व्यावसायी संघका अध्यक्ष पदमराज सापकोटाले जिल्ला प्रशासन कार्यालयले प्रकाशिन गरेको सूचना अनुसार सम्पत्ति विवरण बुझाउने तयारी भइरहेको बताए ।
तर, सरकारले यातायात व्यवसायीहरुको सम्पत्ति यातायात व्यवसायीले चलाउने गरी यातायात दर्ता प्रक्रिया अघि बढाउनु पर्ने उनले बताए ।
जिल्ला प्रशासन कार्यालय कैलालीले गत साउन १८ गते यातायात समितिहरुलाई चल÷अचल सम्पत्ति तथा दायित्व यकिन विवरण बुझाउन ३५ दिन सूचना निकालेको थियो ।
प्रकाशित समय १४:१२ बजे

















