गृहपृष्ठ निर्मला हत्या प्रकरण : विष्टको स्वास्थ परीक्षण, बम दिदीबहिनीसँग बयान

निर्मला हत्या प्रकरण : विष्टको स्वास्थ परीक्षण, बम दिदीबहिनीसँग बयान

कञ्चनपुरकी १३ वर्षीया बालिका नर्मला पन्तको हत्या प्रकरणको छानबिनका क्रममा पक्राउ परेका बम दिदीबहिनीसँग प्रहरीले बुधबार बयान लिँदैछ । प्रहरी कञ्चनपुरका एसपी कुबेर कडायतले बुधबार बम दिदीबहिनीसँग बयान लिने जानकारी दिएका हुन् ।

प्रहरीले घटनामा संलग्न भएको भन्दै स्थानीयले आशंका गरेका बम दिदीबहिनीलाई शनिबार अपरान्ह नियन्त्रणमा लिएको थियो । आवश्यक सूचना संकलन तथा बयान लिन उनीहरूलाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले प्रहरीलाई अनुमति दिइसकेको छ । ‘शंकास्पद बम परिवारको घरबारे पनि अनुसन्धान भइरहेको छ,’ कडायतले भने, ‘अनुसन्धान अधिकृत र सरकारी वकिल सँगै गएर घटनास्थलको अध्ययन गरिएको छ ।’

अनुसन्धान क्रम अगाडि बढ्दै जाँदा घटनाको केही न केही तथ्य बाहिर आउने उनले बताए । ‘अहिले अनुसन्धानबारे सबै कुरा सार्वजनिक गर्ने अवस्था भइसकेको छैन, हामी अत्यन्त गम्भीर भएर अनुसन्धानमा छौं, अघि बढ्दै जाँदा केही निष्कर्ष निस्कने आशा गरौं ।’ उनका अनुसार तत्कालीन एसपी डिल्लीराज विष्टको नेतृत्वमा भएको अनुसन्धान मिसिल तथा प्रमाणको पनि अध्ययन भइरहेको छ ।

 

अभियुक्त भनिएका दिलीपलाई काठमाडौँ ल्याइयो
प्रहरीले अभियुक्त भनेको तर स्थानीयले मानसिक अवस्था ठीक नभएका भनिएका दिलीपसिंह विष्टलाई स्वास्थ्य परीक्षणका लागि काठमाडौँ ल्याइएको छ । घटनाको प्रारम्भिक चरणबाट अनुसन्धानसँगै विष्टलाई स्वास्थ्य परीक्षण गर्न काठमाडौँ ल्याएको हो ।

उनको महाराजगन्जस्थित टिचिङ अस्पताल र पाटनस्थित मानसिक अस्पतालमा परीक्षण गरिँदैछ । जिल्ला प्रहरीले गत सोमबार भीमदत्त नगरपालिका १९ बाग्फाँटाका विष्टलाई निर्मलाको बलात्कारपछि हत्याको दोषीका रूपमा सार्वजनिक गरेको थियो ।

मानसिक रूपले अस्वस्थ र अशक्त तथा घटनाको मुख्य आरोपी भनेर पत्याउनै नसकिने निर्दोष व्यक्तिलाई प्रहरीले पक्राउ गरेर घटना ढाकछोप गरेर वास्तविक अपराधीलाई उम्काउन खोजेको आरोप लगाउँदै पीडित र स्थानीयवासी आन्दोलनमा उत्रिएका थिए । यही कारण साता दिनसम्म महेन्द्रनगर तनावग्रस्त बन्यो र आन्दोलनका क्रममा प्रहरीको गोलीबाट एक किशोरको मृत्यु भयो ।

अनुसन्धानमा लापरबाही भएको भन्दै आन्दोलन चर्केपछि गृह मन्त्रालयले तत्कालीन प्रजिअ कुमारबहादुर खड्का, एसपी विष्ट, डीएसपी ज्ञानबहादुर सेठी र अनुसन्धान अधिकृत एकिन्द्र खड्कालाई हेडक्वाटर तानेको छ भने विष्टलाई निलम्बन गरेको छ ।

प्रकाशित समय १०:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु