गृहपृष्ठ नियामकलाई अटेर गर्दै बिमा कम्पनीहरु
नियामकलाई अटेर गर्दै बिमा कम्पनीहरु
नौ वटा कम्पनीमा सीईओ पद रिक्त
नयाँ तथा पुराना गरी झण्डै एक दर्जन बिमा कम्पनी प्रमुख कार्यकारी अधिकृत (सीईओ)विहीन छन् । बिमा समितिमा नयाँ नेतृत्व आएसँगै लाइसेन्स पाएका १२ मध्ये अधिकांश कम्पनी सीईओबिनै चलिरहेका छन् । सीईओ नियुक्त नगर्नेमा जीवनतर्फका पाँच र निर्जीवनतर्फका चार गरी नौ वटा कम्पनी छन् । कतिपय पुराना कम्पनीले पनि सीईओ नियुक्त नगरी डेपुटी सीईओबाटै काम चलाइरहेका छन् ।
नयाँ जीवन बिमा कम्पनीमा आईएमई, प्रभु, ज्योति, सन् नेपाल र सानी इन्स्योरेन्स सीईओविहीन छन् । निर्जीवनतर्फका नयाँ कम्पनीमा जनरल इस्योरेन्स र सानीमा जनरल इन्स्योरेन्सले पनि सीईओ नियुक्त गरेका छैनन् । पुराना कम्पनीहरूमा युनाइटेड इस्योरेन्स र एनएलजी इस्योरेन्स पनि निमित्त सीईओको भरमा छन् ।
आईएमई लाइफ
आईएमई ग्रुपको प्रवद्र्धनमा रहेको आइएमई लाइफ इस्योरेन्स सीईओविहीन छ । एजीएम दिनेश अमात्यको नेतृत्वमा अहिले यो कम्पनी चलिरहेको छ ।
प्रभु लाइफ
प्रभु लाइफले पनि सीईओ नियुक्त गर्न सकेको छैन । हाल यो कम्पनी किशोरप्रसाद लामिछानेले निमित्त सीईओको बनेर चलाइरहेका छन् ।
प्रभु लाइफ
प्रभु लाइफबजार बिस्तारमा आक्रामक देखिएको ज्योति लाइफ इस्योरेन्स डेपुटी सीईओ प्रकाशविक्रम खत्रीकै नेतृत्वमा चलिरहेको छ । संचालक नन्दकिशोर शर्माले सीईओ नियुक्त गर्ने प्रयास भइरहेको बताए । ‘कम्पनीले खोजेजस्तो सीईओ नभेटिएर हो,’ उनले भने, ‘तर हामी नयाँ सीईओ नियुक्तिको प्रयासमा छौँ ।’
सन् नेपाल लाइफ
निमित्त सीईओको रुपमा रहेर राजकुमार आर्यलले सन् नेपाल लाइफ इस्योरेन्सको व्यवस्थापन ह्यान्डल गरिरहेका छन् ।
सानिमा इन्स्योरेन्स
सानिमा इन्स्योरेन्सले सीईओ टुंग्याउन प्रयास गरिरहेको छ । सीईओका लागि आधा दर्जन व्यक्तिसँग अन्तर्वार्ता गरिसके पनि टुंगो नलागेको बुझिएको छ । कम्पनीका डिजिएम केशवराज केसीले विज्ञापन गरेर खोज्दा पनि कम्पनीले खोजेस्तो सीईओ नभेटिएको बताए ।
युनाइटेड इन्स्युरेन्स
युनाइटेड इन्स्युरेन्स पनि सीईओविहीन छ । शेखर बरालले राजीनामा दिएपछि युनाइटेडले सीईओ नियुक्त गर्न सकेको छैन । अहिले सो कम्पनी निमित्त सीईओ रमेशकुमार भट्टराईको नेतृत्वमा चलिरहेको छ ।
एनएलजी इस्योरेन्स
युनाइटेडको जस्तै हालत एनलजी इस्योरेन्समा पनि छ । आठ वर्षे पदावधि सकेर विजयबहादुर शाह बाहिरिएपछि यो कम्पनीलाई ६ महिनायता काम मुकायम सीईओ बनेर सुनिलबल्लभ पन्तले हाँकिरहेका छन् । खुला प्रतिस्पर्धामा सोही कम्पनीका पूर्वअध्यक्ष कृष्णप्रसाद शर्माले नाम निकालेका थिए । तर, कम्पनीको अध्यक्ष भैसकेको व्यक्ति कार्यकारी प्रमुख बन्न नमिल्ने भन्दै बिमा समितिले रोकिदिएकाले अझै यो कम्पनी सीईओविहीन भएरै चलिरहेको छ ।
जनरल इस्योरेन्स
एक दर्जन विकास बैंकहरुको प्रबद्र्धन रहेको जनरल इस्योरेन्स कम्पनीलाई महाप्रवन्धक एसके तमोटले हाँकिरहेका छन् । सीईओ पद यो कम्पनीमा पनि रिक्त छ ।
सीईओ भएका कम्पनी
नयाँ कम्पनीमा रिलायन्स लाइफ, युनियन लाइफ र सिटिजन लाइफले सीईओ पाएका छन् । रिलायन्समा प्रविणरमण पराजुली, युनियनमा मनोजलाल कर्ण र सिटिजन लाइफमा पोषकराज पौडेलले सीईओ बनेका छन् । रिलायवल लाइफ इस्योरेन्सले सीईओको रुपमा संस्थापकलाई नै राखेको छ । यो कम्पनीका सीईओ नारायणबाबु लोहनी हुन् । सबैभन्दा पछि संचालन अनुमति लिएको अजोड इस्योरेन्सले लुम्बिनी जनरल इन्सुरेन्सका एजिएम कुमारबहादुर खत्रीलाई सीईओ बनाएको छ । तर, अन्य ९ कम्पनीले सीईओ नियुक्त नगरेर दोस्रो वा तेस्रो दर्जाका कर्मचारीलाई कम्पनी ह्यान्डल गर्ने जिम्मेवारी दिएका छन् ।
सीईओ नियुक्तिमा किन हुन्छ आलटाल ?
बिमा समितिले संस्थागत सुशासन निर्देशिका संशोधन गरी सीईओको पदपूर्तिसम्बन्धी व्यवस्था हटाएको छ । संशोधित निर्देशिका लागू हुनुअघि कुनै पनि बिमा कम्पनीले तीन महिनाभन्दा बढी समय सीईओ पद रिक्त राख्न पाउँदैन थिए । तर, निर्देशिका संशोधन गर्दै बिमा समितिले तीन महिनाभित्र रिक्त पद परिपूर्ति गर्नुपर्ने व्यवस्था हटाएपछि बिमा कम्पनीहरुले सीईओ नियुक्तिमा आलटाल गरेका हुन् ।
त्यसो त, बिमा कम्पनीहरुले सीईओ पाउन छाडेपछि बीमा समितिले सीईओको योग्यतालाई केही खुकुलो बनाइदिएको छ । १० बर्षको बैंकिङ अनुभव भएको व्यक्ति बिमा कम्पनीको सीईओका लागि योग्य हुने व्यवस्था गरिएको छ भने स्नातक पासले पनि बिमा कम्पनीको सीईओ हुन पाउँछन् । तर, यही व्यवस्थामा टेकेर बिमा कम्पनीहरुले नियामकको खिल्ली उडाएका छन् । ‘सोचेर, विचार गरेर योग्य सीईओ नियुक्त गर्न बिमा कम्पनीहरुलाई सजिलो होस् भनेर बिमा समितिले योग्यतासम्बन्धी व्यवस्थामा लचिलो भएको थियो,’ बिमा समितिका एक विशिष्ट कर्मचारीले भने, ‘तर उहाँहरुले त हाम्रो लचिलोपनको खिल्ली उडाएजस्तो महशुस हुन थालेको छ ।’ बिमा कम्पनीको मनोमानीमा समिति चुप लागेर नबस्ने उनले बताए ।
सञ्चालकको स्वार्थ
बिमा समितिको संस्थागत सुशासन नियमावलीमा सञ्चालकको. काम, कर्तव्य र अधिकार स्पष्ट रुपमा उल्लेख छ । नियमावली अनुसार बिमा कम्पनीका सञ्चालकले दैनिक कामकार्बाहीमा हस्तक्षेप गर्न पाउँदैनन् । झन् आफ्ना स्वार्थ त उनीहरुले लाद्न पाउने कुरै भएन । तर, कतिपय बिमा कम्पनीमा सीईओ नियुक्त नगरिनुमा सञ्चालकको स्वार्थलाई जोडेर हेर्ने गरिएको छ । सञ्चालकहरु आफूले भनेको मान्ने सीईओको खोजीमा हुन्छन् । ‘व्यवसाय पनि बढाउने र आफूहरुले भनेको कुरा नकाट्ने खालको सीईओको सञ्चालकहरुले खोज्नुहुन्छ,’ एक बिमा कम्पनीका डेपुटी सीईओले भने, ‘त्यस्ता व्यक्ति नभेटिए हामीजस्तै कर्मचारीबाट काम चलाउँदा बरु नाफा हुन्छ, घाटा हुँदैन भन्ने सोच उहाँहरुको छ ।’ आफू सीईओका लागि योग्य भए पनि सञ्चालकको स्वार्थका कारण निमित्तमै चित्त बुझाउनुपरेको उनको भनाइ छ ।
सीईओ नहुँदा के हुन्छ ?
बिमा समितिले बढीभन्दा बढी नेपालीलाई बिमाको पहुँचमा ल्याउन अनेक प्रयास गरिरहेको छ । कतिपय प्रयास बेअर्थी साबित भए पनि केही प्रयास भने सार्थक हुँदै गएको देख्न सकिन्छ । पछिल्लो पटक बिमा व्यवसाय विगतको तुलनामा अलि बढी विस्तार भएको छ । यसको पछिल्लो उदाहरण हो, बिमा कम्पनीहरुले संकलन गरेको प्रिमियम । बिमा समितिका अनुसार जीवन र निर्जीवन बिमा कम्पनीहरूले गत आर्थिक वर्षभरिमा ७३ अर्ब १५ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् । बिमा कम्पनीले नियामकको निर्देशनलाई मान्न आलटाल नगर्ने हो भने बिमा व्यवसाय अझै विस्तार हुने बिमा समितिको दाबी छ । तर, कम्पनीहरुले योग्य प्रमुख कार्यकारी अधिकृत नै राख्न आलटाल गर्दा त्यसको असर समग्र बिमा क्षेत्रमा पर्न सक्ने समितिको बुझाइ छ । अपवादबाहेक केही बिमा कम्पनीमा निमित्त प्रमुखले पनि राम्रै काम गरिरहेका छन् । तर, बिमा समितिको निर्देशन अनुसार बिमा कम्पनीहरुले योग्य सीईओ नियुक्त गरे उपलब्धि गुणात्मक हुने बिमा विज्ञहरु बताउँछन् ।
बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत हुन बीमा, व्यवस्थापन, अर्थशास्त्र, वाणिज्यशास्त्र, कानुन, गणित, बीमा, व्यवस्थापन, अर्थशास्त्र, वाणिज्यशास्त्र, कानुन, गणित, तथ्याङ्कशास्त्र, वा इन्जिनियरिङ विषयमा कम्तिमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गर्नुपर्छ । यस्तो योग्यता नपुगेका अर्थात् स्नातकोत्तरको प्रमाणपत्र नभएकाले कतिपय व्यक्ति सीईओ नभएर कामु सीईओ भएर काम गरिरहेका छन् ।
याे पनि पढ्नुहाेस् :
के हो बिमा, किन गर्ने ?
बिमा कम्पनीले उठाए ७३ अर्ब रुपैयाँ प्रिमियम
प्रकाशित समय १४:०९ बजे

















