गृहपृष्ठ धितालले भने– राष्ट्र बैंकले जालसाजी गरेर फसायो

धितालले भने– राष्ट्र बैंकले जालसाजी गरेर फसायो

bishnu-dhital-newskarobar

एनसिसि बैंकका तत्कालीन सञ्चालक विष्णुप्रसाद धितालले राष्ट्र बैंक र राज्य प्रशासनले जालसाजी रचेर आफूलाई फसाएको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी धितालले बैंकिङ कसुरको जालसाजी रचेर आफूलाई फसाएको जिकिर गरेका हुन् ।

आफूलाई फसाउन राष्ट्र बैंकसहित एनसिसि बैंकका संस्थापकद्वय जितबहादुर श्रेष्ठ र लक्ष्मीबहादुर श्रेष्ठसमेत लागेको उनले आरोप लगाए । ‘मलाई एनसिसि बैंकका सीमित व्यक्तिको स्वार्थका कारण फसाइयो, मेरा बारेमा आएका एकतर्फी समाचार लेख्दै अफवाह फैलाइयो,’ धितालले भने, ‘जेलभित्र गोली ठोक्छु भन्नेसम्मका धम्की आए ।’ धिताल एक अर्ब ५१ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा बैंकिङ कसुरमा सजाय सुनाइएका व्यक्ति हुन् ।

चार महिनाको अन्तरालमा विभिन्न झुटा मुद्दा लगाएर दुःख दिने काम गरिएको उनको जिकिर छ । नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका धितालले आफू लोकतन्त्रका लागि लडेर आएको व्यक्ति भए पनि त्यसको अनुभूत गर्न नपाएको बताए । ‘लोकतन्त्र ल्याउनका लागि मेरो पनि ठूलो लगानी छ तर म आफैं पीडित भएको छु, लोकतन्त्र महसुस गर्न पाइनँ, राणाकालीन चरित्र देखाएर अन्याय गरियो,’ धितालले भने ।

राज्यले आफूलाई आतंककारीको शैलीमा अपहरण गरेको उनले बताए । बोर्डको बैठकबाटै अनुसन्धानका नाममा चार महिना जेलमा राखिएको आरोप उनको छ । आफ्नो र सिंगो पार्टीको समेत बदनाम गराउन गलत हल्ला फैलाइएको धितालले बताए ।

रारा विकास बैंक, रोयल मर्जेन्ट फाइनान्स र अपी फाइनान्सबीचको मर्जपछि एनसिसि बैंक बनेको हो । तर, त्यस प्रकरणमा आफू निर्दोष रहेको उनले बताए । एपेक्स डेभलपमेन्ट बैंकमा पहिले नै केही समस्या रहेको र संकटग्रस्त रोयल मर्चेन्टलाई समेत गाभेपछि आफू अध्यक्ष नहुँदैका समस्या ल्याएर आफूलाई फसाएको उनले बताए ।

अहिले एनसिसी बैंकमा ६५ अर्ब रुपैयाँ निक्षेप छ भने करिब ५५ करोड ऋण छ । आफूले स्वीकृत गरेको ५० लाख ऋण नउठ्दा आफूमाथि षड्यन्त्र रचिएको धितालले आरोप लगाएका छन् । उनले शुक्रबारकै मितिबाट सञ्चालक समितिमा नरहने गरी राजीनामा दिएको घोषणा गरेका छन् ।

प्रकाशित समय २०:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु