गृहपृष्ठ अवहेलना मुद्दामा सरकारलाई कारबाही गर्ने सर्वाेच्चको चेतावनी

अवहेलना मुद्दामा सरकारलाई कारबाही गर्ने सर्वाेच्चको चेतावनी

सर्वोच्च अदालतले नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई पटक–पटक पक्राउ गरिएको विषयमा सरकारलाई कडा चेतावनी दिएको छ । शुक्रबार न्यायाधीश अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले अदालतको अबहेलना मुद्दामा कारवाहीको चेतावनी दिएको हो ।

संविधानको धारा १२८(४) अनुसार अवहेलनामा कारबाही गर्ने सर्वाेच्चको चेतावनी छ । विश्वकर्मालाई पटक–पटक पक्राउ गरिएपछि बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चमा दर्ता भएको थियो । विश्वकर्मालाई थुनामुक्त गर्न थुप्रै पटक आदेश दिइसके पछि पनि अदालत परिसरबाटै पक्राउ गरेर अर्को जिल्लामा पुर्याउने गरिएको भन्ने मुद्दामा वैयक्तिक हक उपयोग गर्न बञ्चित गराएको सर्वोच्चको ठहर छ ।

सर्वोच्चको आदेशमा भनिएको छ, ‘नागरिकको मौलिक हक कुण्ठित हुँदा मौलिक हकको प्रचलनका लागि यस अदालतबाट एउटै व्यक्तिको गैरकानुनी थुनाका सम्बन्धमा पटक–पटक आदेश जारी गर्नु परेको सन्दर्भमा कहीँ यस अदालतको आदेश निस्तेज पार्ने र छल्ने प्रयत्न गरिएको त होइन ?’

विधिको शासन भएको लोकतान्त्रिक मुलुकमा यस्तो कार्य कदापी क्षम्य हुन नहुने सर्वोच्चले जनाएको छ । आदेशमा भनिएको छ, ‘यस अदालतले गरेको आदेशको मर्यादाको र पालनाको लागि नेपालको संविधानको धारा १२८(४) को अधिनमा रही अन्य उपयुक्त आदेशसमेत जारी गर्नुपर्ने अवस्था आउन सक्छ ।’ सर्वोच्च यस्तो अवस्था आउन नदिन राज्यका निकायहरु अझ गम्भीर जिम्मेवार हुनुपर्ने तर्फ सर्वाेच्चले सजग गराएको छ ।

प्रकाशित समय १९:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु