गृहपृष्ठ शक्तिपिठमा भीड, राजदेवी मन्दिरमा हजारौं बोका बली

शक्तिपिठमा भीड, राजदेवी मन्दिरमा हजारौं बोका बली

नेपालीहरुको मुख्य चाड बडादसैं जनकपुरसहित देशभरि बुधबार विधिवत रुपमा घटस्थापना गरी सुरु भएको छ । माता दुर्गाका विभिन्न शक्तिपिठहरुमा श्रद्धालु भक्तजनको भीड बढेको छ ।

दसैंका दिन माता दुर्गाको १० अवतारको पूजाआराधना गरिनेछ । जनकपुरको रामचोक र जनकचोकस्थित राजदेवी माता, पिडरियामाई, बौधीमाईलगायत जनकपुरको रजौल, रामानन्दचौक, भ्रमरपुराचौक, मुरलीचौक, देवीचौकसहितको स्थानमा माता दुर्गाको भव्य पूजाआराधना भइरहेको छ ।

जनकपुरका विभिन्न चोकहरु रहेका शक्तिपिठमा यहाँका स्थानीय युवा क्लबले प्रतिस्पर्धात्मक तरिकाले सजाउने गरेका छन् । जनकपुरको अतिप्रसिद्ध राजदेवी मन्दिरलाई स्थानीय महावीर युवा कमिटी र राम युवा कमिटीले संयुक्त रुपमा सजावटदेखि लिएर अन्य व्यवस्थापनको काम गर्दै आएका छन् ।

रामानन्दचोकमा रामानन्द युवा क्लबसहित स्थानीय व्यापारी, व्यवसायीले माता दुर्गा भवानीका शक्तिपिठहरुलाई नवदुलही झैं सजाएका छन् । लाखौं रकम खर्चेर राजदेवी मन्दिर र दुर्गा मन्दिरलाई आकर्षक बनाइएको छ ।

 

राजदेवी मन्दिरमा महिलालाई प्रवेश निषेध
जनकपुरस्थित रामचोक र जनकचोकमा राममन्दिरको उत्तरतर्फ रहेको माता राजदेवीको मन्दिरमा महिलालाई प्रवेश निषेध गरिएको छ । अन्य समयमा सबैका लागि खुला गरिए पनि दसैंको समयमा परापूर्वकालदेखि महिलाको प्रवेशमा रोक लगाइँदै आएको छ । घटनास्थापनादेखि दशमीसम्म महिलालाई राजदेवी मन्दिर प्रवेश गर्न दिइँदैन ।

 

बर्सेनि हजारौं बली
जनकपुरस्थित राजदेवी माताको मन्दिरमा एकैरातमा हजारौं बोका बली दिने गरिन्छ । माता राजदेवीलाई भाकल गरेर मनोकांक्षा पूरा भएको विश्वास गर्दै श्रद्धालु भक्तजनले नवमीका दिन माता राजदेवीको मन्दिरमा बोका बली दिने गर्छन् । एकै रातमा यहाँ १८ हजारसम्म बोका बली दिने गरिन्छ । धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, सिरहा, सप्तरीलगायत भारतका विभिन्न राज्यबाट श्रद्धालु भक्तजन बोका बलीका लागि राजदेवी माता मन्दिर आउने गर्छन् ।

प्रकाशित समय १९:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु