गृहपृष्ठ अब को बन्ला कृषि विकास बैंकको सीईओ ?

अब को बन्ला कृषि विकास बैंकको सीईओ ?

agriculture_development_bank_limited

सरकारी स्वामित्वको कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन बैंकरहरुको दौडधुप सुरु भएको छ । बैंककै कर्मचारी, पूर्वकर्मचारीदेखि अन्य बैंकका पूर्वकर्मचारी र बिमा तथा वित्त कम्पनीमा काम गरिसकेका व्यक्तिसम्म कृषि विकास बैंकको सीईओ हुन लागिपरेका छन् ।

२८ मंसिर ०७१ मा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त लिलाप्रकाश सिटौलाको चार वर्षे कार्यकाल मंसिर २७ गते सकिँदैछ । त्यसअघि नै बैंककै कर्मचारीदेखि विभिन्न बैंक तथा वित्तीय संस्थामा काम गरिसकेका व्यक्तिले सीईओ बन्न दौडधुप सुरु गरेका हुन् ।

अहिलेसम्म बैंकले सीईओ पदका लागि दर्खास्त आह्वान गरेको छैन । सिटौला दोहोरिने सम्भावना भने नरहेको बैंक स्रोतले जनाएको छ । बैंकका सीईओले दुई कार्यकालसम्म काम गर्न पाउने व्यवस्था छ । तर, सिटौला नबस्ने भएपछि बैंकका कार्यकारी नायब महाप्रबन्धकहरु पूर्णप्रसाद आचार्य, अरुणकुमार ढुंगाना, प्रताप सुवेदी र चुडामणी तिम्सिना सीईओका दाबेदार हुन् । आन्तरिक कर्मचारीबाट सिधै सीईओ चुनिएमा वरिष्ठताका आधारमा आचार्य स्वतः नियुक्त हुनेछन् ।

कृषि विकास बैंकको सीईओ बन्न राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरबीबी मर्चेन्ट बैंकिङका पूर्व प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझी, चाटर्ड एकाउन्टेन्ट मोहन गुरागाईं, कृषि विकास बैंककै पूर्व नायब महाप्रबन्धक शेषरमण आचार्यलगायतले पनि दौडधुप तीव्र पारेका छन् ।

यीमध्ये राष्ट्रिय वाणिज्य बैंकका पूर्वकर्मचारी रायमाझी एमालेनिकट ट्रेड युनियनमा निरन्तर आबद्ध थिए भने शेषरमण आचार्यलाई कृषि विकास बैंकको जनशक्ति व्यवस्थापन विभाग प्रमुख हुँदा कर्मचारी व्यवस्थापन (भर्ना/नियुक्ति) अनियमितता गरेको आरोप छ ।

सरकारले सीईओ छनौट समिति गठन गर्ने तयारी गरेको बुझिएको छ । सीईओ नियुक्तिमा अर्थ मन्त्रालयले समिति बनाएर प्रक्रिया अघि बढाए नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालका भाइ पर्ने अनिलकुमार उपाध्यायको सम्भावना बलियो हुने स्रोतको दाबी छ । उपाध्याय कृषि विकास बैंककै नायब महाप्रबन्धकबाट रिटायर्ड कर्मचारी हुन् । उपाध्यायमाथि कृषि विकास बैंकको कर्पोरेट बैंकिङबाट कर्जा लगानी गर्दा अनियमिता गरेको आरोप छ । उपाध्यायले यसअघि राष्ट्रिय वाणिज्य बैंकको सीईओका लागि आवेदन दिए पनि छनोट भएनन् ।

सीईओ पदका लागि सामान्यतः कम्तीमा स्नातक गरेको र बैंकिङ क्षेत्रमा कार्यकारी तहमा कम्तीमा पाँच वर्ष अनुभव भएको र ६० वर्ष नकाटेको नेपाली नागरिक हुनुपर्छ । त्यसबाहेक अन्य योग्यता बैंकको नियमअनुसार हुन्छ । कुनै पनि राजनीतिक दलको सदस्यता लिएकाले सीईओ हुन पाउँदैन । तर, राजनीतिक दलका सदस्य नभए पनि सीईओ नियुक्तिमा राजनीतिक हस्तक्षेप हुने गरेको छ । ‘सीईओ हुन राजनीतिक दलको सदस्य हुन नहुने व्यवस्था छ,’ कृषि विकास बैंककै एक कर्मचारी भन्छन्, ‘तर सीईओ पदका लागि राजनीतिक लविङ भने सुरु भइसकेको छ ।’

 

कति हुन्छ तलब ?
सामान्यतया, बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको तलब सुविधा आकर्षक हुने गर्छ । कृषि विकास बैंकलगायत सरकारी स्वामित्वका बैंकका सीईओको तलब निजी बैंकहरुको भन्दा कम छ । सीईओ नियुक्त हुनेले मासिक करिब पौने तीन लाख रुपैयाँ तलब पाउनेछन् भने कार्यसम्पादन तथा मुद्रास्फीतिअनुसार बैंकको सञ्चालक समितिले तलब सुविधा बढाउन सक्नेछ । अन्य बैंकको तुलनामा तलब कम भए पनि कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत हुन दौडधुप गर्नेको संख्या ठूलै छ ।

प्रकाशित समय १५:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु