गृहपृष्ठ मोरङमा विकासे बजेट खर्च न्यून
मोरङमा विकासे बजेट खर्च न्यून
त्रैमासिक अवधिमा जम्मा १० प्रतिशत खर्च
सरकारी कार्यालयहरुको विकास बजेट खर्चको अवस्था न्यून हुने क्रमले यो वर्ष पनि मोरङ जिल्लामा निरन्तरता पाएको छ ।
चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा जिल्लाका सरकारी कार्यालयहरुले मात्र १० प्रतिशत बजेट खर्च गरेका छन् । संघीय सरकारले चालू आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा न्यूनतम १८ देखि २८ प्रतिशतसम्म बजेट खर्च गर्ने लक्ष्य लिएका थियो । सरकारको लक्ष्य अनुसार मोरङका सरकारी कार्यालयले बजेट खर्च गर्न सकेकाे देखिदैन ।
कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका अनुसार संघ अन्तर्गतका ६८ वटा सरकारी कार्यालयका विकास बजेट चालु आर्थिक वर्षको पहिलो त्रैमासिक समाप्तीसम्म भएको खर्च निकै न्यून हो । भएका खर्च पनि साधारणतर्फका मात्र छन् ।
सरकारी कार्यालयका लागि आर्थिक वर्षको पहिलो तीन महिनाको पूँजीगततर्फ कूल वार्षिक बजेट १३ अर्ब १९ करोड १ लाख ६ हजार रुपैयाँ रहेकोमा पहिलो त्रैमासिकसम्ममा १३ करोड ९१ लाख १७ हजार ३ सय ३६ रुपैयाँ मात्र खर्च भएको छ ।
लेखा नियन्त्रक योगेन्द्र पौडेलका अनुसार जिल्लामा सबै भन्दा बढी विकासे बजेट खर्च हुने कार्यालयकाको खर्चको अवस्था पनि निराशाजनक छ । संघीय आयोजना कार्यान्वयन कार्यालय इकाइको कूल पूँजीगततर्फको वार्षिक बजेट ७६ करोड ४६ लाख ९ हजार रहेकोमा तीन महिनाको अवधिमा जम्मा ५ करोड २६ लाख ९९ हजार ६३ रुपैयाँ मात्र खर्च भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्ष ०७४÷०७५ को आर्थिक वर्षको पहिलो तिन महिनामा ती कार्यालयहरुले पूँजीगततर्फको विकास बजेट खर्च ३ दशमलव ७५ प्रतिशत मात्र थियो ।
प्रदेश सरकारले ०७५–७६ का लागि पूँजीगततर्फ १८ अर्ब ७७ करोड ७४ लाख ५१ हजार रुपैयाँ विनियोजन गरेको छ । यो खर्च प्रशासनिकतर्फको मात्रै हो । तर, प्रदेश सरकारले खर्च गर्न भने सकेको छैन ।
विकास बजेट शीर्षकमा विनियोजन गरिएको रकम भुक्तानी नभएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय जनाएको छ ।
प्रकाशित समय १०:१६ बजे

















