गृहपृष्ठ प्रधानमन्त्री ओलीले अस्पतालबाटै सुरु गरे काम
प्रधानमन्त्री ओलीले अस्पतालबाटै सुरु गरे काम
स्वास्थ्य अवस्था सुधारोन्मुख
उपचाररत प्रधानमन्त्री केपी ओलीले अस्पतालबाटै काम सुरु गरेका छन् । शिक्षण अस्पतालमा उपचार गराइ रहेका प्रधानमन्त्री ओलीले अस्पतालबाटै अनौपचारिक रुपमा काम सुरु गरेका हुन् ।बुधबार उनले अस्पतालमै रक्षा, गृह र ऊर्जामन्त्रीसँग बैठक गरेर काम सुरु गरेका हुन् । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापासँग छलफल गरेका हुन् ।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा सुधार आएको उपचारमा संलग्न चिकित्सक अरुण सायमीले बताए । प्रधानमन्त्रीका स्वास्थ्य अवस्थाका बारेमा अस्पतालले बुधबार बिहान जारी गरेको प्रेस विज्ञप्तिमा परीक्षण गरिएका रिपोर्टहरू सन्तोषजनक रहेको र स्वास्थ्य स्थितिमा थप सुधार देखिएको जनाएको छ ।
प्रधानमन्त्री ओली थप एक दिन अस्पतालमौ रहने भएका छन् । प्रधानमन्त्रीले डिस्चार्जका लागि आग्रह गरे पनि अस्पतालले नमानेकोले थप एक दिन अस्पतालमै रहने भएका हुन् । निवास लैजाँदा हुने सम्भावित संक्रमणलाई लिएर चिकित्सकले अस्पतालमै रहन सुझाव दिएको प्रधानमन्त्री ओलीका जनसम्पर्क सल्लाहकार अच्युत मैनालीले बताए ।
‘प्रधानमन्त्री ओलीको स्वास्थ्य थप सुधार भएपनि, संक्रमणको खतराबाट बच्न उहाँलार्ई अझै एक दिन अस्पतालै राखिने भएको छ,’ मैनालीले भने । स्वास्थ्य अवस्था बिग्रिएपछि प्रधानमन्त्री ओलीलाई सोमबार बिहान अस्पताल भर्ना गरिएको थियो । छातीमा इन्फेक्सन तथा शरीरमा चिनीको मात्रा असन्तुलन भएपछि भर्ना गरिएको हो ।
प्रकाशित समय ११:५७ बजे
















