गृहपृष्ठ योजना आयोगको उपाध्यक्ष नियुक्तिसँगै प्रदेश सरकार विवादमा
योजना आयोगको उपाध्यक्ष नियुक्तिसँगै प्रदेश सरकार विवादमा
प्रदेश १ को योजना आयोगको उपाध्यक्षमा मानव अधिकारकर्मी सुबोधराज प्याकुरेललाई नियुक्त गरेसँगै राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ । प्रदेश सरकारले मानव अधिकारवादी संस्था इन्सेकमा सक्रिय हुँदै आएका प्याकुरेललाई राज्यमन्त्रीसरहको सेवासुविधा पाउने उपाध्यक्षमा बुधबार मन्त्रिपरिषदबाट निर्णय गरी आयोगको उपाध्यक्षमा नियुक्ति गरेको थियो ।
प्रदेश सरकारको काम–कारबाही आफैंमा प्रभावकारी हुन नसकिरहेका बेला आयोगको उपाध्यक्षमा प्याकुरलेको नियुक्तिले सरकार विवादमा तानिएको हो । विराटनगरबाट २० वर्षअगाडि काठमाडौं बसाइँ सरेका प्याकुरेल वाणिज्य शास्त्रका विद्यार्थी भए पनि योजना निर्माणका विज्ञ भने होइनन् ।
लामो समयदेखि उनी मानव अधिकारको क्षेत्रमा एनजीओमार्फत सक्रिय रहँदै आएका छन् । आर्थिक मामिलाका जानकार डा. अर्जुन बरालले प्रदेश सरकारले आयोगको उपाध्यक्षमा नियुक्त गरेका प्याकुरेल विषय विज्ञभन्दा पनि राजनीतिमा प्रभावको नियुक्ती भएको बताए । उनले न्युज कारोबारसँग भने, ‘प्रदेश सरकारका मन्त्रीहरुलाई जे सहज भयो, त्यही गर्नुभएको होला तर विषय विज्ञ भने उहाँ होइन, विज्ञलाई नियुक्ति गरेको भए राम्रो हुने थियो ।’
आयोगमा आर्थिक, भूगोल, कृषि, पर्यटन जस्ता क्षेत्रका विज्ञलाई नियुक्त गर्ने गरिन्छ । तत्कालीन नेकपा एमाले मोरङको उपसचिव हुँदै विराटनगर उपमहानगरपालिकाको उपमेयर र संसदमा पराजित भएका प्याकुरेल २०५१ सालपछि केही समय विराटनगर जुटमिलको अध्यक्ष बनेका थिए ।
त्यसपछि काठमाडौं हान्निएका उनी त्यहीँका स्थायी बासिन्दा हुन् । प्याकुरेलको परिवार तत्कालीन नेकपा एमालेनिकट रहेर बारम्बार राज्यका उपल्लो पद धारण गर्ने र सेवा सुविधा प्राप्त गर्नेहरुमध्येमा पर्छ ।
उनका दाजु सुशील प्याकुरेल इन्सेक अध्यक्ष हुँदै तत्कालीन एमालेकै सिफारिसमा राष्ट्रिय मानवअधिकार आयोगको सदस्य र हाल दोस्रो कार्यकालका लागि राष्ट्रपति विद्यादेवी भण्डारीको सल्लाहकारको रुपमा रहेका छन् ।
उपाध्यक्षमा सिफारिस प्याकुरेलका भाइ सुमन प्याकुरेल राष्ट्रिय सभाका सदस्य छन् भने उनका भाञ्जा कुन्दन अर्याल प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार छन् । विज्ञ नभए पनि उच्च राजनीतिक पहुँचकै कारण प्याकुरेल योजना आयोगको उपाध्यक्ष बन्न सफल भएका हुन् ।
प्रदेश सरकारले पाँच सदस्यीय योजना आयोग बनाउने भए पनि उपाध्यक्षसहित अन्य दुई सदस्यमात्र नियुक्त गरेको छ । सहायक मन्त्रीसरहको सुविधा पाउने सदस्यहरुमा पाँचथरका पूर्ण लक्सम र मोरङकी मिना भण्डारी सदस्य छन् ।
पाँचथर निवासी लक्सम बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट आर्थिक विकास विषयमा विद्यावारिधि गरिरहेका व्यक्ति हुन् भने भण्डारी मोरङ इटहराकी हुन् । एमबीएसम्मको अध्ययन गरेकी भण्डारी एडिबीको कन्सल्टेन्टको रुपमा कार्यरत रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रकाशित समय १६:०९ बजे

















