गृहपृष्ठ हामी अलमलिएकै हो : र्इश्वर पोखरेल
हामी अलमलिएकै हो : र्इश्वर पोखरेल
जनताको खबरदारी आवश्यक : नारायण सिलवाल
उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले समृद्धि अभियान अघि बढाउने क्रममा सरकार अलमलिएको बताएका छन् । काठमाडौं वडा नम्बर ५ को आयोजनामा शनिबार हाँडीगाउँमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले भने, ‘समृद्धि अभियान त अघि बढाइयो, तर कतिपय मुद्दामा हामी अलमलिएका छौँ, कहाँबाट, कसरी सुरु गर्ने, केलाई आधार मान्ने ।’
काठमाडौं ५ मा ऐतिहासिक कैलासकुट दरबार बनाउन पनि सरकार अलमलिएको उनले स्वीकारे । ‘कहाँबाट उत्खनन् गर्ने, कसरी काम थाल्ने भन्ने विषयमा थोरै अन्योल पैदा भएको छ, तर हामी सधैं यसरी अलमलिएर बस्दैनौं ।
उनले समृद्धिको यात्रामा सरकारका सुरुवाती पाइला प्रभावकारी नभएको भन्ने जनगुनासो जायज भएको बताए । ‘जसरी विद्यार्थीले ५÷६ सेमेस्टरसम्म परीक्षा दिन्छन्, त्यसैगरी अहिले हामीले पहिलो सेमेस्टरको परीक्षा दिएका छौँ,’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘तर यो परीक्षा नै अन्तिम जसरी आलोचना र आशंका गर्नु जायज होइन, ६ वा ८ सेमेस्टर अर्थात् अन्तिम सेमेस्टरसम्मको परीक्षापछि पास वा फेल भन्ने कुराको टुंगो लाग्छ, त्यतिबेला जनताले हामीलाई दण्डित वा पुरस्कृत गर्न सक्छन् ।’ आफूहरु दण्डित हुने गरी कुनै पनि काम नगर्ने प्रतिबद्धता पनि उनले जनाए ।
कार्यक्रममा काठमाडौं ५ (क) का सांसद नारायण सिलवालले विकास र समृद्धिको यात्रामा जनताको बलियो साथ आवश्यक पर्ने बताए । ‘यो सरकार विकास र समृद्धिका लागि प्रतिबद्ध भएर लाग्छ, कहिँ कतै त्रुटी भए जनताले खबरदारी गर्नुपर्छ, हामी समृद्धिको लक्ष्य हासिल गरेरै छाड्नेछौँ ।’
अर्को प्रसंगमा सिलवालले प्रदेश ३ को राजधानी काभ्रे हुनुपर्छ भन्नेमा सांसदहरुको मत बढी रहेको बताए । ‘हेटौंडा सबै जिल्लालाई पायक पर्ने नदेखिएकाले पनि हुन सक्छ, अधिकांश मान्यज्युहरुको मत काभ्रे हुनुपर्छ भन्नेमै छ,’ सिलवालले भने, ‘तर यसबारे छलफल जारी छ ।
प्रदेशको नाम बागमती, नेपाल मण्डललगायतबारे छलफल भइरहेको उनको भनाइ छ । कार्यक्रममा उनले काठमाडौं ५ मा आफ्नो पहलमा भए÷गरेका कामका फेहरिस्त प्रस्तुत गरेका थिए ।
प्रकाशित समय १४:१५ बजे
















