गृहपृष्ठ तनहुँ जलविद्युत् आयोजनाको मुआब्जा वितरण

तनहुँ जलविद्युत् आयोजनाको मुआब्जा वितरण

tanahu-hydro

एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गर्न आवश्यक थप जग्गाका लागि तीन करोड ११ लाख ६२ हजार मुआब्जा वितरण गरिएको छ । व्यास नगरपालिका-५, वेतेनीका आयोजना प्रभावित ६२ मध्ये २० परिवारले मुआब्जा रकम बुझेको आयोजनाका साइट इन्चार्ज इन्जिनियर विदुर अधिकारीले जानकारी दिए ।

मंगलबारसम्म अधिग्रहण गरिएको ६० रोपनी जग्गामध्ये नौ रोपनीको मुआब्जा रकम वितरण गरिएको छ । आयोजनाले जग्गा अधिग्रहणका लागि रु सात करोड ७३ लाख विनियोजन गरेको छ ।

बाँध जाने प्रवेश मार्ग र ठेकेदारका लागि आवश्यक पर्ने जग्गाका लागि आयोजनाले अधिग्रहण गरेको हो । जग्गाको प्रकृति हेरेर प्रतिरोपनी नौ लाख ५० हजारदेखि २० लाख रूपैयाँसम्म मूल्य निर्धारण गरिएको छ । पहिरोमा परेको जग्गाको मुआब्जा प्रतिरोपनी दुई लाख ४० हजार निर्धारण गरिएको छ । नदी फर्काउन तथा बाँध निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँग २० अर्ब ६४ करोड ५२ लाखको सम्झौता भएको छ ।

आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण, विभिन्न उपकरण आपूर्ति, जडान तथा सञ्चालनका लागि चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसनसँग तीन अर्ब ८३ करोड १४ लाखको सम्झौता भएको छ ।

 

देवीडाँडामा भ्यु टावर

व्यास नगरपालिका-१० मा नौ सय मिटर अग्लो भ्यु टावर बन्ने भएको छ । पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सो ठाउँमा भ्यु टावर निर्माण गर्न लागिएको हो । उद्यान निर्माण गर्नेसमेत योजना रहेको वडाध्यक्ष तुलसीराम सापकोटाले बताए ।

भ्यु टावरबाट दमौली उपत्यका, मिर्लुङकोट, छिम्केश्वरी डाँडा, तनहुँसुर दरबार, क्यामिनकोट, श्याम्घाको गलेखामकोट, मानहुँकोट, मादी उपत्यका, कलेस्ती उपत्यका, फराकचौर उपत्यका, गजौडे उपत्यकाका साथै कास्कीको नेपालपाखाको समेत दृश्यावलोकन गर्न सकिनेछ । ‘भ्यु टावर र व्यवस्थित उद्यान बनाउन सकिए आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिन्छ,’ उनले भने । सो ठाउँमा रुद्रदेवीको मन्दिरसमेत छ । वडा कार्यालयले मन्दिर जीर्णोद्धार गर्ने तयारी गरेको छ । (रासस)

प्रकाशित समय १७:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु