गृहपृष्ठ विराटनगरको धुलाेले मानवीय स्वास्थ्यमा गम्भीर असर

विराटनगरको धुलाेले मानवीय स्वास्थ्यमा गम्भीर असर

पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे । यो विराटनगरका सडकको नियती हो । यो नियती अझै फेरिन सकेको छैन । जनताले पाउने कष्ट र उनीहरुको स्वास्थ्यमा विचार नगरी अझै सुस्त निर्माण कार्यले गति लिन सकेको छैन ।

सडक नालाहरु बनाउने क्रममा उत्पन्न हुने धुलो धुवाँलाई व्यवस्थित नगरिँदा सर्वसाधारणहरु जोखिम सहन बाध्य छन् । चिकित्सकहरुका अनुसार धुवा धुलोका कारण मानवीय स्वास्थ्यमा प्रत्यक्ष र नकारात्मक असर परिरहेको छ ।

धुलो धुवाँ र सवारी चाप बढेसँगै विराटनगरमा प्रदूषणको मात्रा पनि बढेको छ । वर्षायाममा केही हल्का भएको धुलो धुवाँ हिउँद लागेसँगै बढ्न थालेपछि यहाँका स्थानीय आजित बनेका छन् । विराटनगरमा सिटी रिक्सा चलाउँदै आएका घनश्यनम महतोले विराटनगर महानगरपालिकाले विकासका नाममा विगत दुई वर्षदेखि धुलो आतंक मच्चाइ रहेको आरोप लगाए ।

विराटनगर महानगरपालिकाका अधिकांश सडक खनिएको र ति सडकहरु व्यवस्थित नहुँदा धुलो धुँवाले हैरान बनाएको महातोले बताए । उनले भने, ‘विराटनगरमा यति धेरै धुलो उड्छ विहान बजार आएर बेलुका घर पुग्दा चिन्नै नसकिने अवस्थामा पुगिन्छ ।’

उनले विराटनगर महानगरपालिकाले भत्काएका सडकहरु चाँडै निर्माण नगर्दा धुलो आतंक फैलिरहेको आरोप लगाए । महतोले विराटनगरका होटल तथा पशलहरुमा धुलोकै कारण स्वस्थ्य खानेकुरा नपाइने गरेको दावी गरे । धुलोले धेरै नगरबासीहरुमा विभिन्न कसिमका स्वास्थ्य समस्या उत्पन्न हुने गरेको उनले बताए । महानगरले तत्काल यस तर्फ ध्यान दिनुपर्ने महतोको माग छ ।

त्यस्तै विराटनगरका व्यवसायी घनश्यामकुमार शाहले विराटनगरको अत्याधिक धुलोले व्यापार व्यवसाय गर्न समस्या परिरहेको गुनासो गरे । ‘धुलोकै कारण व्यपारमा छैन । दिनहँु विराटनगर बजार धुलोले कुहिरीमण्डल जस्तै देखिन्छ,’ शाहले न्युज कारोबारसँग भने, ‘महानगरपालिका विकास निर्माणको काम चाँडै सम्पन्न गर्नु भन्दा पनि टावर बनाउने तिर अगाडि बढ्दैछ । हामीसँग कर लिएपछि सुविधा दिनु पर्ने हो तर यसो गरेको छैन । अब पनि चाँडै धुलोको समस्या समाधान गरेन भने चुप लागेर वस्नेवाला छैनौं ।’

विराटनगरमा सबैभन्दा बढी धुलोको मारमा ट्राफिक प्रहरीहरु छन् । ट्राफिक व्यवस्थापनमा अहोरात्र खटिएका उनीहरु धुलोकै कारण विभिन्न रोगको शिकार बन्न बाध्य हुँदै आएका छन् । बढी समय सडकमै बिताउनु परेकाले धुलोबाट सबैभन्दा बढी उनिहरु नै पीडित छन् । ‘सवारी साधनको चाप अत्याधिक बढेको छ । ट्राफिक प्रहरीले मात्र सबै कम भ्याउनु परेको छ,’ ड्युटीमा भेटिएका जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका ट्राफिक हवल्दार विष्णु गेलालले भने, ‘सडक पहिलो प्रथामिकता भए पनी प्रथामिकता नदिँदा उड्ने धुलोले ट्राफिक व्यवस्थापन र स्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ ।’

यता विराटनगर महानगरपालिकाले भने धुलो न्यूनिकरणका लागि बेला बेलामा पानि छर्ने गरिएको बताएको छ । विराटनगर महानगरपालिकाका प्रवत्ता राजेन्द्र प्रधानले विराटनगरमा हाल एसियाली विकास बैंकको परियोजना अन्तर्गत सडक र ढल निर्माणको काम भइरहेकाले विभिन्न सडकहरु भत्काइएको र निर्माण कार्य जारी रहेकाले केही हदसम्म धुलो बढ्नु स्वभाविक भएको बताए । उनले धुलो न्यूनिकरणका लागि बेलाबेलामा सडकमा पानि छर्किरहेको दावी गरे ।

धुलोमा उडेका प्रदुषणका कणहरु फोक्सोको नलीमा गएर जम्ने गर्छन्, जसले दीर्घकालमा स्वास्थ्यमा ठूलो खतरा निम्त्याउँछ । पछिल्लो समय यस्तो प्रदूषणका कारण फोक्सो, मुटु, आँखा र छालाका रोगको जोखिम बढेको छ । वायु प्रदूषणले रुघाखोकी, ब्रोनकाइटिस, सि.ओ.पी.डि, दम, निमोनिया, छातीमा पानी जम्ने, छातीको क्यान्सर हुने जस्ता रोगहरु बढेका छन् ।

विराटनगरको कोशी अञ्चल अस्पतालमा गएको वर्ष भर्ना भएका १७ हजार ७ सय ३३ बिरामी मध्ये ८५३ जना निमोनियाका छन् । जसमा ३ जनाको मृत्यु भएको तथ्यांक छ । त्यस्तै अन्य रोगहरु ब्रोनकाइटिसका ११ जना, दमका ५५ जना, छातीमा पानी जम्ने ४९ जना र सि.ओ.पी.डिका करिब ४ सय जना बिरामी भर्ना भएका छन् । गत वर्ष सि.ओ.पी.डिका कारण भर्ना भएका १० जना बिरामीको मृत्यु भएको छ ।

गएको दुई वर्षयता विराटनगरमा धुलो धुवाँले बिरामीको मात्रा बढेको जानकारी दिँदै कोशी अञ्चल अस्पतालका छाती रोग विशेषज्ञ डा. पुरु कोइरालाले यसबाट बच्न धुलो धुवाँ भएको ठाउँमा जान कम गर्नुपर्ने बताए ।

प्रकाशित समय १७:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु