गृहपृष्ठ तुइन हटाइएका स्थानमा धमाधम झोलुंगे पुल
तुइन हटाइएका स्थानमा धमाधम झोलुंगे पुल
‘सबै ठाउँका तुइन हटाउन असम्भव’
प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो कार्यकालमा गरेको तुइन विस्थापनको काम अन्तिम चरणमा पुगेको छ । २०७२ साल असोज २५ गते ओलीले दुई वर्षभित्र तुइन हटाउने घोषणा गरेका थिए । ‘केही समयपछि फोटो खिच्नलाई तुइन नभेटिने’ बताएका उनले सोही अनुसार काम नभएपछि अहिलेको कार्यकालमा तुइन हटाएर झोलुङ्गे पुल बनाउने योजनालाई प्राथमिकता दिएका छन् ।
प्रधानमन्त्री ओलीले पहिलो पटक प्र्रधानमन्त्री हुँदा सो कार्यकालको पहिलो मन्त्रिपरिषद् बैठकबाट २ वर्षभत्र तुइन हटाउने निर्णय गराएका थिए । त्यतिबेला देशभरबाट तुइनको विवरण संकलन गर्दा १ सय ८७ ठाउँमा तुईन रहेको भेटिएको थियो । त्यसको तीन वर्षपछि अहिले १ सय १० वटा तुइन पूर्ण रुपमा विस्थापन भएको र २० वटा तुइन विस्थापनको अन्तिम चरणमा रहेको सडक विभाग पुल महाशाखाले जनाएको छ ।
तुइन हटाएर गत आर्थिक वर्षमा ७५ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न गरिएको पुल महाशाखाका प्रमुख अर्जूनजंग थापाले जानकारी दिए । उनले भने, ‘सबै ठाउँका तुइन हटाउने प्रयास अन्तिम चरणमा छ, यो बर्ष करिब सबै स्थानमा झोलुङ्गे पुल बनाउने लक्ष्य छ, त्यसपछि तुइन स्वतः विस्थापित हुन्छ ।’
उनका अनुसार अहिले २० वटा झोलुङ्गे पुल निर्माणको चरणमा छन् । तीमध्ये सस्पेन्सन बृजले १५ र जिल्ला समन्वय समितिबाट ५ वटा निर्माण भैरहेका छन् । बाँकी ५७ वटा तुइनमध्ये ३० भन्दा बढीमा बोलपत्र आह्वान गरी निर्माणको चरणमा रहेको पुल महाशाखाको भनाइ छ । एउटा झोलुङ्गे पुल बन्न कम्तिमा एकदेखि डेढ वर्ष लाग्छ । यसरी तुइन विस्थापन गर्न बाँकी ५७ मध्ये ३० वटा ठाउँमा झोलुङ्गे पुल बनाउने काम भइरहेको छ । यी झोलुङ्गे पूल यही वर्षभित्र निर्माण सम्पन्न हुने पुल महाशाखाले जनाएको छ ।
१६ ठाउँमा पुल बनाउन चुनौती
प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणाअनुसार तीन वर्षभित्र सबै तुइन विस्थापित हुन नसक्नुमा प्राविधिक र भौगोलिक कारण रहेको बताइएको छ । भौगोलिक कठिनाइका कारण १६ ठाउँका तुइन तत्काल विस्थापित गर्न नसकिने पुल महाशाखाले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । विभिन्न दुर्गम जिल्लाका खोला तथा नदीको खोचमा पुल बन्नका लागि चाहिने संरचना अहिले नभएको महाशाखाको भनाइ छ । त्यस्ता ठाउँमा तुइन पनि निकै मुस्किलले बनाइएको थियो । गोरखा, बाजुरा, दार्चुला बैतडीलगायत जिल्लामा रहेका १६ भन्दा बढी तुइन हटाएर झोलुंगे पुल निर्माण गर्न असम्भव देखिएको महाशाखाले बताएको छ । ती ठाउँमा तुइन हटाएर के गर्ने भन्नेबारे छलफल भइरहेको महाशाखा प्रमुख थापाले बताए ।
९ तुइन विस्थापित गर्न भारतको बाधा
भारतसँग सीमा जोडिएका दार्चूला र बैतडीलगायतका क्षेत्रमा तुइन विस्थापन गर्न भारतले अवरोध गरेको जानकारहरु बताउँछन् । बैतडीको महाकाली नदीमा मात्रै ५ वटा तुइन छन् । दार्चुलाको ४ र बैतडीको एक गरी ५ ठाउँमा भारत सरकारबाट निर्माणको सहमति आउँन बाँकी छ । ती तुइन विस्थापन गरेर पुल निर्माण गर्दा सुरक्षा चुनौती हुने आशंकामा भारतले नदिएको दार्चुलाका प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना बताउँछन् । चुनावअघि ठगुन्नाले महाकालीमा पक्की पुल निर्माण गरिदिने वाचा गरेका थिए ।
त्यसपछि जनमत उनको पक्षमा आएर चुनाव जिते पनि प्रतिबद्धता पूरा गर्न चुनौतीपूर्ण देखिएको उनको भनाइ छ । ‘भारतले मौखिक रूपमा पुल निर्माणका लागि सहमति दिने बताएको छ, तर त्यहाँको स्थानीय प्रशासनले कुनै प्रक्रिया अघि बढाएको छैन,’ उनले भने, ‘यहाँको जनप्रतिनिधीको हैसियतले मैले केन्द्र, प्रदेश र स्थानीय सरकारलाई पुल निर्माण गर्न दबाब दिए पनि भारतको अवरोधले काम अल्झिएको छ ।’
भौगोलिक रुपमा विकट ती क्षेत्रमा पुल नुहुँदा जनजीवन कष्टकर छ । स्थानीय स्तरमा भरपर्दो उपचार सेवा नहुँदा भारत जानुपर्ने बाध्यता छ । गर्भवती महिला र अरु बिरामीलाई समेत तुइन तारेरै जिल्ला अस्पताल वा भारतका विभिन्न सहरमा लैजानुपर्ने बाध्यता रहेको सांसद ठगुन्ना बताउँछन् । लाली, बसेडी, बर्तीघाट, बाँकु, कालागाड, मालघाट, बडगाउँलगायतका क्षेत्रमा तुइन विस्थापन गर्ने काम अघि बढेको उनले बताए ।
प्रकाशित समय १४:२५ बजे

















