गृहपृष्ठ त्यो अन्तिम यात्रा
त्यो अन्तिम यात्रा
मंसिर ९ गते (२०६८) । भर्खर कोठामा पुगेको थिएँ । बेलुका ८ बजेतिर विजय दाइको फोन बज्यो । ‘डीआर ! मैले भन्न अघि भन्न बिर्सेछु । भोलिदेखि हामी पूर्व–पश्चिम यात्रामा जान्छौं है ।’
म अलमल्ल परेँ । पाटन कलेजमा इकोनेट (इकोनोमिक्स स्टुडेन्ट नेटवर्क) को कार्यक्रम थियो । जानकारी गराएँ । दाइ कड्किहाल्नुभयो– ‘त्यसो भनेर हुन्छ, जिल्ला ब्युरो प्रमुख भएपछि जिल्ला दौडाहामा जान्न भन्न पाइन्छ ?’
म स्पष्ट थिएँ । विजय दाइले भन्यो त भन्यो । डिफेन्स गर्न सकिन्न । ‘हुन्छ दाइ, बिहान कतिबेला कहाँ आइपुग्नु ?’
‘बिहान १ घण्टाजति अगाडि कल गर्छु ।’
‘हवस दाइ ।’
म रन्थनिएँ । बेलुका ८ बजे फोन गरेर ‘भोलिदेखि सात दिनजतिका लागि जिल्ला जानुपर्छ’ भन्ने कडा निर्देशन आएको थियो । त्यो पनि बिहानै हिँड्नुपर्ने । राति नै ब्याग तयार पारेँ र सुतेँ ।
बिहान ६ नबज्दै फोन आयो । भर्खर उठ्दै थिएँ । ‘डीआर ! तपाईं बसमा आउनुस् ल चितवनसम्म । मेरो गाडीमा नअटिने भयो ।’ जाने तयारी गरी नै सकेको थिएँ । केही नसोची ‘हुन्छ दाइ’ भनेँ ।
फ्रेस भएर ब्याग बोकेँ । कोटेश्वर टु रत्नपार्क, रत्नपार्क टु कलंकी अनि कलंकी टु चितवनको यात्रा पूरा गरेँं । पुल्चोकमा बोलावट भयो । नारायणी खोलाकिनारमा भेट भयौं । कारोबार दैनिकका प्रबन्ध निर्देशक शिशीर भट्ट पनि त्यहीँ हुनुहुँदोरहेछ । एकछिनको भलाकुसारीपछि शिशीर सरले भन्नुभयो– ‘विजय ! मेरो गाडी (स्कर्पियो) लिएर जाऊ, म तिम्रो गाडी (स्यान्ट्रो) लान्छु । लामो दूरीमा मेरो गाडी सजिलो हुन्छ ।’

हामी नारायणी तरेर पश्चिमतर्फ लाग्यौं । गाडीमा म र विजय दाइसहित राधिका ढकाल, प्रकटकुमार शिशिर, लीला घिमिरे, युवराज कार्की र गुरुजी थियौं । गाडी हुँकिएको थियो । घाम निकै माथि छँदै बुटवल पुग्यौं । बुटवल टुडेको कार्यालय अवलोकन गर्यौं । साँझपख बुटवल आसपासका जिल्ला संवाददातासँग भेटघाट कार्यक्रम पहिल्यै तय भएको थियो । त्यसको संयोजन रुपन्देही संवाददाता मनोरञ्जन शर्माले गरेका थिए । जिल्ला संवाददातासँग अनुभव आदानप्रदानपछि त्यो रात हामी रुपन्देहीमै बस्यौं ।


भोलिपल्ट ११ गते हामी बुटवलबाट नेपालगन्जका लागि प्रस्थान गर्यौं । बाटोभर विजय दाइ रिसाइरहनुभएको थियो । कारण मलाई थाहा थिएन । म कारण खोज्नतिर पनि लागिन । विजय दाइ लामो समय रिसाएको त्यसअघि मलाई थाहा थिएन । बीचमा धेरै ठाउँ आफैं गाडी ड्राइभ गरिरहनुभएको थियो । धेरैजसो समय मौन बस्नुहुन्थ्यो ।
हामी मध्याह्नतिर दाङ पुग्यौं । घोराहीको एउटा होटलमा खाना खान बस्यौं । खानासँग धेरै पाकेको साग आयो, त्यो पनि थोरै–थोरै मात्र । विजय दाइले तत्काल साग ल्याएर ओल्स्याउन लगाउनुभयो । दाइले कडा स्वरमा भनेको भएर पनि हुनसक्छ, होटलवाला चुपचार साग पकाउनतिर लाग्यो । मंसिर महिना । पस्किएको भात अगाडि राखेर हामीले धेरैबेर साग कुर्यौं, विजय दाइसँगै । पछि खाना सेलाएर चिसो भइसकेछ । साग ल्याउनेले फेरि गाली खायो किनकि साग हल्का पकाउनु भनेको पूरै पकाएर ल्याएछ । दाङ संवाददाता गोपाल शर्मा भट्टराईतिर हेर्दै भन्नुभयो– ‘घोराहीमा अलि गतिला होटल थिएनन् ?’ उनी केही बोलेनन्, फिस्स हाँसेमात्र ।
उहाँको अधकल्चो साग खाने चाहना पूरा भएन । मैले भनेँ– ‘दाइ ! चिन्ता नलिनुस्, हाम्रोमा ओइरिनेबित्तिकै झिकेर खानुपर्छ ।’ १५ गते झापाको सुरुंगास्थित हाम्रो घरमा बिहानको खाना खाने तयारी थियो । विजय दाइले चुपचाप मतिर हेर्नुभो । म पनि चुप्प लागेँ ।
नेपालगन्ज पुग्दा साँझ परिसकेको थियो । नेपालगन्ज संवाददाता सिराज खाँसँग भेटघाटपछि हामी खाना खान सिद्धार्थ कटेज पस्यौं । त्यहाँ विजय दाइको रिस उत्कर्षमा पुगेको थियो । खाना खाउन्जेल गफ गरेर हामी हाँस्दा पनि उहाँ रिसाउँदै हुनुहुन्थ्यो ।
मैले एकपटक डराइडराइ सोधेँ– ‘दाइ ! खास समस्या के हो ? किन अलि धेरै रिसाइरहनुभएको छ नि !’ दाइले मतिर हेर्नुमात्र भयो । केही बोल्नु भएन । फेरि सोधिन ।
नजिकैको होटलमा बास बस्न गयौं । सिराजजीले बन्दोबस्त मिलाइसकेका थिए । दाइको रिसको पारो झन् बढेको थियो । केहीबेर त्यही विषयमा गफ भयो । मैले लीलालाई साधें– ‘खासमा के भएको थियो यार ?’
‘खै, मलाई पनि केही थाहा छैन ।’
भन्न नचाहेका हुन् या नभनेका हुन्, मैले दोहोर्याएर उनलाई पनि सोधिन । रात छिप्पिसकेको थियो । हामी सुत्यौं ।
बिहान नेपालगन्जको भेटघाट सकेर हामी धनगढी जाने योजना क्यान्सिल गर्दै पूर्वतिरै फर्कियौं । बुटवल फर्किंदा दाइले नै गाडी चलाइरहनुभएको थियो । सडकछेउको एउटा अति नै सामान्य होटलमा रोक्नुभयो । होटल (टहरो)को नजिकै रोपेको साग टिपेर ल्याउन लगाउनुभयो । आफैं पखालेर चुँड्नुभयो र पकाउनुभयो । फलामको कराइमा । त्यतिबेलासम्म खाना पाकिसकेको थियो । ‘तीन दिनदेखिको अधकल्चो साग खाने चाहना बल्ल पूरा भयो दाइको,’ मैले भने । अरु हाँसे । दाइले मतिर हेर्नुमात्र भयो । साग र भातले मुख टम्म थियो ।



सागभात खाएपछि पनि दाइले आफैं गाडी कुदाउनुभयो । जंगलको बाटो । ‘नेपाल बन्द’ थियो । लमतन्न सडक सुनसान थियो । हामी खासै कुरा गरिरहेका थिएनौं । दाइले पनि मौन व्रत जारी राख्नुभएको थियो । गाडी हँुइकिरहेको थियो । कपिलवस्तुमा सहकर्मी सञ्जय पन्थी शोकमा थिए । जाँदा पनि भेटेर गएका थियौं । फर्किंदा पनि पस्यौं । समवेदना प्रकट गरेर हामी बाटो लाग्यौं ।

दाइले गाडीको चाबी गुरुजीलाई दिनुभयो । हेटौंडामा संवाददाता रुपेश दुलाललाई सप्लिमेन्ट नै निकाल्ने गरी राउन्ड टेबलको तयारी गर्न लगाइएको थियो । विजय दाइले आफैं फोन गर्नुभयो, आवश्यक निर्देशन दिनुभयो । अगाडि राधिका बसेकी थिइन् । बीचमा विजय दाइ, म र युवराज थियौं । पछाडि प्रकट र लीला । गाडीको गति तेज थियो । जंगल छिचोल्न कुनै समय लागेन ।
सालझन्डी चोक/बजारभन्दा करिब ५ सय मिटर पश्चिमको सामान्य ओह्रालो पार गरिसकेपछि गाडीको स्पिड फेरि बढ्यो । हामी आफ्नै सुरमा थियौं ।
रुपेशजीलाई फोन गरिसकेपछि दाइ एकदम शान्त देखिनुभयो । चप्पल लगाउनुभएको थियो । गाडीको बायाँ साइटमा म थिएँ, बायाँ साइटमा दाइ, बीचमा युवराज । म उहाँतिरै हेरिरहेको थिएँ । तीन दिनदेखिको रिस उहाँको अनुहारबाट हराइसकेको आभाष भयो । मैले विजय दाइलाई अर्कै देखेँ । अनुहारमा रिसको क्लेषसम्म बाँकी थिएन ।
सालझन्डी आइपुग्न करिब पाँच सय मिटर बाँकी थियो । दाइले चप्पल खोल्नुभयो । पलेँटी कस्नुभयो । हात बाँध्नुभयो र आँखा चिम्लिनुभयो अनि कहिल्यै खोल्न पाउनुभएन । त्यतिबेलै गाडी पल्टियो । उहाँको भौतिक शरीरले हाम्रो साथ त्यतिखेरै छाड्यो । दुर्घटनास्थलमै ।
०००
सबै फात्तफुत्त बाहिरिए तर म उठ्न सकिनँ । गाडीभित्रै घोप्टिरहेको थिएँ । शरीर क्षतविक्षतझैं भएको थियो । पेटको देब्रे भागतिर धसारिएको चोटले कम्मरभन्दा मुनि चल्न सकेको थिएन । छातीमा पाँच मनको भारी राखिदिएजस्तो भएको थियो । हातको सहाराले टाउको उठाएर यताउता हेर्ने प्रयास गरें ।
छाती बेजोडसँग चड्किरहेको थियो । स्वासको गति बढेर आवाजसहित बाहिरिँदै थियो । होस कत्ति पनि गुमेको थिएन । हातले कपालका केस्रा–केस्रा छाम्न खोजें– टाउकोमा कतै चोट लागेनछ । अलि ढुक्क लाग्यो । टाउको यताउता घुमाएर हेरें– मानिसहरू अत्तालिँदै दौडिरहेका थिए । राधिकालाई महिलाहरूले झरप्पै घेरेका थिए । उनी हिँक्क–हिँक्क गर्दै थिइन् । हातले कम्मर समातेर अलि पर युवराज उभिरहेका थिए ।
एक्कासि मन निक्कै अत्तालियो । आवाज मिश्रित स्वास जोड–जोडले वायुमण्डलतिर हुइँकिन थाल्यो । नजिकै उभिइरहेका दुईजना बहिनीले डराउँदै–डराउँदै समाए– ‘के भयो ?’ म बोल्न सकिनँ । मैले विजय दाइ र लीलालाई देखिरहेको थिइनँ ।
मलाई गाडीबाट झिकेर सडक किनारामा राखिएको थियो । टाउको अलि निक्कै घुमाएर पूर्वतिर फर्किएँ । देब्रे गालो गिट्टीमा नमज्जाले मडारियो, तातो भयो । पर सडकमा विजय दाइ लामो भएर उत्तानो परेको देखें । चटपट थिएन । सडकमा रगत धेरै पोखिएको थियो । लीलाले समातिरहेका थिए । मन एक तमासाको भयो । टाउको सोझ्याएँ– ‘ला ! दाइलाई ठूलै चोट लागेछ… ।’ छातीको बेग झनै बढ्यो ।
हामीलाई बसमै राखेर लुम्बिनी अञ्चल अस्पताल पुर्याइयो । अरू हिँड्न सक्ने साथीहरू स्ट्रेचरमा बस्दै जाँच गर्दै ओर्लंदै गरेको देखेँ । तर, विजय दाइलाई देखिनँ । मेरो शरीर चलिरहेको थिएन ।
एकैछिनमा हामीलाई एम्बुलेन्समा राखियो । मलाई युनिभर्सल मेडिकल कलेज भैरहवा रेफर गरिएको रहेछ । कम्मरको झड्का कान छिचोल्दै मस्तिष्कतर्फ रफ्तार लिइरहेको थियो । एउटा सिटमा स्लाइन झुन्ड्याएर मलाई सुताइयो, अर्कोमा प्रकट, राधिका र लीला बसे । अगाडिको सिटमा युवराज ।
‘खै त विजय दाइ…?!’ म लीलातिर फर्किएँ । राधिका सुक्क–सुक्क गर्दै थिइन् । प्रकट केही नबोली एकटकले मतिर हेरिरहेका थिए । ‘दाइलाई बचाउन सकिएन’ बडो गम्भीर भएर लीलाले भने ।
छाती ढक्क फुल्यो । कम्मरको चोट चरम भयो । शरीर बटारियो । मन आत्तियो । एकसाथ सबै अंग शान्त भएझैं लाग्यो । सम्पूर्ण अवयव निष्काम प्रतीत भयो… ।
काममा दत्तचित्त रहने, आफूलाई बढी विश्वास गर्ने, पत्रकारिताको मर्यादालाई ख्याल गर्ने, आवश्यक पर्दा अत्यन्तै कडा स्वभाव देखाउन सक्ने तर दयालु प्रवृत्तिका विजय दाइलाई हामीले गुमाएका थियौं । मन निचोरिएर आँखाबाट पोखिन थाल्यो । सालझण्डीको सडकमा लम्पसार परेको याद आयो ।
त्यही यात्रा उहाँसँगको अन्तिम यात्रा बन्यो ।

(तस्बिरहरू : प्रकट शिशिरको फेसबुकबाट)
प्रकाशित समय १५:५४ बजे

















