गृहपृष्ठ पारिवारिक रुपमै ट्याटुको प्रयोग
पारिवारिक रुपमै ट्याटुको प्रयोग
ट्याटु कलाकारको कमाइ : प्रतिमहिना लाख भन्दा बढी
कुनै समयमा जाति विशेषले परम्परागत रूपमा खोप्ने गरेको ट्याटु आजभोली समाजका हरेक जसो समुदायलाई सोखको विषय बनेको छ । समाजमा राम्रो र नराम्रो दुवै दृष्टिले व्याख्या विश्लेषण हुँदै आएको ट्याटु पछिल्लो समय युवामाझ विस्तारै लोकप्रिय हुँदै गएको छ । पछिल्लो समय यसलाई पारिवारिक रुपमै स्वीकार गरी यसलाइ अबलम्वन गर्न थालेको उदाहरण पनि देखिँन थालेका छन् ।
ट्याटुको प्रयोग वारिवारिक रुपमा हुन थालेसँगै यसको ‘क्रेज’ बढ्दै गएको गगन ट्याटु ईन एण्ड प्रिन्टिङका सञ्चालक गगन थापाले बताए । छोरा छोरीलाई कुनै बाबु आमाले पहिला ‘ट्याटु हान्दा’ त्यसको टिका टिप्पर्णी गरे केही अभिभावकहरुले समेत आफ्नो पविारकै साथमा ट्याटु खोप्ने गरेको थापाले जानकारी दिए ।

पछिल्ला केही वर्षदेखि ट्याटु सोखका रूपमा मात्र नभई कतिपयका लागि ‘प्रिय उपहार’मा रूपान्तरित हुँदै गएको छ । ट्याटुलाई मायाको चिनोको रुपमा प्रयोग गर्नेहरूको संख्या विस्तारै बढ्न थालेको गगन ट्याटु ईन एण्ड प्रिन्टिङका सञ्चालक गगन थापाले बताए ।
‘पहिला पहिला ट्याटु खोप्ने मान्छेप्रति नकरात्मक ढंगले हेर्ने गरिन्थ्यो तर पछिल्लो वर्ष यता पारिवारिक रुपमा समेत ट्याटु खोप्ने र अधिकांश मायाको चिनोको रुपमा ट्याटु खोपेर सप्राईज दिने गरेकाछन्,’ उनले भने । आमा, बाबुले छोरा छोरीको, छोरा छोरीले आमा बाबुको, प्रेम र प्रेमीकाले एक आपसमा नाम त केहिले आधा आधा तस्बिर समेत शारीरिका विभिन्न भागमा ट्याटु खोपेर मायाको चिनोको रुपमा प्रयोग गर्न थालेको उनले बताए ।
पोखरा न्यूरोडको नमस्ते हेयर सलुन एण्ड ट्याटु प्रा.लि.का सञ्चालक सुरज राईले पोखरामा ट्याटु व्यवसाय फष्टाउदो रहेको बताए । आफू जस्ता ५ जना युवाबाट २ वर्ष अघिदेखि उक्त व्यवसाय सुरु गरेको उनले बताए । उनी आम्दानीबाट सन्तुष्ट छन् । शम्भु लिम्बुको ट्याटुमा ५ वर्ष काम गरेको अनुभवले हाल स्वरोजगार बन्दै केहीलाई रोजगार समेत दिएको उनले जनाए ।
नमस्ते हेयरबाट ट्याटु खोप्नुका साथै ट्याटुको ३ महिने र ६ महिने तालिम समेत प्रदान गर्दै आएको राईले जानकारी दिए । पछिल्लो समयमा युवा युवतीको साथमा अन्य उमेर समुहका व्यत्तिहरुको रुचिको विषय ट्याटु भएको उनले बताए । ‘पछिल्लो वर्ष ट्याटु खोप्दा मायाको चिनोको रुपमा व्वाईफ्रेण्डले गल्फ्रेन्डको, गल्फ्रेन्डले व्वाईफ्रेण्डको नाम तथा तस्बिर, आफन्तको नाम तथा तस्बिर खोप्ने गरेको पाईन्छ,’ उनले भने ।

नेपालमा पनि धार्मिक विश्वासका आधारमा मगर, गुरुङ, नेवार, थारू, तामाङ लगायतका समुदायमा ट्याटु खोप्ने परम्परा पहिलेदेखि चलिआएको हो । पछिल्लो समय यो परम्परासँगै फेसनको रुपमा फस्टाउदै ट्याटु क्रेज समाजका धेरै क्षेत्रलाइ प्रभावित पार्न थालेको छ । ट्याटु खोप्दा रोग, दुःख र शत्रुले आक्रमण गर्न नसक्ने धार्मिक जनविश्वास समेत रहेको पाईन्छ ।
नेपालमा ट्याटु व्यवसायको इतिहास अन्य देशको तुलनामा ढिलो भएको पाईन्छ यद्यपी ट्याटु क्रेजले गर्दा हिजो-आज यो व्यवसाय नेपालका मुख्य शहरहरुमा व्यवसायिक रुपमा ट्याटु आर्टिस्ट स्थापना भएको हो । सामान्यतया एक राम्रो ट्याटु खोप्ने कलाकारले मासिक ४० हजारदेखि एक लाख भन्दा बढी आम्दानी गर्छन् । प्रति ट्याटु एक हजारदेखि लाखसम्म शुल्क लिने गरेको पाइन्छ ।
केहीले भगवानको तस्बिर, मन पर्ने मानिस, ओम, लक सिग्नल, फूल, जनावर, ग्राफिक डिजाईन, जापानिज डिजाईन लगायतका विभिन्न आकृतिमा शरीरमा विभिन्न भागमा ट्याटु खोप्ने गरेको उनले बताए । पहिला एकाध महिलाहरु ट्याटु खोप्ने गरे पनि पछिल्लो समयमा महिला पुरुष लगभग बराबरी जस्तै ट्याटु क्रेज बढेको ट्याटुनिस्ट थापाले बताए ।
ट्याटुनिस्ट (कलाकार) मोहन गुरुङबाट प्रेरित भई डेढ दशकदेखि पोखराको लेकसाईड र काठमाडौंको ठमेलमा ट्याटु व्यवसाय सञ्चालन गर्दै आएका थापाले ट्याटु व्यवासायबाट सन्तुष्टी पाएको बताए । उनले मासिक एक लाख भन्दा बढी स्वरोजगारको रुपमा आम्दानी मात्र गरेका छैनन् करिब २० जना ट्याटु व्यवसायी कलाकार समेत उत्पादन गर्न सफल भएका छन् । पोखरामा उनले ५ र काठमाडौंमा ४ जना गरी ९ जनालाई रोजगारी समेत दिएका छन् ।
धैर्यताका साथ निरन्तर एउटै व्यवसायमा कटिवद्ध भएर लागेका कारण आज देश विदेशबाट धेरैले आफ्नो नाम र संस्थाको नाम खोज्दै ‘ट्याटु हान्न’ आफू सामु आउने गरेको थापा बताउँछन् । थापालाई उनकै भाई तुल बहादुर थापाले सहयोग गर्दै आएका छन् । तनहुँ जन्म घर भएका थापा पोखराको रामबजारमा बसोबास गर्दै आएका छन् भने उनले नेपालको पर्यकीय क्षेत्र लेकसाईड र ठमेलमा उक्त व्यवसाय सञ्चालन गरेसँगै यसबाट थप पर्यटन प्रबर्द्धन समेत हुने गरेको बताए । राम्रो ट्याटु खोप्ने कलाकारले मासिक एक लाख सहज ढंगले कमाउन सक्ने कलाकार थापाको दाबी छ ।
कतिपय अवस्थामा शवको पहिचान ट्याटुबाट समेत हुने गरेको उनले दाबी गरे । युद्धमा सैनिक मारीँदा, ठूलो दुर्घटना हुँदा, हवाई दुर्घटना हुँदा, धेरै मान्छेहरु भएको ठाँउमा हुने दुर्घटनाबाट अंगभङ्ग हुदा पनि शरीरमा भएको ट्याटु हेरेर पहिचान गर्न सहज हुने गरेको उनले जानकारी दिए ।
‘हरेक विकास पाश्चात्य मुलुकबाट आए झैँ आधुनिक ट्याटु पनि पश्चीमी मुलुकबाट आएको हो, यसलाई हामीले कसरी प्रयोग गर्ने भन्ने कुरा हाम्रो देशको कुरा हो,’ उनले भने, ‘यसलाई हामीले अर्थपूर्ण ढंगमा प्रयोग गर्नु पर्छ ।’ ट्याटुले शरीरमा भएको अंगको दाग छोप्ने, जनै खटिराका विरामीलाई र कपाल नभएको स्थानमा समेत ट्याटु प्रयोग गर्ने गरेको उनले जानकारी दिए ।
पोखरामा करिब तीन दर्जनको हाराहारीमा ट्याटु प्रिन्टिङ व्यवसायी छन् । विशेष गरी जाडो भन्दा गर्मी मौसममा ट्याटु खोप्ने र बजारमा ट्याटु पर्दशन गर्ने गरिन्छ । नेपालमा प्रयोग हुने ट्याटुका अधिकांश रंग सहितका सामानहरु चीनबाट आउँछन् । ट्याटुनिस्ट थापाले भारत, थाईल्याण्ड र सिंगापुरसम्म ट्याटु सम्मेलनमा सहभागि भई विभिन्न देशका ट्याटुको बारेमा मसिनो गरी अध्ययन गर्ने अवसरमा समेत पाईसकेका छन् । आफूहरुले खोपेको कुनै पनि ट्याटु २० बर्षसम्म वारेन्टी हुने उनले दाबी गरे ।
प्रकाशित समय १७:२१ बजे

















