गृहपृष्ठ चीनले सगरमाथा आरोहणमा तोक्यो सीमा
चीनले सगरमाथा आरोहणमा तोक्यो सीमा
हरेक वर्ष सगरमाथा आरोहण गर्नेहरूको संख्या लगातार बढ्न थालेपछि चीनले उत्तरी मोहडाबाट सगरमाथा आरोहण गर्न सीमा तोकेको छ । सगरमाथा आरोहणका दुई मोहडाहरूमध्ये दक्षिणी मोहडा नेपालतर्फ पर्छ । उत्तरी मोहडाबाट सगरमाथा सफाइ गर्नका लागि आरोहीका संख्या तोकिएको चीनका आधिकारिक सञ्चार माध्यमले जनाएका छन् ।
कुल ८८५० मिटर (नेपालमा भने ८८४८ मिटर भनिन्छ) उचाइको सगरमाथा आरोहणका लागि ३०० भन्दा कम संख्या तोकिएको छ । सरसफाइअन्तर्गत सगरमाथामा रहेका मृतशरीर र अन्य फोहर संकलन गरिने जनाइएको छ।
तिब्बततर्फ हरेक वर्ष ६० हजार आरोही र माउन्टेन गाइडहरू पुग्ने गर्छन । सगरमाथालाइ चीनमा माउन्ट छोमोलङ्मा भनिन्छ । चीनले बेसक्याप नजिकै सगरमाथामा संकलित क्यान, प्लास्टिकका थैला, स्टोभका उपकरण, टेन्ट र अक्सिजन ट्यांकहरू छनोट, वर्गीकरण र टुक्र्याउनका लागि केन्द्रहरू स्थापना गरेको छ ।
चीनले ५१०० मिटरसम्म पुगेर सगरमाथाका फोहर संकलन गर्ने अभियान चलाएको छ । आरोहीहरूले सगरमाथा विश्वकै अग्लो डम्पिङ साइट भएको बताउन थालेका छन् । एक अध्ययनअनुसार सगरमाथामा झन्डै ३०० आरोहीहरूका शव अलपत्र छ ।
यसैबीच नेपालतर्फबाट माउन्टेनिरिङ एक्पेडिसनहरूले पनि गर्मी याममा आरोहणयामका लागि ठूल्ठूला फोहर संकलन गर्ने थैलीहरू पठाउन सुरू गरेका छन् । ती ब्यागहरूमा फोहर संकलन गरी हेलिकप्टरमार्फत बेसक्याम्पमा झारिने अभियन्ताहरूले बताएका छन् ।
नेपाली आरोही शेर्पाहरूले पनि सगरमाथा सफाइका लागि नेपालतर्फका मोहडाबाट आरोहणमा विश्राम दिनुपर्ने बताएका छन् । सगरमाथामा बाटो बनाउन जाने शेर्पाहरुले फर्किँदा फोहर ल्याउने बताएका छन् ।
प्रकाशित समय १५:२७ बजे

















