गृहपृष्ठ बिर्तामोड महोत्सवमा ९ क्विन्टल मार्सी चामल बिक्यो, व्यापारी भन्छन्- दुर्गा प्रसाईँले ब्राण्ड नै बनाइदिनुभयो
बिर्तामोड महोत्सवमा ९ क्विन्टल मार्सी चामल बिक्यो, व्यापारी भन्छन्- दुर्गा प्रसाईँले ब्राण्ड नै बनाइदिनुभयो
झापाको बिर्तामोडमा माघ ११ गतेदेखि सञ्चालित ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा दुई लाख ५२ हजार रुपैयाँ बराबरको जुम्लाको मार्सी चामल बिक्री भएको छ ।
‘हिमाली प्रोडक्ट ट्रेडिङ सेन्टर’ले महोत्सवमा नौ सय किलो मार्सी चामल बिक्री गरेको हो । अवलोकन तथा किनमेल गर्न आउनेमध्ये अधिकांशको रोजाइमा मार्सी चामल हुने गरेको कक्षकी गंगादेवी राउतले बताइन् । राउतका अनुसार काठमाण्डौमा रहेको त्यस सेन्टरले मार्सी चामल भण्डारण गरी देशैभर बिक्री वितरण गर्दै आएको छ ।
‘पहिले मार्सी चामलबारे थाहा पाएकाहरुले मात्र किन्थे, अहिले झापाका दुर्गा प्रसाईंले यसलाई ब्राण्ड नै बनाइदिनुभयो’, उनले भनिन्, ‘उहाँले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्सी चामलको भात खुवाएपछि बिक्री बढेको हो ।’
पूर्वको प्रमुख व्यापारिक शहर बिर्तामोडलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यले आयोजित महोत्सवमा करीब दुई करोड रुपैयाँ बढीको कारोबार भएको आयोजक समितिका उपाध्यक्ष प्रकाश शिवाकोटीले जानकारी दिए ।
महोत्सवमा घरेलु उत्पादनका साथै भारत, बंगलादेश र पाकिस्तानका उत्पादन एउटै छातामुनि पाइएकाले आन्तरिक तथा बाह्य पर्यटनका लागि पनि यो महोत्सव एउटा आधारका रुपमा प्रस्तुत भएको उनको भनाइ थियो । महोत्सव बुधबार सकिँदैछ ।(रासस)
प्रकाशित समय ०९:३७ बजे

















