गृहपृष्ठ अन्नपूर्ण केबलकारको ७० प्रतिशत काम सम्पन्न, भदौदेखि सञ्चालन

अन्नपूर्ण केबलकारको ७० प्रतिशत काम सम्पन्न, भदौदेखि सञ्चालन

annapurna-cablecar-newskarobar

पोखरामा निर्माणाधीन अन्नपूर्ण केबलकार भदैदेखि नै सञ्चालनमा आउने भएको छ । नेपाली नयाँ वर्षको अवसरमा परीक्षण गर्ने गरी अन्तिम तयारी तीव्र पारिएको अन्नपूर्ण केबलकार भदौदेखि व्यावसायिक सञ्चालनमा आउने निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए ।

त्रिपाठीका अनुसार आयोजनाको करिब ७० प्रतिशत काम सकिएको छ । पोखराको फेवाताल किनारा र सराङकोटलाई जोड्ने गरी पोखरामा पर्यटनको नयाँ प्रोडक्टको रुपमा अन्नपूर्ण केबलकारलाई विकास गर्न खोजिएको कम्पनीले जनाएको छ ।

केही दिनभित्रै जापानबाट आउने दक्ष प्राविधिकको तीन सदस्य एक टोलीले केबलकार जडानमा सहयोग गर्ने निर्देशक त्रिपाठीले बताए । केबलकार निर्माणका लागि आवश्यक सामग्री पोखरा आइसकेको छ ।

अन्नपूर्ण केबलकार प्रालिका अध्यक्ष कालु गुरुङ हुन् । कम्पनीले ४ करोड मूल्यबराबरको सेयर २ सय ७० जनालाई दिएको छ । केबलकार निर्माणको जिम्मा चितवन कोई समूहले गरिरहेको छ । नेपालमा सञ्चालनमा रहेका मनकामना र चन्द्रागिरी केबलकार जस्तै भए पनि यो केबलकारमा नयाँ प्रविधि प्रयोग गरिने अध्यक्ष गुरुङले बताए । केबलकार अन्तर्राष्ट्रिय मापदण्डअनुसारकै बनाउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ । अध्यक्ष गुरुङले जापानको निप्पोन केबलकारको प्रविधि र सामान अन्नपूर्ण केबलकारमा प्रयोग हुने जानकारी दिए ।

दुई हजार २ सय ७५ मिटर लम्बाइको केबलकारमा ८ जना सिट क्षमता रहेको १८ वटा डिब्बा (गोन्डोला) रहनेछन् । माथिल्लो स्टेसनमा भवनसहित बेलुन रेष्टुरेन्ट र भ्यु टावर निर्माण हुँदै छ भने तल्लो स्टेसनमा पार्किङ र गार्डेनसहितको संरचना बन्नेछ ।

फेवातालको किनार सेतीबगरबाट सराङकोटसम्म जोड्न आवश्यक पर्ने १३ वटा पोलमध्ये हालसम्म १० वटा पोल जडान भइसकेका छन् । तल्लो स्टेसन तथा माथिल्लो स्टेसनको समेत निर्माण लगभग सकिएको र अब फिनिसिङको काम बाँकी रहेको निर्देशक त्रिपाठीले बताए ।

केबलकारको लागत रकम भने बढ्ने देखिएको छ । एक अर्ब १० करोडको लागतमा सम्पन्न गर्ने लक्ष्य राखिएकोमा हाल लागत बढेर करिब एक अर्ब ३० करोड पुग्ने देखिएको कम्पनीले जनाएको छ । स्टेसन निर्माण गर्ने विषयमा पहिला स्टिल फेब्रिकेसन मोडलमा जाने लक्ष्य राखे पनि पछि आएर आरसिसि (कंक्रिट) मोडलमा निर्माण गरिएकाले लागत बढेको त्रिपाठीले बताए । कम्पनीले तल्लो स्टेसनमा १४ र माथिल्लो स्टेसन क्षेत्रमा करिब १२ रोपनी जग्गा लिएको छ ।

केबलकारमा यात्रा गर्दा हिमाल, ताल, हरियो वन जंगल तथा पोखराको मनोरम दृश्यावलोकन गर्न सकिनेछ । अन्नपूर्ण केबलकारले प्रतिघण्टा १ हजार ५ सय जनालाई सेवा दिन सक्नेछ । केबलकारमा युवा व्यवसायी कालु गुरुङसहितका नेपाली व्यवसायीको ७५ प्रतिशत, पूर्वजापानी नागरिक टाकासी मियाहाराको १५ प्रतिशत र स्थानीयको १० प्रतिशत लगानी छ । आयोजनामा राष्ट्रिय बाणिज्य बैंक र सनराइज बैंकले कर्जा प्रवाह गरेका छन् ।

प्रकाशित समय ०७:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु