गृहपृष्ठ जुटखेतीको ओरालो यात्रा : ६० हजारबाट ६ हजार हेक्टरमा सीमित
जुटखेतीको ओरालो यात्रा : ६० हजारबाट ६ हजार हेक्टरमा सीमित
निरन्तरको घाटाले कृषक पलायन, कयौं उद्योग बन्द
तराईका जिल्लामा बर्सेनि जुटखेती घट्दै गएको छ । जुट उत्पादनमा बर्सेनि घाटा व्यहोर्नु परेपछि अधिकांश कृषक पलायन भएका छन् । कुनै समय जुटखेतीका लागि उर्वर भनेर चिनिएका मोरङ, सुनसरी र झापा जिल्लामै अहिले जुटखेती गर्न छाडिएको छ ।
जुटले भाउ नपाउने, काम गर्ने मजदुरको अभाव हुने, खर्चिलो हुने र आम्दानी नहुने समस्या देखाउँदै कृषकले जुटको विकल्प खोज्न थालेका छन् । मोरङ, सुनसरी र झापामा कुनैबेला ६० हजार हेक्टरमा जुटखेती गरिन्थ्यो । तर, अहिले करिब ६ हजार हेक्टरमा मात्रै खेती गरिन्छ ।
लगानीअनुसार जुटले भाउ नपाउने, मजदुर अभावलगायतका कारणले खेती घटाउँदै लगेको कृषक बताउँछन् । मोरङको सुनवर्षी नगरपालिका ७ भेडुवाथानका कृषक पतरलाल सहनीले पहिले पहिले जुटखेतिबाट प्रशस्त आम्दानी हुने भए पनि यतिबेला लगानीसमेत नउठ्ने गरेको बताए । पटुवा (जुट) धुन धेरै मेहनत पर्ने भएकाले कामदारले बढी ज्याला लिने तर जुटको भाउ नभएकाले घाटा व्यहोर्नुपरेको दुखेसो गरे । ‘दिनको ५ सयदेखि ६ सय रुपैयाँसम्म काम गर्नेलाई दिनुपर्छ, त्यसमा खाना, खाजा अलग्गै हुन्छ,’ उनले भने, ‘एक कट्ठा जुटखेतीका लागि तीन जना कामदार लाग्छ, पटुवा ४० किलोजति उत्पादन हुन्छ । धेरै मेहनतले पटुवाखेती गरे पनि लगानीसमेत डुबिरहेको छ । अब यसबाट नपोसाउने भएकाले अरु खेती नै गर्ने विचारमा छु । हाम्रो समस्या कसैले बुझिदिँदैन । के गर्ने ?’
कृषक सहनी केही वर्षअघि सम्म ३ बिघा जग्गामा जुटखेती गर्थे । अहिले १३ कट्ठामा मात्र गर्छन् । ‘पहिले पनि नाफा त थिएन । सबै पैसा काँटावालले खाइदिन्छ । निरन्तरको घाटाले खेती घटाउँदै लगेको हुँ,’ उनले दुखेसो गरे ।
सोही नगरपालिका वडा नम्बर ७ का रमेश राजवंशीले जुटखेती नै छाडिसकेका छन् । घरायसी प्रयोजनका लागि मात्रै उनले २ कट्ठामा जुट लगाएको बताए । ‘केही त गर्नै प-यो । आफ्नो घर व्यवहारका लागि पनि थोरै गरेको छु । सन्टी र डोरीका लागि मात्र गरेको हुँ,’ उनले भने ।
सुनवर्षी नगरपालिका डायनियाका झपरु सुतिहार जुट धुलाइको काम गर्छन् । पानीमा कुहाइएको जुट धोएर निकाल्न कडा मेहनत लाग्ने भएकाले सोहीअनुसारको ज्याला लिने गरेको उनी बताउँछन् । ‘यस्तो चर्को घाम छ । हामी मिसिन त होइन, खानै प-यो, हातले पिट्नाले पिटेर जुट निकाल्न एकदमै मेहनत छ । त्यहीअनुसारको दाम लिएका हौँ,’ उनले भने ।
प्रदेश १ कृषि निर्देशनालयका अनुसार मोरङमा ५ हजार ३३८ हेक्टर, सुनसरीमा १ हजार ४०० हेक्टर र झापामा ५९० हेक्टर जग्गामा मात्र अहिले जुटखेती गरिएको छ । कार्यालयले मोरङ, सुनसरी र झापामा दुई दशकपछि कुल क्षेत्रफलको १० प्रतिशतमा जुटखेती सीमित भएको जनाएको छ ।
निर्देशनालयले जुटखेती हुलाकी राजमार्गको दक्षिण अथवा त्यसैको आसपासमा मात्र सीमित भएको र ६० हजार हेक्टरबाट ६ हजार हेक्टरमा झरेको जनाएको छ । मेसिनको प्रयोगले कुहाउने र धुने काम गर्न सकेको भए जुटखेती नघट्ने कृषक बताउँछन् । नेपालमा जुटको प्रयोग उच्च छ । तर, उत्पादन घट्दै जाँदा नेपालका जुट उद्योग भारतीय जुटमै निर्भर हुँदै गएका छन् ।
मोरङ, सुनसरी र झापामा २०४३/४४ सालबाट व्यावसायिक जुटखेती गरिएको सरकारी तथ्यांक छ । जुटखेतीबाट कृषक पलायन हुने क्रमसँगै तीन जिल्लामा रहेका करिब १ लाख पोखरी मासिएका छन् । जुट प्रशोधनका लागि पानीमा जुट कुहाएर राख्न ती पोखरी निर्माण गरिएका थिए ।
सुरुवाती वर्षहरुमा मोरङ, सुनसरी र झापामा उत्पादित जुट भारतका साथै बंगलादेशमा समेत निर्यात गरिन्थ्यो तर अहिले अवस्था ठीक उल्टो छ । अहिले विराटनगरका अधिकांश जुट मिलका लागि आवश्यक कच्चा जुट भारत र बंगलादेशबाट आर्यात गर्नुपर्छ ।
जुट उद्योग संघ मोरङका पूर्वअध्यक्ष चम्पालाल राठी अहिले स्वदेशी जुट उद्योग कमजोर अवस्थामा सञ्चालन भइरहेको बताउँछन् । ‘अहिले एकदम कमजोर अवस्था छ । कुनै ५० प्रतिशतमा छन्, कुनै ४० प्रतिशतमा छन्, घाटा खाएर त कसले पनि गर्न सक्दैन,’ उनी भन्छन्, ‘सरकारले दिनुपर्ने संरक्षण अहिलेसम्म दिइरहेको छैन । किन दिइरहेको छैन ? त्यो त सरकारले जानोस् । तर हामी आफ्नो स्रोतबाट धान्न सक्दैनौँ ।’ अहिले ६० प्रतिशतभन्दा बढी जुट भारतबाटै आयात गरिरहनुपरेको उनले बताए । ‘उत्पादित सामान पनि भारत नै पठाउनु छ । कच्चा जुटको बोर्ड गठन गरेर त्यसमा कृषकलाई सुविधा उपलब्ध गराउन माग गर्दा पनि केही सुनुवाइ भएको छैन,’ राठीले भने ।
मोरङमा रहेका ११ वटा जुट उद्योगमध्ये कच्चापदार्थ अभावमा आधा दर्जन बन्द छन् । अरु पनि संकटकै कारण बन्द हुने अवस्थामा छन् । अन्य जिल्लामा सञ्चालित उद्योग पनि संकटग्रस्त छन् ।
जुटसँग आश्रित उद्योग बन्द भएपछि धेरैको रोजगारी र लगानीमात्रै डुबेको छैन, अर्थतन्त्रमा पनि नकारात्मक प्रभाव परेको छ । वातावरणीय दृष्टिले पनि उत्तम मानिने कृषि उपज जुटलाई सरकारले प्रोत्साहन गर्न चासो नदिनुले व्यापार घाटा कम गर्ने योजना नारामा सीमित हुने देखिन्छ । जुट उत्पादन बढाउँदा कृषक र उद्योगीलाई मात्र फाइदा हुँदैन, रोजगारी तथा निर्यात व्यापारसमेत बढ्नेछ ।
प्रकाशित समय ०९:१५ बजे


















