गृहपृष्ठ कृषिमा आश्रित जनसंख्या ६३ प्रतिशत
कृषिमा आश्रित जनसंख्या ६३ प्रतिशत
नेपालको अर्थतन्त्रको मूल संरचनामा जति नै ठूलो परिवर्तन आइसकेको बताउने गरिए पनि अझैसम्म देशको ठूलो श्रमशक्ति कृषिमा नै आश्रित रहेको पाइएको छ । विश्व बैंकले भर्खरै सम्पन्न गरेको नेपालमा रोजगारी अवस्थाबारेको विश्लेलण (जब डाइग्नोसिस)ले ६३ प्रतिशत नेपालीहरू कृषिमा आश्रित रहेको देखाएको हो ।
बैंकका अनुसार अझै पनि नेपालको अर्थतन्त्र (कुल गार्हस्थ्य उत्पादन-जीडीपी)मा कृषिको योगदान एक तिहाइ छ ।‘हरेक १० जनामध्ये ६ जना श्रमिक कृषिमा संलग्न छन्, तर तिनले कुल उत्पादनको एक तिहाइ मात्र उत्पादन गरिरहेका छन्,’ बैंकको प्रतिवेदनमा भनिएको छ ।
नेपालको अर्थव्यवस्था परम्परागत प्रविधिमा प्रयोग गरिने र आफ्नै आन्तरिक उपभोगका लागि उत्पादन गर्ने सानो पारिवारिक खेतीमा आधारित अर्थव्यवस्था भएको बैंकले उल्लेख गरेको छ ।
कृषिको घरेलु उत्पादन र रोजगारीको हिस्सा घट्दै गइरहेको यो अध्ययनले देखाएको छ । बैंकद्वारा प्रकासित नेपालको रोजगारी डाइग्नोसिस प्रतिवेदनअनुसार सन् १९९८ मा कृषिमा आश्रित जनसंख्यामा ७६ प्रतिशत रहेकोमा सन् २००८ मा यो अनुपात ७४ प्रतिशतमा झरेको थियो भने २०१८ मा ६३ प्रतिशतमा झरेको हो ।
सन् १९९८ मा अर्थतन्त्रमा कृषिको हिस्सा ३८ प्रतिशत रहेकोमा सन् २०१८ मा ३२ प्रतिशतमा झरेको बैंकले जनाएको छ । केन्द्रिय तथ्यांक विभागका अनुसार चालू आर्थिक वर्षमा कृषिको हिस्सा २८ प्रतिशतमा झरेको छ ।
आधाभन्दा बढी श्रम शक्तिले आफ्नो खेतबारीबाट पर्याप्त उत्पादन नै गर्न नसकेको, जसका कारण उत्पादित कृषि उपज बचत भइ बजारमा बेच्नबाट उनीहरू असमर्थ भइरहेको अध्ययनको ठहर छ ।
अर्थतन्त्रमा सेवा क्षेत्रको हिस्सा यो एक दशकमा ४५ प्रतिशतबाट बढेर ५३ प्रतिशत पुगे पनि त्यस क्षेत्रले रोजगारी सिर्जनामा खासै ठूलो योगदान दिन नसकेको अध्ययनले देखाएको छ । सन् १९९८ मा सेवा क्षेत्रमा १४ प्रतिशत रोजगारी रहेकोमा सन् २०१८ मा यो हिस्सा २१ प्रतिशत पुगेको छ ।
अर्थतन्त्रमा औद्योगिक क्षेत्रका योगदान लगभग स्थिर रहँदा त्यस क्षेत्रले प्रदान गर्ने रोजगारीमा झिनो वृद्धि भएको अध्ययनले देखाएको छ । सन् १९९८ मा कृषिमा १० प्रतिशत रोजगारी रहेकोमा हाल १६ प्रतिशत पुगेको छ ।
लैंगिक रुपमा विगत एक दशकमा कृषिमा आश्रित पुरुषहरूको अनुपात ६७ प्रतिशतबाट घटेर ४६ प्रतिशतमा झर्दा महिलाहरूको अनुपात भने ८५ प्रतिशतबाट ७७ प्रतिशतमा मात्र झरेको अध्ययनले देखाएको छ । गैर-पारिश्रमिकमूलक कृषि श्रममा बढीमात्रामा महिलाहरू संलग्नता रहेको यो अध्ययनले देखाएको छ ।
प्रकाशित समय १२:२८ बजे

















