गृहपृष्ठ सुन्तलाको मौसम सुरु
सुन्तलाको मौसम सुरु
बुटवलमा हरियो सुन्तला नै बिक्छ दैनिक १० क्वीन्टल
मौसम सुरु भएसँगै रुपन्देही र आसपासका जिल्लाहरुमा सुन्तलाको कारोबार सुरु भएको छ । छिमेकी जिल्लाहरु पाल्पा, गुल्मी, स्याङ्जाबाट सुन्तला बिक्रीका लागि बुटवल ल्याइने क्रम थालिएको हो ।
चिसो मौसमी फलको रुपमा रहेको सुन्तला अहिले पूर्णरुपमा तयार भने भइसकेको छैन । पाकेका खानयोग्य सुन्तला भने व्यापारीले बिक्रीका लागि बजार पुर्याइसकेका छन् ।
काठमाडौंको कालिमाटि थोक बजारपछिको सबैभन्दा ठूलो थोक बजार केन्द्र बुटवलमा छ । बुटवल कृषि उपज थोक बजार केन्द्र सञ्चालक समितिका अध्यक्ष कलाधर पन्थीका अनुसार दैनिक ५ देखि १० क्वीन्टल सम्म सुन्तला बिक्री हुँदै आएको छ । पन्थी भन्छन्, ‘अझै सुन्तलाको माहोल सुरु भयो भन्ने छैन, तर पनि सुन्तलाको कारोबार दिन प्रतिदिन ५ देखि १० क्विन्टल बराबरको हुदैछ ।’
व्यवसायीले लक्ष्मी पूजाको दिन पछि मात्रै औपचारिक रुपमा सुन्तलाको कारोबार गर्ने सहमति गरेका छन् । पहिलो चरणमा नेपाली किसानले उत्पादन गरेका सुन्ताला बजारमा पुग्ने हुँदा बाहिरी सुन्तलाको कारोबार छैन ।
बुटवलको थोक बजार केन्द्रबाट पश्चिम नेपालका अधिकांश जिल्लाहरुमा फलफूल तथा तरकारीको कारोबार हुने गर्दछ । प्रतिकिलो थोक मूल्य ५० रुपैयाँ प्रतिकिलोमा सुन्तला बिक्री गर्दै आएको व्यवसायिहरुले बताएका छन् । गतवर्षको तुलनामा सुरुको बजार भाउ नै १० रुपैयाँले बढेको छ ।
कारोबार बढ्ने अपेक्षा
गत वर्ष बुटवल कृषि उपज थोक बजार केन्द्रबाट करिब २७ करोड रुपैयाँ बराबरको सुन्ताला कारोबार भएको थियो । यो वर्ष गुल्मी, पाल्पा र स्याङ्जामा सुन्तालको उत्पादन राम्रो छ । यद्यपि, स्याङ्जामा दसैंअघि परेको असिनाले केही क्षति पुर्याएको छ । थोक बजारबाट यस वर्ष ३५ करोड रुपैयाँ बराबरको कारोबार गर्ने व्यवसायीको लक्ष्य छ ।
खुद्रामा दोब्बर मूल्य
सुन्तलाको कारोबार बढेको मौका खुद्रा व्यपारीले उठाएका छन् । उनीहरुले दोब्बर बढी मूल्य लिएर सुन्तला बिक्री गरिरहेका छन् । थोक बजारमा प्रतिकिलो ५० रुपैयाँ कायम सुन्तला खुद्रामा १ सय रुपैयाँ प्रतिकिलो छ ।
प्रकाशित समय ०७:५५ बजे


















