गृहपृष्ठ कर्णालीको राजधानीमा असारे विकासको चटारो
कर्णालीको राजधानीमा असारे विकासको चटारो

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा धमाधम असारे विकासका कामहरु भईरहेका छन् । सडक निर्माणका कामदेखि नहर र बसपार्कको काम बजेट सक्नकै लागि आर्थिक वर्षको अन्तिम महिना अर्थात असार महिनामै भइरहेका छन् । खासगरी कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकामा सडकको मर्मत तथा टालटुलको कामले तीव्रता पाएको छ ।
नगरको क्याम्पस रोड, धमालाचौक, मन्त्रालयका रोड तथा अदालत जाने बाटोसमेत असारमै टालटुल पार्ने अभ्यास छ । सडक बोर्डको ६५ लाखको योजनामा र नगरको समन्वयमा विभिन्न ठाउँका सडक नगरले टालटुल पार्दै आएको छ । वीरेन्द्रनगर नगरपालिकाका ईन्जिनियर विशाल अधिकारी भन्छन्, ‘झन्झटिलो र लामो प्रक्रिया अपनाउँदा बजेट कार्यान्वयन गर्ने निकायसम्म आईपुग्दा असारमै काम गर्नुपर्ने बाध्यता हामीलाई छ । तर, हामीले असारमै काम गरेपनि राम्रै गरिरहेका छौँ ।’
कर्णाली प्रदेश सरकारले असारे विकास योजनाको अन्त्य गर्ने भने पनि स्थानीय तहमा धमाधम असारे विकास चलिरहेको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामीला तथा योजना मन्त्री प्रकाश वाला असारमा बजेट सक्ने प्रवृत्ति राम्रो नभएको बताउँछन् । ‘असारमै बजेट सक्ने प्रवृत्ति राम्रो होइन,’ उनले न्युज कारोबारसँग भने, ‘तर स्थानीय तहलाई हामीले निर्देशन गर्ने कुनै कानुनी अधिकार छैन । कर्णाली प्रदेश सरकारले गर्ने विकासे योजनाहरु असारमा भने गर्दैन ।’
प्रकाशित समय ०९:०९ बजे