गृहपृष्ठ नेपालमात्रै पाइने एक सिंगे गैंडा अब चीनतिर, के नेपालकाे पहिचानमा लाग्छ धक्का ?
नेपालमात्रै पाइने एक सिंगे गैंडा अब चीनतिर, के नेपालकाे पहिचानमा लाग्छ धक्का ?

नेपालमामात्र पाइने एक सिँगे गैंडा बुधबार चीन पठाइँदै छ । चितवन राष्ट्रिय निकुञ्जबाट काठमाडौं ल्याइएको एक जोडी (भाले–पोथी) गैंडा आज चीन पठाउन लागिएको हो ।
त्यसका लागि चीनबाट कार्गो विमान मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने अधिकारीहरुले बताएका छन् । दुईवटा खोरमा राखिएका गैंडा लिएर चिनियाँ विमान बुधबार नै ग्वान्जाओ उड्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खडकाले जानकारी दिए ।
प्रधानमन्त्री केपी ओलीले बिहीबार चीन सरकारलाई भाले ‘भद्र’ र पोथी ‘रूपसी’गैंडा हस्तान्तरण गर्ने कार्यक्रम छ । उक्त गैंडा मंगलबार नै चितवन, सौराहाबाट काठमाडौँ ल्याइएको छ । अघिल्लो पटक ओली प्रधानमन्त्री हुँदा २०७३ असार २६ मा चीनलाई दुई जोडी गैंडा उपहार दिने निर्णय भएको थियो । अर्को जोडी आगामी आर्थिक वर्ष २०७५÷७६ मा हस्तान्तरण गर्ने जनाइएको छ ।
नेपाली गैंडा चीन पुग्दा के हुन्छ ?
एक सिंगे गैंडा नेपालमा मात्रै पाइन्छ । आफ्नो देशमामात्रै पाइने भएकाले नेपालले यस जनावरबाट गर्व गर्छ । तर, अब छिमेकी मित्रराष्ट्र चीनमा पनि पुगेपछि नेपाली विशेषता के हुन्छ ? धेरैले प्रश्न गर्न थालेका छन् ।
भाले र पोथी नै जोडी मिलाएर पठाएपछि गर्भधान गरी अरु बच्चा जन्माए भने नेपालमा मात्रै पाइने गैँडाको ट्याग मेटिन सक्छ । साथै कृत्रिम प्रजनन्बाट अरु बच्चा जन्माए भने त्यसले पनि नेपाली पहिचानमा धक्का लाग्न सक्छ । यसअघि चीनले कृत्रिम प्रजननमार्फत बाघको संख्या ५ हजार पुर्याएको छ । यसैगरी गैँडाको संख्या बढाउने आशंका छ ।
तर, उपहारस्वरुप पाएको चीनले कृत्रिम गर्भाधान गराएर संख्या बढाउन नपाउने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक डा.विमल के निर्मलले न्युज कारोबारलाई बताए । नेपालस्थित वन तथा वातावरण मन्त्रालय र चीनको राज्य वन प्रशासनबीच भएको सम्झौतामा उपहारस्वरूप दिइएका गैंडाबाट कृत्रिम प्रजनन विधि अपनाएर संख्या बढाउन नपाउने भनिएको डा. निर्मलले बताए ।
प्रकाशित समय ०९:२३ बजे