गृहपृष्ठ राजपा विवाद मिल्यो, महन्थ ठाकुर संसदीय दलको नेता बन्ने पक्का
राजपा विवाद मिल्यो, महन्थ ठाकुर संसदीय दलको नेता बन्ने पक्का
महतोले दाबी छाडे, उपनेता दिने तयारी

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा संसदीय दलको नेता चयनको विषयमा चर्किएको विवाद मिलेको छ । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर नै संसदीय दलको नेता बन्ने पक्का भएको छ ।
तर, औपचारिक निर्णय शनिबार बस्ने अध्यक्ष मण्डलको बैठकले गर्नेछ । ‘आउँदो शनिबार संसदीय दलको नेता चयन गर्ने तय भएको छ,’ अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले न्युज कारोबारसँग भने, ‘शनिबारसम्म मिल्न बाँकी रहेका अन्य विषयमा समेत छलफल गरी टुङ्गोमा पुर्याउने कोसिस हुन्छ ।’
संसदीय दलको नेताका विषयमा कुरा मिले पनि उपनेता, प्रमुख सचेतक, सचेतकलगायतका पदमा कसलाई लैजाने भन्ने टुङ्गो लागिसकेको छैन । संसदीय दलको नेतामा आफ्नो दाबी प्रस्तुत गर्दै आएका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलाई उपनेता बनाउने तयारी गरिएको छ ।
महतोले ठाकुरलाई नेता छाडेपछि उपनेता वा अध्यक्ष मण्डलको नेतृत्वमा दाबी गरेका छन् । अध्यक्ष बन्ने विषय महाधिवेशनबाट हुने भएकाले उपनेताको विषयमा छलफल गरेर टुङ्ग्याउन लागिएको बताइएको छ । यी सबै निर्णय गर्न संसदीय दलको विधान पारित हुनुपर्छ । संसदीय दलको विधान पारित भएपछि मात्र सबै निर्णयले औपचारिकता पाउनेछ ।
राजनीतिक समितिमा छलफल गरी संसदीय दलको बैठकमा पठाइएको विधानमा सहमति जुट्न सकेन । संसदीय दलको बैठकले पनि विवादित विषय टुङ्ग्याउन नसकेपछि सहमति खोज्ने जिम्मा अध्यक्ष मण्डललाई दिइएको छ ।
अध्यक्ष मण्डलले बिहीबारसम्ममा उपनेता, प्रमुख सचेतक र सचेतकका विषयमा सहमति कायम गर्ने नेताहरुले दाबी गरेका छन् । विधान मस्यौदा एकीकृत गर्न गठित कार्यदलले महाधिवेशनपछि पार्टी एकल नेतृत्वमा जाने प्रस्ताव ल्याएको छ ।
राजपाले आगामी महाधिवेशन २०७६ वैशाख ७ देखि ९ गतेसम्म गर्ने निर्णय गरिसकेको छ । विधान एकीकृत कार्यदलले महाधिवेशनपछि एक अध्यक्ष, दुई सह–अध्यक्ष, तीन महासचिव, तीन सहअध्यक्ष, एक कोषाध्यक्ष र एक प्रवक्ता रहने प्रस्ताव गरेको छ ।
एकल अध्यक्षको व्यवस्था गरे पनि वरिष्ठ एवं प्रमुख नेताहरुलाई व्यवस्थित गर्न भन्दै १४ सदस्यीय कार्यकारिणी सल्लाहकारको व्यवस्थाको प्रस्ताव गरिएको छ । कार्यकारिणी सल्लाहकार समितिले अध्यक्षलाई सल्लाह दिनेछ । अध्यक्षले सल्लाहकारको सल्लाहको आधारमा काम गर्नुपर्ने प्रावधान राखिएको छ ।
प्रकाशित समय १३:३४ बजे