गृहपृष्ठ कैलालीमा २५ प्रतिशत विकास बजेट खर्च हुन बाँकी

कैलालीमा २५ प्रतिशत विकास बजेट खर्च हुन बाँकी

व्यवस्था फेरिए पनि काम गर्ने शैली नफेरिँदा विगतमा जस्तै ठूलो विकास बजेट फ्रिज

kailali-newskarobar

आर्थिक वर्ष सकिन पाँच दिन बाँकी रहँदा कैलालीमा ७५ प्रतिशतमात्रै विकास बजेट खर्च भएको छ । विकासे कार्यालयहरुले लक्ष्यअनुसारको प्रगति गर्न नसक्दा आर्थिक वर्ष सकिने बेलासम्म ७५ प्रतिशतमात्र विकास बजेट खर्च भएको हो ।

आर्थिक वर्षको अन्त्य हुनलाग्दा २५ प्रतिशत विकास बजेट खर्च हुन नसकेपछि ठूलो रकम फ्रिज हुने देखिएको छ । चालू आर्थिक वर्षमा कैलालीको कुल विकास बजेट ५ अर्ब ९९ करोड ३३ लाख रहेकोमा आर्थिक बर्ष सकिनै लाग्दा ४ अर्ब ३९ करोड ३२ लाखमात्रै खर्च भएको छ । अझै २७ प्रतिशत विकास बजेट खर्च हुन बाँकी छ भने चालूतर्फ ९५ प्रतिशत प्रगति भएको कोष तथा लेखा नियन्त्रण कार्यालय धनगढीका कोष नियन्त्रक मदनराज पाण्डेयले बताए ।

जिल्लाका ठूला विकासे कार्यालयले लक्ष्यअनुसार काम नगर्दा पुँजीगत खर्चको अवस्था सन्तोषजनक नदेखिएको हो । क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन एकाइको पुँजीगत खर्च सबैभन्दा न्यून छ । कुल २१ करोड ८० लाख विकास बजेटमध्ये क्षेत्रीय आयोजना कार्यान्वयन एकाइले १२ लाख रुपैयाँमात्र खर्च गरेको छ ।

जिल्ला समन्वय समिति र जिल्ला प्राविधिक कार्यालयले पनि कुल बजेटको ६५ प्रतिशतमात्रै खर्च गरेका छन् । आर्थिक वर्ष सकिने बेलासम्म विकासे कार्यालयहरुले ६० देखि ७० प्रतिशतको हाराहारीमा मात्र बजेट खर्च गरेको कोष नियन्त्रक पाण्डयेले जानकारी दिए ।

जिल्ला प्राविधिक कार्यालयको खर्च प्रगतिसमेत सन्तोषजनक छैन । जिल्ला प्राविधिक कार्यालयबाट पाँच योजना कार्यान्वयन भएकोमा सबैको ७० प्रतिशतको हाराहारीमा मात्र खर्च भएको छ । सामुदायिक सिँचाइ आयोजनाको १३ करोडमा १० करोड खर्च भएको छ ।

राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण आयोजनामा १० करोडभन्दा बढी रकम खर्च गर्नुपर्नेमा ७ करोड ५० लाख खर्च भएको छ । यस्तै, स्थानीय सडक पुल आयोजनाको ५ करोड ५० लाखमा ४ करोड २ लाखमात्र खर्च भएको जिल्ला प्राविधिक कार्यालयका प्रमुख मनिष अर्यालले जानकारी दिए ।

संघीयता कार्यान्वयनपछि विकास निर्माणका कामले तीव्रता पाउने र पुँजीगत बजेट खर्चको अवस्था पनि विगतको भन्दा सन्तोषजनक रहने अपेक्षा गरिएको थियो । तर, व्यवस्था फेरिए पनि काम गर्ने शैली नफेरिँदा विगतमा जस्तै ठूलो विकास बजेट फ्रिज हुने अवस्था आएको कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका प्रमुख कोष नियन्त्रक लक्ष्मीप्रसाद जोशीको भनाइ छ ।

प्रकाशित समय १७:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु