गृहपृष्ठ मौद्रिक नीति : बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रको ‘लाइक थम्ब’
मौद्रिक नीति : बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रको ‘लाइक थम्ब’

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिलाई निजी क्षेत्र तथा सरोकारवालाले सकारात्मक भनेका छन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले तरलता समस्या समाधानका लागि राष्ट्र बैंकले विशेष ध्यान दिएको बताए ।
आफूहरुले सीसीडी हटाउन माग गरे पनि राष्ट्र बैंकले सीसीडीलाई सहयोग गर्ने गरी डिबेन्चरलाई सीसीडीमा गणना गर्न पाउने व्यवस्था मिलाइदिएको उनको भनाइ छ । यस्तै सीआरआर, एसएलआर घटाउने नीतिको पनि उनले स्वागत गरे । ग्रामीण क्षेत्रका शाखाको सीआरआर गणना गर्नु नपर्ने व्यवस्था गर्नु, रिफाइनान्सको सीमा बढाएर ३५ अर्ब पुर्याउनु सकारात्मक पक्ष भएको अध्यक्ष ढुंगानाको भनाइ छ ।
फाइनान्स कम्पनीहरुको छाता संगठन नेपाल वित्त संघका अध्यक्ष सरोजकाजी तुलाधरले पनि मौद्रिक नीति सकारात्मक भएको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले ब्याजदरका विषयमा राष्ट्र बैंकले लिएका नीति स्वागतयोग्य भएको धारणा राखे । सीआरआर रेसियो केही कम गरिएको र यसले केही मात्रामा तरलता बजारमा आउने देखिएको उनले बताए ।
चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले व्यक्तिगत ओभर ड्रफ्टको सीमालाई ५० लाख गर्न नसक्नु दुखद पक्ष भएको बताए । बरु ७५ लाख वा एक करोड रुपैयाँसम्मको ओभर ड्राफ्ट सीमा गर्नुपर्ने आफूहरुले सुझाव दिए पनि त्यसलाई बेवास्ता गरिएको उनको भनाइ छ ।
बैंकर्स संघका पूर्वअध्यक्ष एवं नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले ग्रामीण क्षेत्रका शाखामा सीआरआर र एसएलआर नलगाउने सरकारी नीति बैंकिङ क्षेत्रका लागि स्वागतयोग्य भएको बताए ।
प्रकाशित समय २१:१६ बजे