गृहपृष्ठ राजनीतिमा उमेर हद : नेकपा हटाउँदै, कांग्रेस ब्युँत्याउँदै
राजनीतिमा उमेर हद : नेकपा हटाउँदै, कांग्रेस ब्युँत्याउँदै
युवा नेताहरुको दृढता– पुरातन शैलीका नेतृत्व हट्नैपर्छ

नेपाली राजनीतिमा उमेर हदको विषय बेला–बेला निकै चर्चामा आउने गर्छ । तर, नेतृत्वप्रतिको पाकाहरुको आशक्ति र नेतृत्व लिने युवाहरुको आकांक्षाबीच उमेर हदको विषय भने सधैं घानमा पर्ने गरेको छ ।
तत्कालीन एमालेको नवौं महाधिवेशनबाट पारित ७० वर्षे उमेर हद माओवादी केन्द्रसँग मिलेर नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ बनेपछि हटाइएको छ । नेपाली कांग्रेसले भने युवा नेताहरुको व्यवस्थापन र पुराना नेताको बल मिच्याइँ रोक्ने सूत्रका रुपमा यही प्रावधान ब्युँत्याउने तयारी गरिरहेको छ ।
तेह्रौं महाधिवेशनमा निकै बहस भएर पनि कांग्रेसले उमेर हदसम्बन्धी प्रावधान विधानमा राख्न सकेन । तर, ठूला–साना सबै दलका अधिकांश युवा नेता भने उमेर हद विधानमै राख्न एकमत छन्, आन्तरिक दबाब दिइरहेकै छन् ।
नेकपा पछि हट्यो
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ले ७० वर्षे उमेर हद हटाएको छ । एमालेले नवौं महाधिवेशनबाट ७० वर्षे उमेर हद लागू गरेको थियो ।
पार्टी विधानको उमेर हदसम्बन्धी व्यवस्थाकै कारण भरतमोहन अधिकारी केन्द्रीय सदस्य बन्न पाएनन् । सिद्धिलाल सिंहले पनि केन्द्रीय समितिबाट बिदा लिनुप¥यो । मोदनाथ प्रश्रितले स्वेच्छिक अवकाश लिएको घोषणा गरे ।
तर, अहिले उमेर हदका कारण धेरै नेताले राजनीतिबाट सन्यास नै लिनुपर्ने अवस्था आएपछि नेकपा सो व्यवस्थाबाट पछि हटेको छ । अहिले तत्कालीन एमाले र माओवादी केन्द्र दुबैतिरका नेतालाई खुसी पार्नुपर्नेछ । अधिकांश शीर्ष नेता ६५ वर्ष कटिसकेका छन् । यही बाध्यताले ‘नेकपा’को अन्तरिम विधानबमोजिमको नियमावलीबाट ७० वर्षे उमेर हदको प्रावधान हटाइएको हो ।
उमेर हद नराख्ने निर्णयले नेकपाका धेरै शीर्ष नेतालाई राहत मिलेको छ । नेकपाले एकता महाधिवेशन दुई वर्षभित्र गर्ने भनेको छ । तर, महाधिवेशन २०७८ सालसम्म पुग्यो भने अध्यक्ष केपी शर्मा ओली नै केन्द्रीय सदस्य बन्न पाउने छैनन् । २००८ सालमा जन्मेका ओली त्यसबेला ७० वर्ष पुग्नेछन् । २००७ सालमा जन्मेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल आगामी महाधिवेशनसम्म ७० वर्षनजिक पुग्नेछन् । २००५ सालमा जन्मिएका नेता वामदेव गौतम अहिले नै ७० वर्ष पुगिसकेका छन् ।
२०११ सालमा जन्मेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले ६४ वर्ष पुगेका छन् । नारायणकाजी श्रेष्ठ ५८ वर्ष, विष्णु पौडेल ५९ वर्ष, ईश्वर पोखरेल ६५ वर्ष र रामबहादुर थापा ६३ वर्षका छन् ।
७० वर्षे उमेर हद लागू भएमा अध्यक्ष ओलीसहित बामदेव गौतमलगायतका नेतालाई अप्ठ्यारो पर्ने थियो । दुई वर्षमा गर्ने भनिएको एकता महाधिवेशन केही ढिला भएमा नेता नेपाल, खनाललगायतलाई समेत अप्ठ्यारो पर्न सक्थ्यो ।
युवा नेताहरु रुष्ट
अन्तरिम विधानबमोजिमको नियमावलीबाट ७० वर्षे उमेर हदको प्रावधान हटाइएपछि ‘नेकपा’का युवा नेता भने रुष्ट भएका छन् । अन्तरिम नियमावलीबारे सुझाव संकलन गर्न बसेको स्थायी समिति बैठकमै योगेश भट्टराईसहितका युवा नेताले ७० वर्षे उमेर हदबारे प्रश्न गरे । भट्टराईले यसअघि पनि पाका नेतालाई राजनीतिबाट सन्यास लिन आग्रह गर्दै आएको विषयले राष्ट्रिय राजनीति तरंगित भएको थियो । तर, ६५ वर्ष उमेर कटिसकेका नेताहरुले युवा नेताका मागलाई महत्व दिएका छैनन् ।
कांग्रेसमा आन्तरिक दबाब
नेपाली कांग्रेसमा पनि नेतृत्व परिवर्तनसँगै उमेर हदको विषय जोडतोडले उठिरहेको छ । कांग्रेसमा पनि उमेर हदको कुरा यसपटक मात्रै चर्चामा आएको होइन । १३औं महाधिवेशनमा निकै चर्चा आएर पनि लागू हुन नसकेको विषय हो यो ।
कांग्रेसका युवा नेता गगन थापाले पटक–पटक यो विषय उठाइरहेका छन् । थापाले ५५ वर्षमै आफू क्रियाशील राजनीतिबाट अलग हुने प्रतिबद्धता जाहेर गर्दै अहिलेको नेतृत्वलाई विश्राम लिन दबाब दिइरहेका छन् । ‘तथापि यो प्रावधान राख्न सजिलो छैन,’ कांग्रेसका अर्का युवा नेता प्रदीप पौडेल भन्छन्, ‘उमेर हदको प्रावधान नराखी कांग्रेस माथि उठ्न सक्ने अवस्था पनि छैन ।’ ७० वर्षको उमेरमा धेरै मौका पाइसक्ने भएकाले त्यसभन्दा बढी राजनीतिमा क्रियाशील हुन नहुने उनले बताए ।
कांग्रेसमा युवा नेताहरुको व्यवस्थापन र पुराना नेताको बल मिच्याइँ रोक्न लागि समेत उमेर हद अनिवार्य भइसकेको कतिपयको बुझाइ छ । पार्टीका भ्रातृ संगठन नेविसंघ र तरुण दलले पनि औपचारिक रूपमै उमेरको हदबन्दी लागू हुनुपर्ने सुझाव राखेका छन् ।
मकवानपुरको हेटौंडामा सम्पन्न जिल्ला सभापतिहरुको भेलामा समेत यो विषय उठेको थियो । विधान संशोधनका लागि दिइएका सुझावमा उमेरको हदबन्दी ७० र ७५ वर्ष राखिनुपर्ने दुईथरी सुझाव आएको प्रवक्ता विश्वप्रकाश शर्माले न्युजकारोबारलाई जानकारी दिए । ‘विधान संशोधनका लागि जारी छलफलमा पार्टीमा उमेर हदबन्दी लागू हुनुपर्छ भन्ने सुझाव आएका छन्,’ उनले भने, ‘सबै सुझावको गम्भीर अध्ययन हुन्छ ।’
देउवा र पौडेलको बालहठ
कांग्रेस केन्द्रीय कार्यसमितिमा अहिले तीन पुस्ताको प्रतिनिधित्व छ । पहिलो पुस्ताको नेतृत्व सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेका छन् । सभापति देउवा ७२ र पौडेल ७४ वर्ष पुगेका छन् । दोस्रो पुस्तामा ६० देखि माथिका नेताहरु हावी छन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला ६९ वर्ष पुगेका छन् भने रामशरण महत र शेखर कोइराला ६८ वर्ष । अर्जुनरनसिंह केसी, प्रदीप गिरी, नारायण खड्का र मानबहादुर विश्वकर्मा ७० वर्ष पुगेका छन् ।
आउँदो १४औं महाधिवेशनमा अवसर नपाएमा प्रकाशमान सिंह १५औं महाधिवेशनमा पुग्दा ७० पुग्छन् । शेखर कोइराला ७५ वर्ष पुग्छन भने शशांक कोइराला ६८ वर्षका हुनेछन् । सिटौला र शेखर आउँदो महाधिवेशनमै ७१ वर्ष पुग्छन् ।
कतै देउवा र पौडेलको हठले ‘दोस्रो पुस्तालाई समेत पार्टीको नेतृत्व गर्ने सुविधा नमिल्ने त होइन ? भन्दै युवा नेताहरुले उमेर हदको विषयमा आन्तरिक दबाब बढाएका हुन् । उमेरमा ७० र केन्द्रीय कार्यसमितिमा २० वर्ष सदस्य भएको मापदण्ड लगाउँदा देउवा र पौडेलसहित दोस्रो पुस्ताका धेरै नेता बाहिरिनेछन् । तेस्रो पुस्ताका युवा नेता नेतृत्वमा आउने सम्भावना बढ्छ । यसकारण पनि यो विषय कांग्रेसमा बहसमा छ ।
निर्वाचनमा हार व्यहोरेपछि कांग्रेसमा नेतृत्व परिवर्तनको मुद्दाले बढी प्राथमिकता पाएको छ । त्यसबेलैदेखि सभापति देउवाले भने मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदको उदाहरण दिन सुरु गरेका थिए । महाथिर कसरी सत्तामा ‘कमब्याक’ भए भन्ने प्रसंगको अर्को बहस हुनसक्छ तर देउवा र वरिष्ठ नेता पौडेल महाथिरकै उमेरको हाराहारीमा नभए पनि नेपाली राजनीतिको नेतृत्व तहमा रहेका पाका नेता हुन् ।
७० नभएर ७५ वर्षकै प्रावधान राखिए पनि दुबै नेताले राजनीतिबाट सन्यास लिनुपर्ने हुन्छ । पार्टीको आन्तरिक शक्ति संघर्षका दुई कित्तामा रहेर नेतृत्व लिइरहेका देउवा र पौडेल अझै विश्राम लिने योजनामा भने देखिएका छैनन् । पुरातन शैलीका नेतृत्वसँग पार्टीलाई पुनर्जागरण गराउन सक्ने कुनै विचार र कार्यक्रम नभएकाले नेतृत्व छाड्नुपर्ने युवा नेताहरुको माग छ ।
‘उमेरमा ७० र क्रियाशीलताका आधारमा २० वर्ष केन्द्रीय सदस्य भएकाले विश्राम लिने प्रस्ताव पार्टीको विधानमा राख्दा राम्रो हुन्छ,’ मुख्य सचेतक बालकृष्ण खाण भन्छन्, ‘उमेरमा ७० नपुगे पनि २० वर्ष केन्द्रीय कार्यसमितिको सदस्य भएमा स्वतः अवकाश पाउने प्रावधान राख्नु उपयुक्त हुनसक्छ ।’
प्रकाशित समय २०:१७ बजे