गृहपृष्ठ भागबन्डा मिलाउनका लागि मन्त्रालय फुटाउँदै ओली

भागबन्डा मिलाउनका लागि मन्त्रालय फुटाउँदै ओली

पद्मा अर्याललार्इ 'फुलमन्त्री' बनाइने

KP SHARMA OLI-NEWSKAROBAR

मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउने बताउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले भागबन्डा मिलाउनकै लागि मन्त्रालय टुक्र्याउन थालेका छन् । यसअघि टुक्रिएका मन्त्रालयलाई जोडेका प्रधानमन्त्री ओलीले पाँच महिनाभित्रै जोडिएका मन्त्रालय फुटाउन थालेका हुन् ।

प्रधानमन्त्री ओली निकट स्रोतका अनुसार सत्तासाझेदार दललाई खुसी पार्नका लागि उनले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फुटाएर कृषि विकास र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गठन गर्ने तयारी गरेका छन् । कृषि मन्त्रालय फुटाउन प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डबीच सहमति भइसकेको बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याललाई पूर्ण रुपमा मन्त्रीको जिम्मेवारी दिन ओलीले यो कदम चाल्न लागेका हुन् । सत्तासाझेदार संघीय समाजवादी फोरम नेपालले पनि राज्यमन्त्री पद मागिरहेको छ । अर्याललाई फुलमन्त्री बनाएपछि मात्रै फोरमका लागि कोटा खाली हुनेछ । यसअघि फोरमबाट यादव स्वास्थ्यमन्त्री र मोहम्मद इस्तियाक राई सहरी विकासमन्त्री छन् । सरकारमा आउनुअघि सत्तारुढ नेकपा र फोरमबीच जम्मा तीन मन्त्री लिने–दिने सहमति भएको थियो ।

कृषि विकास, पशुपन्छी विकास, भूमिसुधार तथा व्यवस्था र सहकारी तथा गरिबी निवारण गरी चार मन्त्रालय गाभेर ओली सरकारले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय बनाएको थियो । तर, पुनः मन्त्रालय फुटाएपछि मन्त्रालयको संख्या २१ बाट २२ पुग्ने भएको छ ।

प्रकाशित समय ०८:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु