गृहपृष्ठ योगेश भट्टराईले केसीलाई भने– अनसन तोडेर आउनुस्, खुलामञ्चमा वार्ता गरौं
योगेश भट्टराईले केसीलाई भने– अनसन तोडेर आउनुस्, खुलामञ्चमा वार्ता गरौं
‘कांग्रेसले १८ वटा मेडिकल कलेज खोल्दा चुप लाग्ने, नेकपाका नेताले सम्बन्धन पाउने बेलामा अनसन बस्ने ?’

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य योगेश भट्टराईले डा. गोविन्द केसीको अनसन राजनीतिक पूर्वाग्रही देखिएको आरोप लगाएका छन् । राजधानीमा आयोजित कार्यक्रममा भट्टराईले डा. केसी नेकपाका नेताहरुले लगानी गरेको कलेजलाई सम्बन्धन नदिन अनसन बसेको आरोप लगाएका हुन् ।
‘फलानो मेडिकल कलेजलाई सम्बन्धन देऊ, ढिस्कानोलाई नदेऊ भन्ने अधिकार गोविन्द केसीलाई कसले दियो ?’ उनले भने, ‘देशभर नेपाली कांग्रेसका नेताहरुले १८ वटा मेडिकल कलेज खोल्दा चुप लागेर बस्ने, नेकपाका नेताहरुको कलेजले सम्बन्धन पाउने बेलामा अनसन बस्ने ? मनमोहनसँग के दुश्मनी छ ?’
अहिलेसम्म खुलिसकेका मेडिकल कलेजको पनि छानबिन गर्नुपर्ने भन्दै नेकपा नेता भट्टराईले एमालेका नेतालाई माफिया भनेकोमा आपत्ती जनाए । ‘मेडिकल कलेज सञ्चालन गर्ने नेपाली कांग्रेसका नेताचाहिँ राम्रा, अनि नेकपाका नेताले मेडिकल कलेज खोल्न खोज्दाचाहिँ माफिया ?’ उनले भने ।
नेता भट्टराईले केसीको जीवन रक्षा र जायज माग पूरा गर्न सरकार र आफ्नो पार्टी दुवै तयार रहेको स्पष्ट पारे । केसीको हठले समस्या समाधान हुन नसक्ने भन्दै भट्टराईले काठमाडौं आएर उपचार गरिसकेपछि वार्तामा बस्न आग्रह गरे । ‘तपाईं काठमाडौं आउनुस्, वार्ता गर्न सरकार तयार छ,’ नेता भट्टराईले भने, ‘अनसन बसिरहनु पर्दैन ।’
नागरिकलाई शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारीजस्ता अधिकार प्रदान गर्न सरकार प्रतिबद्ध रहेको जिकिर गर्दै भट्टराईले त्यसका लागि गोविन्द केसी कहिले काठमाडौं र कहिले जुम्ला पुगेर अनसन बस्नु नपर्ने बताए । ‘गोविन्द केसीसँग बन्द कोठाभित्र होइन, खुलामञ्चमा बसेर वार्ता गर्न तयार छौं,’ उनले भने, ‘सबै टेलिभिजन बोलाएर प्रत्यक्ष प्रसारण गर्दै वार्ता गरौँ । यसका लागि अनसन तोड्नुस, स्वस्थ हुनुस् ।’
हरेक पटकको अनसन मेडिकल शिक्षाको भर्ना खुल्ने समयमा बस्ने गरेको भन्दै नेता भट्टराईले केसीको अनसनको उद्देश्य नै शंकास्पद रहेको बताए ।
प्रकाशित समय १८:१० बजे