गृहपृष्ठ मौद्रिक नीति : सेयर बजारलाई हरियो झण्डा

मौद्रिक नीति : सेयर बजारलाई हरियो झण्डा

rabindra-newskarobar

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को थोत्रो वेबसाइटमा ‘मार्केट ओपन’ पिलपिल गर्न छाडेको थिएन । नेपाल राष्ट्र बैंकका गभर्नरले पाँचतारे होटलमा मौद्रिक नीति पढ्न सुरु गरि सकेका थिए । तर, गभर्नरले मौद्रिक नीति पढ्नुभन्दा अगाडि नै त्यसका महत्वपूर्ण अंश डेपुटी गभर्नरलगायत नेपाल राष्ट्र बैंकका कर्मचारीले पढी सकेको विभिन्न अनलाइनमार्फत थाहा पाउन सकिन्थ्यो ।

नेपालको सेयर बजारलाई धेरै नै प्रभावित पार्ने मौद्रिक नीतिको संवेदनशिलतालाई नेपाल राष्ट्र बैंकको नेतृत्वले यस पटक पनि लत्याइदियो । सेयर बजारलाई प्रभाव पार्ने महत्वपूर्ण सूचनाको गोपनीयताको पाठ बैंक तथा वित्तीय संस्थालाई सिकाउने नेपाल राष्ट्र बैंक आफैँले भने उक्त कुरालाई बेवास्ता गर्दै नेप्सेमा सेयर कारोबार नसकिँदै मौद्रिक नीति बाहिर ल्यायोे । यसका महत्तवपूर्ण विषय अगाडि नै पत्रपत्रिकामा छताछुल्ल पारियो ।

बजारको संवेदनशिलता र धेरै लगानीकर्तामा सूचनाको पहुँचका दृष्टिकोणले मौद्रिक नीति शुक्रबार वा नेप्सेमा सेयर कारोबार सकिएपछि सार्वजनिक गरिनु पर्ने हो । तर, त्यो यसपटक पनि हुन सकेन । यो नगर्नु वित्तीय बजारमा एक प्रकारको अपराधिक र दन्डनीय कार्य हो । यस्तो कार्य गर्ने नेपाल राष्ट्र बैंकलाई कसले कारबाही गर्ने ? के धितोपत्र बोर्ड यस विषयमा छलफल अगाडि बढाउन सक्छ ?

मौद्रिक नीतिको गोपनीयता र बजारको संवेदनशिलतालाई ख्याल नगरिए पनि सेयर बजारका दृष्टिकोणमा भने यो नीति सकारात्मक देखिन्छ । सेयर बजारलाई सबै भन्दा बढी बैंकको निक्षेप र ऋणको ब्याजले प्रभाव पारेको छ । निक्षेपमा बढेको ब्याजले लगानीयोग्य पैसा बैंकमा थुप्रिएको छ भने ऋणको महंगो व्याजका कारण ऋण लिएर सेयरमा लगानी गर्ने अवस्था छैन । यी दुबैका कारण बजारमा सेयरको माग बढ्न सकेको छैन ।

मौद्रिक नीतिमा बैंकले राख्नुपर्ने अनिवार्य नगद मौज्दात अनुपात (सिआरआर), निक्षेप र ऋणको व्याजदर अन्तर (स्प्रेड)को सिमा घटाएसँगै वित्तीय बजारमा तरलता बढ्न गई व्याजदर घट्न सक्ने सम्भावना बढेर गएको छ । यसले निक्षेप र ऋण दुबैको ब्याज घटाउन सहयोग पुर्याउने छ । जसको सकारात्मक प्रभाव सेयर बजारमा पर्ने छ ।

सेयर बजार र ब्याजदरको सम्बन्ध उल्टो हुने गर्छ । ब्याजदर बढ्दा सेयर बजार घट्ने र ब्याजदर घट्दा सेयर बजार बढ्ने हुन्छ । ब्याजदरमा यो नीतिको प्रभाव कति परेको छ भन्ने मूल्यांकन गर्न ट्रेजरी विल्सको ब्याजदरको मूल्यांकन गर्न सकिन्छ । यदि ट्रेजरी विल्स र अन्तर बैंक ब्याजदर घट्दै गएमा समग्र वित्तीय बजारमा ब्याजदर कम हुँदै जानेछ । तर, ब्याजदर एकैपटमा २–३ प्रतिशतले भने घट्ने छैन । बैंकहरुले सुरुमा निक्षेपको ब्याज घटाउने छन् भने ऋणको ब्याजदर विस्तारै घट्दै जानेछ । त्यसको सकारात्मक प्रभाव क्रमिकरुपमा सेयर बजारमा पनि देखिन्छ । जसको फाइदा लिनका लागि लगानीकर्ता तयार हुनुपर्ने देखिन्छ ।

सेयर बजारको पछिल्लो प्राविधिक तथा आधारभूत पक्ष र लगानीकर्ताको मनोविज्ञानबारे विश्लेषण गर्दा बजार न्यूनतमविन्दु तर्फ पुग्दै गएको संकेत पाउन सकिन्छ । जस्तो, लगानीकर्ताका रुवाबासी, मूल्यबढाइ देउ भन्दै नेताका घर धाउनु, न्यून कारोबार रकम, उद्यमीको गुनासा आदि बजार न्यूनतम विन्दुतर्फ धकेलिँदा देखिने गतिविधि हुन् ।

प्राविधिक रुपमा हेर्ने हो भने पनि बजारमा केहि सकारात्मक रेखाचित्र निर्माण भएको देख्न सकिन्छ । जस्तो, नेप्सेको पछिल्लो तीन महिनाको रेखाचित्र हेर्ने हो भने यसले डब्लु आकार बनाएको छ । डब्लु आकारले बजार बढ्ने संकेत गर्छ । ११६८ मा झरेको नेप्से पुनः बढेर १४३८ पुगेर ११७९ सम्म झरेर पुनः बढ्न सुरु गरेको छ । नेप्से पुनः ११६८ भन्दा तल नजानु र बढ्न सुरु गर्नुले प्राविधिक रुपमा सकारात्मक संकेत गर्छ । यसले लगानीकर्ताको मनोविज्ञान सकारात्मक देखाउँछ, जसलाई मौद्रिक नीतिका सकारात्मक व्यवस्थाले सहयोग पुर्याउने देखिन्छ ।

मौद्रिक नीतिको अर्को व्यवस्था मार्जिनकल गर्ने समयमा लचिलो हुनु हो । यसले अहिलेको बजारमा खासै फरक नपरे पनि मनोवैज्ञानिक हिसाबले भने सकारात्मक प्रभाव पार्ने छ । यसअघि सेयरको मूल्य दश प्रतिशतले घट्दा ऋणीलाई ऋण तिर्न फोन गर्ने बैंकले अब मूल्य २० प्रतिशत घटे पछिमात्र फोन गर्नेछन् । यसले मार्जिन कलका कारण अतालिएर सेयर विक्री गर्ने अवस्था केहि समय टर्ने छ ।

यस्तै प्राथमिक पुँजीको आधारमा बैंक तथा वित्तीय संस्थाले मार्जिन ऋण दि सक्ने अनुपात घटाइएको छ । यो देख्दा र सुन्दा नकारात्मक हो कि जस्तो लागे पनि यसले बजारलाई नकारात्मक प्रभाव पर्ने देखिँदैन । किनकि, यसअघि पनि बैक तथा वित्तीय संस्थाले मार्जिन ऋणबापत दिन सक्ने कुल ऋणको सिमा उपयोग नगरेको देखिन्छ भने अहिले प्राथमिक पुँजी बढेका कारण कुल ऋण दिन सक्ने रकममा कमि भने आउने छैन ।

मौद्रिक नीतिले गरेको अर्को सकारात्मक व्यवस्था सेयर बजारको विस्तार हो । बैंकलाई सेयर ब्रोकरको काम गर्न खुला गर्ने नीतिले बजार विस्तार मात्र नभइ सेयर कारोबार सेवालाई प्रतिस्पिर्धी र सुविधा उन्मुख बनाउने छ । यो व्यवस्थापछि बैंकका शाखा पुगेका जुनसुकै स्थान तथा विदेशबाटसमेत सेयरको कारोबार सजिलै गर्न सकिने छ ।
(भट्टराई सेयर बजार विश्लेषक हुन)

प्रकाशित समय १०:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु