गृहपृष्ठ साउन १ देखि अनलाइन सेयर कारोबार, यस्तो छ तयारी ?

साउन १ देखि अनलाइन सेयर कारोबार, यस्तो छ तयारी ?

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष प्रियराज रेग्मीको अन्तर्वार्तासहित

share_stock-newskarobar

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले साउन १ गतेदेखि अनलाइन सेयर कारोबार सुरु गर्दैछ । पूर्ण अनलाइनको परीक्षण कारोबारका लागि धितोपत्र ब्रोकर कार्यालयहरूले मंगलबारदेखि लगानीकर्तालाई युजरनेम र पासवर्ड प्रदान गर्दै छन् ।

युजरनेम र पासवर्ड पाए पनि लगानीकर्ता आफैंले अर्डर गर्न सक्ने छैनन् । सेयर खरिद-बिक्री प्रक्रिया अवलोकन गर्न भने सक्नेछन् । मंगलबारदेखि नै स्वचालित ढंगले सेयर खरिद-बिक्री भने नहुने स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष प्रियराज रेग्मीले बताए । ‘अनलाइन कारोबार आफैं गर्नका लागि लगानीकर्ताले केही समय पर्खनैपर्छ,’ उनले भने, ‘स्वचालित ढंगले किनबेच नभए पनि लगानीकर्ताले अाफैं खरिद-बिक्री प्रक्रिया थाहा पाउन सक्नेछन् ।’ लगानीकर्ताले पुरानै तरिकाले अर्डर दिनुपर्ने र सेयर खरिद-बिक्रीको अवस्थाबारे अनलाइनबाट लग इन गरेर हेर्न सक्ने उनले जानकारी दिए । अनलाइन सिस्टम पूर्ण रुपमा कार्यान्वयनमा नआएसम्म पुरानै सिस्टमबाट कारोबार हुन्छ ।

नेपाल धितोपत्र बोर्डले अनलाइन कारोबार सुरु भएसँगै नेपालको पुँजीबजार नयाँ युगमा प्रवेश गर्ने बताएको छ । सेयर बजार र सेयर बजार कारोबारलाई अहिलेको अवस्थासम्म ल्याइपुर्याउन निकै मेहनत गरेका धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले धितोपत्र बजार लगानीकर्ताका लागि सहजमात्र नभएको बताए । ‘सेयर बजार सहजमात्र भएको छैन, धितोपत्र कारोबारको बजार विस्तार पनि व्यापक भइसकेको छ,’ उनले भने, ‘पुँजीबजारमा हामी नयाँ युगमा प्रवेश गरिसकेका छौं ।’

 

अनलाइन कारोबार सुरु गर्नका लागि ब्रोकर कार्यालयहरुको तयारी कस्तो छ त ! यसै विषयमा केन्द्रित रहेका हामीले स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष प्रियराज रेग्मीसँग कुराकानी गरेका छौं :

priyaraj regmi.newskarobar

१. साउन १ देखि अनलाइन कारोबार सुरु हुँदै छ, कस्तो छ तयारी ?
हामीले समय अभावका कारण डेटा सेन्टर आफैंले बनाउने या सबै ब्रोकर कार्यालयको डेटा सेन्टर एकै ठाउँमा बनाउने काम गर्न सकेनौं । त्यसैले नेपाल स्टक एक्सचेन्ज (नेप्से) तोकेको मापदण्डअनुसार डाटा सेन्टरसँग पूर्वाधार भाडामा लिएर अनलाइन कारोबार परीक्षण गर्दै छौं ।

२. अनलाइन कारोबार कसरी हुन्छ ?
साउन १ गतेदेखि पूर्ण अनलाइन कारोबारको परीक्षण सुरु हुन्छ । लगानीकर्ताले मंगलबारदेखि नै अनलाइनबाट आफैं किनबेच गर्न सक्ने होइन । अहिले पुरानो सिस्टमले नै कारोबार गर्छ । परीक्षण अवधिमा पुरानो सिस्टमले नयाँ सिस्टमलाई कारोबारसम्बन्धी अर्डर पठाइदिन्छ । तिनै अर्डर नयाँ सिस्टममा परीक्षण हुन्छ । जुन दिनदेखि नयाँ सिस्टमले पूर्णरुपमा काम गर्छ, त्यस दिनदेखि लगानीकर्ताले आफैं सेयर खरिद–बिक्री गर्न सक्नेछन् ।

३. अनलाइन कारोबारका लागि लगानीकर्ता कत्तिको तयार छन् जस्तो लाग्छ ?
अनलाइन कारोबारका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, धितोपत्र ब्रोकर कम्पनी र लगानीकर्ता सबै एकदमै उत्सुक छन् । आजको युगमा विश्वले प्रयोगमा ल्याइसकेको सेयर किनबेचमा अनलाइन कारोबार प्रणालीको प्रयोगका लागि हामी सबै आतुर छौं ।

४. अनलाइन करोबारबारे लगानीकर्तालाई सुसूचित पनि त गराउनुपर्ला ? के गर्दै हुनुहुन्छ ?
अवेयरनेस भन्छु म, यो धेरै आवश्यक छ । धितोपत्र बोर्ड, नेप्से र ब्रोकर कम्पनीहरु समेतको सहभागितामा देशका विभिन्न सहरमा लगानीकर्ता सचेतना कार्यक्रम भइरहेका पनि छन् । अझ धेरै गर्न बाँकी छ । प्रविधि भएरमात्र हुँदैन, प्रविधिको प्रयोगका लागि सरोकारवालासमक्ष पुग्न जरुरी छ भन्नेमा दुईमत छैन ।

५. अनलाइन कारोबार सञ्चालनमा आइसकेपछि लगानीकर्ताले के–के लाभ पाउँछन् ?
अनलाइन कारोबारसँगै पुँजीबजारको पहुँच विस्तार व्यापक हुन्छ । काठमाडौंको पनि पुतलीसडकमा सीमित सेयर बजार देशका कुना–कुना जहाँ इन्टरनेट सुविधा छ, त्यहाँ पुग्छ र विदेशसम्म फैलिन्छ । विश्वभर रहेका नेपालीले नेपाली कम्पनीका सेयर खरिद गर्न सक्छन् । पुँजीबजारको दायरा व्यापक बढेर जान्छ ।

६. ब्रोकर कमिसन पनि घट्ला नि !
कमिसनको कुरा धेरैले नबुझेजस्तो लाग्छ । अहिले नेपालको सेयर कारोबारको भोल्युम निकै सानो छ, दक्षिण एसियामा भुटानभन्दा अगाडि मात्र छ नेपाल । बजार विस्तार व्यापक भयो, कारोबारको भोल्युम बढ्यो र ब्रोकर कम्पनीहरुले धान्न सक्ने स्थिति भयो भने नियामक निकायले अध्ययन गरी ब्रोकर कमिसनका विषयमा जहिले पनि निर्णय लिन सक्छ ।

प्रकाशित समय १४:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु