गृहपृष्ठ बजेटका लक्ष्य पूरा हुन्छन्, शंका नगर्नाेस् : अर्थमन्त्री
बजेटका लक्ष्य पूरा हुन्छन्, शंका नगर्नाेस् : अर्थमन्त्री
काठमाडौं- सरकारले संघीय संसद्को दुवै सदनमा प्रस्तुत भएको आर्थिक वर्ष २०७५/७६ को बजेटका लक्ष्य तथा कार्यक्रम कार्यान्वयन हुने दाबी गरेको छ । अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. युवराज खतिवडाले कृषि तथा सेवा क्षेत्रमा हुने विस्तार एवं वृद्धिले आगामी आवका लागि लिइएको आठ प्रतिशतको आर्थिक वृद्धिदरसहितका अन्य लक्ष्य पूरा हुने दाबी गरे । ‘कृषि क्षेत्रको औसत वृद्धिदर ४.५ प्रतिशत हो, १२ प्रतिशतको औद्योगिक क्षेत्रको वृद्धि हामीले अपेक्षा गरेका छौँ । मेलम्ची र तामाकोशी आयोजना आगामी आवमा सम्पन्न हुने भएकाले त्यसको सकारात्मक असर पर्नेछ,’ उनले भने
सिमेन्ट उद्योग र खानी क्षेत्रमा पनि उद्योग स्थापना भई सञ्चालनमा आउने विश्वास व्यक्त गर्दै उनले औद्योगिक क्षेत्रको वृद्धिदरमा शंका नगर्न आग्रह गरे । त्यस्तै, सेवा क्षेत्रमा १२ प्रतिशतले विस्तार हुने र बजेटको लक्ष्य पूरा हुने दाबी पनि अर्थमन्त्री डा. खतिवडाले गरे । औद्योगिक र सेवा क्षेत्रमा आएको विस्तार तथा सरकारले अगाडि बढाएका रोजगारीसम्बन्धी कार्यक्रमले आगामी आर्थिक वर्षमा थप पाँच लाख व्यक्तिले रोजगार पाउने उनको भनाइ छ । कृषिक्षेत्रमा उत्पादनमा वृद्धि भई मूल्यमा स्थिरता आउने भएकाले बजेटले राखेको ६.५ प्रतिशतको मुद्रास्फीतिलाई नियन्त्रणमै राख्न सकिने विश्वास पनि अर्थमन्त्री डा. खतिवडाले व्यक्त गरे ।
सरकारले नियमन गर्ने कार्यमा कडाइ गर्ने प्रस्ट पार्दै अर्थमन्त्री खतिवडाले भने, ‘राज्यको मार्ग दर्शनभन्दा बाहिर कोही पनि जान पाउँदैन । राज्यले व्यवसाय गर्ने अवसर सबैलाई दिन्छ तर उनीहरुले पालना गर्नुपर्ने दायित्व पूरा गराइन्छ । राज्यले जनताका पक्षमा गर्न खोजेका कुरालाई अनादर गर्ने छुट कसैलाई हुँदैन ।”
वित्तीय संघीयता कार्यान्वयनका लागि सरकारले पहिलो पटक बजेट ल्याएकाले तथ्याँकको तुलना गर्न कठिनाइ भए पनि सरकारले नागरिकलाई रोजगारी उपलब्ध गराएर स्वाभिमानी बनाउने गरी बजेट आएको अर्थमन्त्री डा खतिवडाले बताए । रोजगारीसहित जनताको स्वास्थ्य, शिक्षा र वित्तीय पहुँचलाई बजेटले ध्यान दिएको दाबी गर्दै अर्थमन्त्रीले आर्थिक–सामाजिक रुपान्तरणमा बजेटको विशेष जोड रहेको स्पष्ट पारे ।
पाँच वर्षमा कृषि उत्पादनलाई दोब्बर गर्ने र निर्माण सामग्रीमा आत्मनिर्भर बनाउँदै लगिने उल्लेख गर्दै अर्थमन्त्री डा. खतिवडाले अन्तर्राष्ट्रिय सीमानाकाका सडक विस्तार, सुरुङ मार्गको प्रविधि र रेल्वेको विकासमा बजेटले जोड दिएको बताए । ‘निर्यात प्रवर्धन गर्ने उद्योगलाई रातो कार्पेट बिछ्याएर स्वागत गरिनेछ,’ उनले भने, ‘निजी क्षेत्र र अन्तर्राष्ट्रिय लगानीका लागि उपयुक्त वातावरण बनाउँछौँ । त्यसका लागि आवश्यक पर्ने नीतिगत व्यवस्था गर्नेछौँ ।’
लगानीकर्तालाई ठूला आयोजनामा लगानी गर्न आह्वान गरेको जानकारी गराउँदै उनले प्रतिस्पर्धात्मक तवरले ठूला आयोजनालाई अगाडि बढाइने बताए । (रासस)
प्रकाशित समय १८:३८ बजे

















