गृहपृष्ठ सेयर बजार चाउचाउ उत्पादन गर्ने कारखाना होइन
सेयर बजार चाउचाउ उत्पादन गर्ने कारखाना होइन
बजार घटेका बेला सेयर लगानी गर्ने हिम्मत राख्नुपर्छ
यतिबेला नेपालको सेयरबजार शिथिल बनेको छ । बैंकको बढ्दो ब्याजदरका कारण पुराना लगानीकर्ताको क्रयशक्ति घटेको छ भने पुँजीवृद्धिको अनुपातमा नाफा बढ्न नसक्दा कम्पनीहरूको प्रतिफल खस्केको छ । नियामक निकायले पनि अल्पकाल र दीर्घकालका लागि स्पष्ट नीति बनाउन नसक्दा लगानीकर्ता बजारप्रति विश्वस्त हुन सकिरहेका छैनन् । किन यस्तो भइरहेको छ ? बजारप्रति नियामक निकायले कस्तो नीति लिनुपर्छ ? यी र यस्तै विषयमा आधारित रहेर सेयर बजार विश्लेषक रवीन्द्र भट्टराईसँग न्युजकारोबारकर्मी डीआर आचार्यले गरेको कुराकानी :
सेयर बजार लामो समयदेखि माथि जान सकेको छैन, कारण के होला ?
सेयर बजारमा देखिएको बियरिस प्रवृत्तिका प्रमुख कारण दुईवटा छन् । पहिलो कारण बैंकको बढ्दो ब्याजदर हो । ऋण र निक्षेप दुवैको ब्याजको प्रत्यक्ष असर सेयर बजारमा परेको छ । ऋणको ब्याजदरका कारण लगानीकर्ताले थप ऋण लिएर लगानी गर्न सकेका छैनन् । जसका कारण उनीहरुको क्रयशक्ति घटेको छ । अर्कोतर्फ निक्षेपमा बढेको ब्याजका कारण पैसा भएकाहरु ब्याज खानमै अल्मलिइरहेका छन् भने सेयर हुनेहरु पनि बेचेर बैंकमा पैसा राख्ने गर्छन् । यसले पनि बजारमा सेयरको माग बढाउन सकेको छैन । आपूर्ति बढाइरहेको छ । बजार घट्नुको दोस्रो कारण कम्पनीले दिने प्रतिफल हो । पुँजी वृद्धिको अनुपातमा नाफा बढ्न नसक्नु र सेयरको संख्या बढ्नुले तुलनात्मक रुपमा लगानीकर्ताले पाउने लाभांश अघिल्लो वर्षभन्दा घट्नेछ । जसका कारण स्वतः मूल्य घट्ने भयो । पुँजी चार गुणाले बढ्दा सेयर मूल्यमा पनि सोहीअनुसारको उल्टो असर पर्न जान्छ । जसको असर लगानीकर्ताको मानसिकतामा पर्न गई निराशा उत्पन्न हुने हुन्छ । र, बजारमा सकारात्मक स्थिति देखिँदैन । बजारमा सुधार आउन ब्याजदर नै घट्नुपर्छ ।
घटेका बेला सेयर किन्नुपर्छ भनिन्छ, सेयर किन्ने समय हो यो ?
घटेको बेला किन्ने बढेको बेला बेच्ने भन्ने सिद्धान्त हो तर लगानीकर्ता मानसिक रुपमा तयार हुनुपर्यो । सेयर किन्ने जहिले पनि सही समय हुन्छ तर त्यसका लागि कम्पनी छनौट र लगानी उद्देश्य स्पष्ट हुनुपर्छ । समग्रमा, किन्ने बेला हुने र नहुने भन्ने कुराले समग्र सिजनको कुरा गरे जस्तोमात्र हुन्छ । आफूले चाहेको कम्पनीको चाहेअनुसारको मूल्य आएमा जहिले पनि किन्न सकिन्छ ।
सेयर बजारमा नयाँ लगानीकर्ता कसरी र कहिले प्रवेश गर्न उपयुक्त हुन्छ ?
सेयर बजारमा नयाँ लगानीकर्ता प्रवेश गर्ने भनेको बजार घटेर तल आएको बेला नै हो । यस्तो बेला कम रकममा अलिक बढी चाहेको कम्पनीको सेयर किन्न सकिन्छ भने बजार तीव्ररुपमा तल जाने सम्भावना पनि कम हुन्छ । यसको अर्थ जोखिम कम हुन्छ भन्ने खोजेको हो । तर, यस्तो बेला लगानी गर्न उनीहरुमा हिम्मत हुनुपर्छ । तर, नयाँ लगानीकर्ताले त्यो हिम्मत राख्न सक्दैनन् अनि जहिले पनि बजार माथि पुगेपछि अब चाहिँ नकिनी भएन, अस्ति किनेको भए यति फाइदा हुन्थ्यो भनेर घट्ने बेला भएपछि बजारमा छिर्छन् । 
सेयर किन्नुअघि लगानीकर्ताले जान्नुपर्ने कुरा के–के हुन् ?
सेयर किन्नुअघि लगानीकर्ताले आफैंलाइ पहिला बुझ्ने हो । म किन लगानी गर्दै छु ? कति लगानी गर्दै छु ? कस्तो कम्पनीमा कति समयका लागि लगानी गर्दै छु ? र त्यसले मेरो लगानी उद्देश्य पूरा हुन्छ कि हुँदैन भन्ने हो । अर्को, लगानी गरिसकेपछि घाटा भएमा त्यो घाटा कसरी पूर्ति गर्छु भन्ने जोखिम व्यवस्थापनको हतियार पनि तयार गरेको हुनुपर्छ । यति कुरा बुझ्न सकियो भने राम्रो हुन्छ । अर्को कुरा लगानी शिक्षा अनिवार्य नै हुने गर्छ ।
केही नीतिगत कुरा गरौं । बोनस र हकप्रदमा अग्रिम करले ठूलै विवाद ल्यायो । यो विवादित विषय नै हो कि विवाद निम्त्याइएको थियो ?
यो विषयको मूल कारण नेप्सेको व्यवस्थापन हो । जसले कर गणनाको वैज्ञानिक तरिका सम्बन्धित निकायलाई बुझाउन सकेन र बजारलाई गन्जागोल बनाइदियो । अहिलेको बेस प्राइस गणना गर्ने र त्यसको आधारमा नाफा नोक्सान निर्धारण गर्ने भन्ने नै अवैज्ञानिक, सरकारको कर संकलनलाई कमजोर बनाउने र संस्थापकलाई फाइदा गराउने नीति छ । यसको वैज्ञानिक गणना भनेको औसत लागत आधार (एभरेज कस्ट बेस) तयार पार्ने हो । दोस्रो बजारमा सेयर किन्नेका लागि किनेको मूल्य, हकप्रदको अंकित मूल्य, बोनसको मूल्यलाई जोडेर प्रतिसेयर लागत निकाल्ने हो, जसभन्दा माथि बिक्री गरे कर लिने हो । त्योभन्दा कम मूल्यमा बेचे नोक्सान हुन्छ, करको कुरै भएन । यसो गर्दा संस्थापक सेयर र प्राथमिक बजारमा मात्र सेयर किन्नेको औसत लागत हकप्रद र बोनस पाएपछि पनि अंकित मूल्य वा सय रुपैयाँमात्र हुन्छ । र, उनीहरुले यो मूल्यभन्दा बढी जतिमा बेचे पनि नाफा हुन्छ । यो कहिले किनेको भन्ने प्रश्नै उठ्दैन । तर, नेप्सेको गलत लागत गणनाले संस्थापक सेयरको पनि आधार मूल्य बढाएर माथि पुर्याइदिँदा सरकारले पाउनुपर्ने करोडौं कर गुमिरहेको छ । मलाई लाग्छ, सुझाव समितिले यो कुरा बुझ्ला । सीडीएसको सफ्टवेयरमा परिवर्तन गरी लगानीकर्ताको कुल लागत, बिक्री मूल्य र नाफा–नोक्सान गणना हुनसक्ने व्यवस्था गरियो भने अहिले देखिएको कर गणनाको विवाद समाधान हुन्छ । र, सोही विवरणका आधारमा लगानीकर्ताको अन्तिम कर निर्धारण हुन जान्छ । हकप्रद, बोनस, आईपीओ, दोस्रो बजारको सेयर, एफपीओको अलग–अलग नाफा–नोक्सान निर्धारण गर्ने विधिको अन्त्य गरिनुपर्छ । अर्थ मन्त्रालयले यसका बारेमा नयाँ निर्देशन देला ।
सेयर बजारप्रति सरकारी दृष्टिकोण कस्तो हुनुपर्छ ?
पुँजीबजारलाई बढीभन्दा बढी उपयोग गरेर पुँजीको परिचालन गरी विकास निर्माण कसरी गर्न सकिन्छ भन्नेतर्फ सरकारको सोच हुनु आवश्यक छ । बजारलाई नियमन गर्ने, कानुन बनाउने, अनियमितता हुन नदिने र विश्वासनीय बनाउने हो । यसलाई नकारात्मक रुपले हेर्ने होइन । सरकारले विकास पनि गर्नु छ, अनि विकासका लागि आवश्यक पुँजी जुटाउने माध्यमप्रति नै नकारात्मक सोच राखेर कसरी विकास गर्न सकिन्छ ? गाउँमा बसेर ४ हजार ५ हजार रुपैयाँ सेयरमा लगानी गर्नेको पैसा कसरी सुरक्षित गर्न सकिन्छ भर्ने सोचबाट काम गरियो भने सेयर बजार भरोसायोग्य र विश्वसनीय बन्न जान्छ । जलविद्युत्को विकासमा सर्वसाधारणको लगानी बढेको छ । यसमा थप नियमन गरी पुँजीबजारको माध्यमबाट थप आयोजनाका लागि कसरी पुँजी जुटाउने भन्ने सोच्ने हो ।
सेयर बजारको विकास र विस्तारका लागि धितोपत्र बोर्डले तत्काल र दीर्घकालमा के–के गर्नुपर्छ ?
बजार विकासका लागि धितोपत्र बोर्डको अहिलेको नेतृत्वले प्रशंसा गर्न लायक काम गरेको छ । विशेषगरी, प्राथमिक बजारमा गरेको सुधार बोर्डको मेहनतको प्रतिफल हो । जसमा अझै कति कमजोरी होलान्, सँच्चिदै जालान् । जस्तो कि लगानीकर्ताको बैंक खातामा नगद लाभांश जम्मा गरिदिने कुरामा केही समस्या छ । बोर्डले सुनिरहेको होला । त्यस्तै विदेशमा भएका नेपालीले विदेशबाटै सेयर भर्न पाउने विश्वसनीय आधार बन्नुपर्छ, जसले रेमिट्यान्सलाई सहयोग पुर्याउँछ । पुँजी जुटाउन पनि सजिलो हुन्छ । जस्तो कि रेमिट्यान्स कम्पनीमार्फत विदेशमै डिम्याट र बैंक खाता खोलेर अनलाइन सेयर आवेदन दिन पाउने व्यवस्था गरियो भने राम्रो हुन्छ । यसको प्रयोग दक्षिण कोरियाबाट गर्न सकिन्छ । यसले ठूला आयोजना निर्माण गर्न सहयोग पुर्याउँछ । अन्य काम बोर्डले लगानीका विकल्प बढाउने कानुन छिटो बनाउन सक्नुपर्छ । जति छिटो कानुन बन्न सक्यो त्यति बजार फराकिलो बन्दै जान्छ । सेयर बजारमा कानुनभन्दा अगाडि लगानी विकल्प आउन सक्दैन ।

नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र केन्द्रीय निक्षेप प्रणाली (सीडीएस) माथि पटक–पटक प्रश्न उठाइरहनुभएको छ । यी निकायसँग क्षमता नै छैन कि सक्ने काम पनि नगरेका हुन् ?
संस्थाको क्षमताको कुरा हैन, व्यक्तिको क्षमता र प्रवृत्तिको कुरा हो । अहिले बोर्डका अध्यक्ष नेप्सेमा हुँदा जुन परिवर्तन गरे बोर्डमा गएपछि पनि त्यही किसिमको मेहनत गरिरहेका छन् । तर, त्यही नेप्सेमा अहिले भएको जीएम दिनभर घाम तापेर तलब पकाएर बसेका छन् । संस्थासँग क्षमता हुन्छ तर सही नेतृत्वको आवश्यकता पर्छ । पार्टीको झन्डा र पैसाको झोला बोक्ने मानिसको प्रवेश भयो भने संस्थाको क्षमता कमजोर बन्ने हो । सीडीएसमा अहिलेको नेतृत्वमा काम गर्ने क्षमता भएको देखिन्छ तर यो नेतृत्व आफैं गर्नेभन्दा पनि राम्रो मार्गनिर्देशन आवश्यक पर्ने नेतृत्व जस्तो लाग्छ, जसलाई अर्थ मन्त्रालयले उपयोग गर्न सक्यो भने सेयर बजारलाई प्राविधिक रुपमा बलियो बनाउन सक्छ र पारदर्शी पनि बन्न सक्छ । साथै, पुँजीगत लाभकर छलीलाई शून्यमा झार्न सक्छ जस्तो लाग्छ ।
धेरै बहस र चर्चामा आइरहने विषय– सेयर बजार उत्पादक कि अनुत्पादक ?
सेयर बजारलाई उत्पादक कि अनुत्पादक भनेर बहस गर्नु समय बर्बाद गर्नुबाहेक केही होइन । सरकारमा क्षमता र बुद्धि भए यो क्षेत्रमा के गर्न सकियो भने ५० हजार मानिसका लागि रोजगारी सिर्जना गर्न सकिन्छ भनेर सोच्ने हो । कसरी यसको प्रयोगबाट वस्तु तथा सेवाको उत्पादन बढाएर रोजगारी दिने भन्ने हो । विकास गर्ने भन्ने हो । कोही नियामकले सेयर बजारमा चाउचाउ उत्पादन गर्ने कारखाना जस्तो वस्तु उत्पादन भएको देख्न चाहन्छ भने त्यो नियामक नै होइन । त्यस्ता व्यक्ति नियामक निकायमा रहन योग्य पनि हुँदैनन् ।
प्रकाशित समय १३:३७ बजे

















