गृहपृष्ठ कांग्रेसले भन्यो, ‘ओलीलाई लोकतन्त्रले पोलेजस्तो छ’
कांग्रेसले भन्यो, ‘ओलीलाई लोकतन्त्रले पोलेजस्तो छ’

नेपाली कांग्रेस नेतृत्वको अघिल्लो सरकारले गरेको राजनीतिक नियुक्ती बदर गरेर वर्तमान सरकारले असंवैधानिक कदम चालेको भन्दै नेपाली कांंग्रेसले आपत्ती जनाएको छ । कांग्रेस नेता एवं त्यतिबेलाका वाणिज्यमन्त्री मीन विश्वकर्माले वर्तमान सरकार निरंकुश र सर्वसत्तावादको चिन्तनबाट ग्रसित देखिएको प्रतिक्रिया गरे ।
अघिल्लो सरकारको निर्णय बदर गर्नुको औचित्य पुष्टि गर्न पनि उनले चुनौती दिए । ‘कुन आधारमा अघिल्लो सरकारका निर्णय बदर गरियो?’ विश्वकर्माले प्रश्न गरे । उनले प्रधानमन्त्री ओलीलाई लोकतन्त्रले पोलेको टिप्प्णी पनि गरे ।
बुधबार राति मन्त्रीपरिषद बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिलसिलामा निर्वाचन आचारसंहिता लागू भएको मिति २०७४ भदौ १४ गते यता नेपाल सरकारका विभिन्न मन्त्रालयअन्तर्गतका प्राधिकरण, संस्थान, परिषद, बोर्ड, समिति, कम्पनी ऐनको अन्य संगठित संस्था आदि संस्थामा मन्त्रिपरिषद तथा मन्त्रीस्तरबाट भएका सबै किसिमका राजनीति नियुक्ति एवम् मनोनयन खारेज गर्ने निर्णय गरेको हो ।
नेता विश्वकर्माले तात्कालीन सरकारले निर्वाचन आचारसंहिता लागू भएपनि निर्वाचन आयोगको अनुमति लिएर नै नियुक्ति तथा मनोनयन गरेको भन्दै उक्त निर्णयहरुलाई असंवैधानिक भन्नु कुतर्क भएको टिप्पणी गरे । ‘त्यसबेला निर्वाचनलाई असर पर्ने कुनै निर्णय भएको थिएन, जनताका दैनिक जनजिविकाका विषयलाई सहज बनाउन केही नियुक्तिहरु भएका थिए,’ उनले न्युजकारोबारसँग भने, ‘त्यो निर्णय पनि निर्वाचन आयोगको निर्णय लिएरै गरिएको हो । यो हामीलाई मान्य हुँदैन ।’ राजनीतिक पूर्वाग्रह राखेर गरेको सरकारले निर्णय गरेको भन्दै उनले संसदमा यसबारे कांग्रेसले जोडदार कुरा उठाउने पनि बताए ।
प्रकाशित समय ०८:३७ बजे