गृहपृष्ठ डाक्टरहरूकाे अान्दाेलनकाे चाैतर्फी विराेध
डाक्टरहरूकाे अान्दाेलनकाे चाैतर्फी विराेध
विरामी भन्छन् : ‘अनसनको आबरणमा हामीलाई लुटे’

एक निजी क्लिनकमा श्रीमतीको स्वास्थ्य परीक्षण गर्दा ग्यास्ट्रिकले अल्सर भएको र छिट्टै उपचार गर्नुपर्ने सुझाव पाएको भोलिपल्टै रसुवाका हरिबहादुर खत्री काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगे । छिटो अस्पताल पुर्याउँन भन्दै उनले बिरामी श्रीमतीलाई शुक्रबार विहानै काठमाडौ ल्याईपुर्याएका थिए ।
पैसा खर्च गरेर ट्याक्सीमा विरामी श्रीमतीलाई महाराजगञ्जस्थित शिक्षण अस्पताल त पुर्याए तर आकस्मिक बाहेक अन्य सेवा ठप्प पारेका चिकित्सकहरुले उपचार गर्न मानेनन् । अनेक विन्ती भाउ गर्दा समेत बहिरंग विभाग अर्थात ओपीडीमा भर्ना लिन नमानेको हरिबहादुरले न्युज कारोबारलाई बताए ।
‘त्रिशुलीमा जचाउँदा डाक्टरले अल्सर छ भने, छिटो उपचार नगरे ज्यान नै जान सक्छ भनीएको छ, बिहानै ७ बजे आइपुगेको तर अहिलेसम्म भर्ना लिएको छैन,’ दुखी हुदै उनले भने ‘विरामीलाई ट्याक्सीमा ल्याउन र अरु गरी १०–१२ हजार खर्च भईसकेको छ, ईमरजेन्सीमा महंगो छ । अरु नीजी अस्पतालमा जाउँ भने झनै महँगो छ पैसा पुग्दैन ।’
छोराको हात भाँचिएर सामान्य उपचारपछि थप उपचारको लागि धादिङबाट शुक्रबारै काठमाडौं आएकी मनमाया तमाङको पीडा पनि उस्तै छ । नौविसेको एक निजी अस्पतालमा एक्स–रे गर्दा हातको हड्डी भाँचिएको देखाएपछि शल्यक्रिया र प्लाष्टर गर्नुपर्ने देखिएको छ । तर शिक्षण अस्पताल पुग्दा त्यहाको प्रशासनले हड्ताल भन्दै फर्काइएपछि उनको छोराको बिजोग भएको छ । मनमायाले दुखेसो पोखिन् ‘बालख छोरा च्यापेर म कहाँ जाउँ, आईमाई केटाकेटीको पीर मर्का समेत कसैले सुनेन, डाक्टरको हड्ताल छ, शल्यक्रिया हुँदैन, घर जाउ भनेर फर्काईदिए ।’ शुक्रबारै साझसम्म उपचार सकेर घर फर्कने गरी आउने बताउदै उनले त्यो नभए आफ्नो बिजोग हुने समेत बताईन् । मनमायाले भनिन्, ‘अब यहाबाट कहाँ कैले उपचार गर्न जानु, कहाँ बस्नु, के खानु, सारै अबर पर्याे ।’
जुम्लामा अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको लागि भन्दै त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल काठमाडौंका आवासीय डाक्टरले गरेको अन्दोलनबाट यस्ता सयौं विरामीले उपचार पाउनबाट बञ्चित भएका छन् । अत्यावस्यकीय मानिएको मौलिक हक अन्तगर्तको स्वास्थ्य सेवा बन्द हुँदा हजारौं बिरामी प्रभावित भएका छन् । आवासीय डाक्टरको संस्था रेजिडेण्ट डक्टर्स एसोसिएसनको आह्वानमा आकस्मिक बाहेकका सेवा बन्दै गर्दै हड्तालमा उत्रिँदा कयैं विरामी उपचार नपाई फर्कनु परेको छ । कतिपय विरामी महंगो शुल्क तिर्दै निजी अस्पताल जान बाध्य भएका छन् । तर स्वास्थ्य सेवा सुधारको माग गर्दै डाक्टर केसी अनशनमा बसेको १४ औं दिन भइसक्दा पनि उनकोे माग सम्बोधन गर्न सरकारले कुनै चासो नदिएकाले बाध्य भएर सेवा बन्द गरेको आन्दोलनरत चिकित्सकहरुको तर्क छ । तर विरामी तथा उनिहरुका आफन्तले भने चिकित्सकको आन्दोलनको विरोध गरेका छन् ।
केसीको समर्थन आन्दोलनको विरोध
डाक्टर गोविन्द केसीले अनसनको बसेको खबर आफुहरुले सुनेको तर अस्पतालनै बन्द भने गर्न नहुने विरामीको भनाई छ । अस्पताल परिसरमा उपचार सेवा नपाएका विरामीहरु भन्छन् ‘गोविन्द केसीले हामै्र लागि लडिरहनु भएको छ तर अरु डाक्टरहरु भने विरोधका धेरै विकल्प हुँदाहुँदै हामीलाई मर्नु र बाँच्नुको अवस्थामा छोडेर अपराध गरिरहेका छन् ।’
चिकित्सकको आन्दोलनले उपचारसेवाबाट बञ्चित भएका कतिपय विरामी तथा आफन्तहरुले डा. केसीको अनसनलाई अरु चिकित्सकहरुले गलत रुपमा प्रयोग गरेको समेत आरोप लगाएका छन् । केसीको अनसनको आवरणमा अरु डाक्टरले सरकारी अस्पताल बन्द गराउँदै निजी क्लिनिकमा लगेर आफुहरुबाट महंगो पैसा असुल्न खाजेको विरामीको गुनासो छ । शिक्षण अस्पताल परिसरमा उपचार नपाएर फर्कदै गरेका केही विरामी तथा आफन्तहरुले भने ‘केसीको मागलाई देखाएर अरु डाक्टरहरुले सेवा बन्द गर्दै निजी अस्पतालमा जान भनेका छन्, के डाक्टरहरुले त्यसो गर्न पाउँछन् ?’
संसारमा विभिन्न मुलुकमा चलिरहेका युद्धदेखि विश्व युद्धमा समेत विरामीको उपचार गर्न छोडेर अस्पतालहरु बन्द नभएको भन्दै अहिले नेपालको चिकित्सकको आन्दोलनको विरोध भईरहेको छ । सरोकारवालाहरु प्रश्न गर्छन ‘पहिलो र दोस्रो विश्वयुद्ध भयो, त्यसबेला अस्पतालहरु बन्द गरिएनन्, नेपालमै पनि एक दश लामो सशत्र द्वन्द्व भयो, ०६२–६३ को जनआन्दोलन भयो, कुनै पनि अस्पताल बन्द गरिएन, तर अहिले भने किन बन्द गरियो ?’
उपचारलगायत अत्यावश्यक क्षेत्रमा सेवा नै बन्द हुनेगरि हड्ताल गर्न नपाइने सर्वोच्च अदालतको आदेशको समेत उल्लंघन भएको विरोधकर्ताको भनाई छ ।
प्रकाशित समय १७:५७ बजे